काठमाडौं । अब ठूला बन्दरगाहमा पानीजहाजमा मालसामान ओसार्ने कन्टेनरमा नेपाली झण्डा फहराइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्रमा नेपाली झण्डासहितका पानी जहाज चलाउने बताउँदै आएका बेला मालसामान ओसार्ने कन्टेनरमा भने नेपाली झण्डा फहराउने भएका हुन् ।
त्यसको लागि प्रभु ग्रूप अन्तर्गतको नेपाली सिपिङ लाइन्सले पहिलोपटक विश्वका ठूला समुद्री बन्दरगाहमा आफ्नो सेवा सुरु गरेको छ । अब नेपाली झण्डा अंकित कन्टेनरमा नेपालसम्म सामान ढुवानी हुने भएको छ । नेपालसँग कारोबार हुने ठूला एशियाली बन्दरगाहहरुमा नेपाल सिपिङ लाइन्सले सेवा सुरु गर्न लागेको कम्पनीका अध्यक्ष देवीप्रकाश भट्टचनले जानकारी दिए ।
पहिलो चरणमा झण्डै २ हजार कन्टेनर खरिद गरी यो सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ । ती कन्टेनरमा नेपाली सिपिङ लाइन्स र नेपालको राष्ट्रिय झण्डा अंकित हुनेछ । योसँगै अब नेपाली व्यबसायीहरुले नेपालकै कम्पनीसँग सिपिङ सेवा लिन पाउनेछन् ।
जसले गर्दा नेपाली ब्यबसायीहरुले कन्टेनर भाडामा लिएर नेपालसम्म सामान ढुवानी गर्दा डलरमा भुक्तानी गर्नुपर्ने बाध्यता हट्नेछ । साथै नेपाली व्यबसायीहरुले सामानको एलसी खोलेकै बेलामा कन्टेनर सेवाको समेत रकम पठाउनुपर्ने बाध्यता हटेको छ ।
यसले गर्दा नेपाल र नेपाली व्यबसायीलाई आर्थिक लाभ हुनुका साथै समुद्री ढुवानी सेवाका लागि बिदेशी कम्पनीको भर पर्नुपर्ने बाध्यता हट्ने भएको छ । नेपाली झण्डाअंकित पानीजहाज चलाउने प्रधानमन्त्री योजना सुनेपछि आफुले यो बिजनेसमा चासो दिएको अध्यक्ष भट्टचनले बताए ।
नेपाल सिपिङ लाइन्स २०७५ भदौमा दर्ता गरेको हो । यसले विभिन्न देशमा आफ्नो एजेन्ट नियुक्त गरेको छ । ती एजेन्टबाट सामान बुकिङ गरेर नेपालमा सिपिङ लाइन्सले कारोवार सुरु गरेको हो ।
नेपालले तत्कालै पानीजहाज किन्नसक्ने अवस्था नभए पनि पानीजहाजको सेवा चलाउन सकिने अध्ययनबाट थाहा पाएपछि यो व्यवसायमा आकषिर्त भएको उनले बताए ।





























प्रतिक्रिया