बैंकका सीईओ, उच्च नेता, व्यापारी र प्रशासक नै उच्च निगरानीमा

बैंकका सीईओ, उच्च नेता, व्यापारी र प्रशासक नै उच्च निगरानीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

सम्पत्ति शुद्धीकरण गरी वित्तीय अपराध गर्नेहरूमा केही बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओे), राजनीतिक दलका नेता, प्रशासक तथा राजस्व छली गर्ने उच्च तहका व्यापारीहरूको अत्यधिक संलग्नता रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी आउने क्रम बढेको छ । विभागमा परेका विभिन्न उजुरी र विभागले गरेको अनुसन्धानका क्रममा गैरकानुनी रूपमा आर्जित कालो धनलाई शुद्धीकरण गर्ने कार्यमा केही बैंकका सीईओे, सञ्चालक, उच्च कर्मचारी अग्रपंक्तिमा रहेको पाइएपछि उनीहरू उच्च निगरानीमा परेका छन् ।

विभाग स्रोतका अनुसार उच्च घरानियाँ समूहका व्यापारी, विगतमा पटकपटक मन्त्री भइसकेका नेता तथा उच्च तहका प्रशासकसमेत सम्पत्ति शुद्धीकरण गरी वित्तीय अपराधको पारो बढाउने खेलमा संलग्न रहेको आशंकामा उनीहरूलाई पनि निगरानीमा राखिएको छ ।

यस्तै रियल स्टेटमा लगानी गर्नेहरू समेत सम्पत्ति शुद्धीकरणको पारो बढाउनेमा अगाडि देखिएका छन् । राजस्व छली गर्ने व्यापारी पनि वित्तीय अपराध बढाउन बढी जिम्मेवार देखिएको विभाग स्रोतले जानकारी दिएको छ ।

राजस्व अनुसन्धान विभागले व्यापारीले विगत २२ महिनामा मात्रै १३ अर्ब रुपैयाँभन्दा बढीको राजस्व छली गरेको निष्कर्ष निकाल्दै वित्तीय अपराधमा संलग्न भएको आरोपमा सयौंलाई मुद्दा दायर गरिसकेको छ ।

गैरकानुनी रूपमा आर्जित सम्पत्तिलाई शुद्धीकरण गराइसकेपछि वित्तीय अपराधमा संलग्नले सम्पत्तिको स्रोत र सोको उत्पति लुकाउने, दबाउने, छिपाउने र स्रोत बदल्नेजस्ता चलाखीपूर्ण कार्य गर्ने गरेकाले कारबाही प्रक्रियालाई टुंगोमा पु¥याउन कठिन हुने गरेको विभागका अधिकारीहरूको भनाइ छ ।

विभागले गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउनेविरुद्ध कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग समेत समन्वय गरिएको जनाएको छ । विभागका महानिर्देशक रूपनारायण भट्टराईले उजुरीका बारेमा निष्पक्ष छानबिन भइरहेको बताए । ‘धेरै गम्भीर विषयमा छानबिन भइरहेको छ, छानबिनको विषयबारे केही भन्न मिल्दैन तर वित्तीय अपराध बढाउनेहरूलाई कानुनी दायरामा ल्याएरै छाड्ने छौं,’ भट्टराईले भने ।
राजधानीबाट

Logo