काठमाडौं,
आज असार पन्ध्र, धान रोपाईंको पर्व । यस दिन धान रोपाईं गरी दही र चिउरा खाने चलन छ । झरीबादलको समेत पर्वाह नगरी रुझ्दैभिझ्दै काम गरेका किसानले शरीरलाई शीतलता र शक्ति दिन खेतमै दहीचिउरा खाने गर्दछन् ।
असारे गीत गाउँदै धानखेतको दवदवे हिलोमा धान रोपेर आपसमा हिलो खेली रमाउनु रोपाईं पर्वको आकर्षण हो । यसो गर्नाले माटोप्रतिको माया जाग्छ, बाली सप्रिन्छ र खेती किसानी उत्तम कर्म हो भन्ने देखिन्छ । यसले आपसमा प्रेम र सामाजिक सद्भाव पनि बढाउँछ ।
नेपाली समाजमा असारलाई मानो रोपेर मुरी उब्जाउने महिना मानिन्छ । पछिल्ला दिनमा रोपाइँलाई महोत्सवको रुपमा मनाई पर्यटन प्रवद्र्धनको उत्पादन पनि बनाइएको छ ।
शहरमा चिटिक्क परेर हिड्नेहरु पनि पन्ध्र असारमा हिलो खेल्न खेतमा पुग्छन् । उनीहरु संकोच हटाई खेतमा किसानसँग मिलेर धान रोप्छन्, हिलो खेल्छन् । यस दिन आफन्तजन पनि धान रोप्न खेतमा भेला हुने चलन छ । विश्वको सबैभन्दा उच्चस्थानमा धान खेती गरिने नेपालको जुम्लामा जुम्लीमार्सी धान रोप्ने रोपाईंलाई साँस्कृतिक पर्व नै मानिन्छ ।
सरकारले केही वर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइँदै आएको छ । धान नेपाली जनताको प्रमुख खाद्यान्न हो । नेपालमा सयौं प्रजातिका धान पाइन्छन् । यिनको संरक्षण गर्ने र धानखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा रोपाइँ गरी धान दिवस मनाउन थालिएको हो ।
असार पन्धलाई कृषि सभ्यता र महत्व बुझ्ने, बुझाउने पर्वको रुपमा लिईको छ । युवापुस्ता वैदेशिक रोजगारीमा जाँदा देशको खेतबारी बाँझै रहेको र खाद्यान्न आयातमा वृद्धि भएको वर्तमान अवस्थामा यस पर्वको सन्दर्भ अझ बढेको पाइन्छ ।
यता विगत वर्षहरुमा असार १५ सम्म धेरै खेतहरुमा रोपाईं सकिएको हुन्थ्यो तर यसपटक किसानहरुमा कुनै रौनकता छैन । कम वर्षा भएका कारण कतै धानको विउ नै राख्न पाइएको छैन भने रोपिएका केहि खेतहरु पनि पानी नभएर धाँजा फाटेका छन् । आकाशे पानीको भर पर्नु पर्ने किसानका लागि रासायनिक मल पनि नपाउने समस्या उस्तै छ । यसर्थ खल्लो रुपमा असार १५ मनाउँदै छन् उनीहरु ।





























प्रतिक्रिया