काठमाडौं,
आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि मुलुकमा रेमिट्यान्स आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको छ । स्वदेशमा भनेजस्तो काम नपाएपछि बाध्यतावश वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर विदेशी भूमिमा पसिना बगाएर नेपाली कामदारले पठाएको रेमिट्यान्सले नै धानेको मुलुकको अर्थतन्त्रमा उनीहरूले ७ खर्ब ९९ अर्ब २ करोडको योगदान गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको ११ महिनामा मुलुकको वर्तमान आर्थिक स्थितिले यस्तो देखिएको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा व्यक्त गर्दा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो । यसरी मुलुकमा भित्रिएको रेमिट्यान्सलाई सही तरिकाले उत्पादनमूलक क्षेत्रमा लगाउन नसक्दा मुलुकमा आयातको तथ्यांक झन् भयावह बन्दै गएको छ ।
संस्थागत तथा व्यक्तिगत रूपमा वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जानेको संख्या भने यस अवधिमा ३७.३ प्रतिशतले घटेको छ । जसमा नयाँ श्रम स्वीकृति लिएर जाने र पुनः श्रम स्वीकृति लिएर जाने कामदार मात्र रहेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो ।
राजधानीबाट





























प्रतिक्रिया