अछाम । अछाममा भवनको जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ । साँफेबगर नगरपालिक-२ जाल्पादेवी श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा १९ तोला ८९ लाल सुन र १ सय ३२ तोला ७३ लाल चाँदी भेटिएको हो । चार कोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदुरले सुन र चाँदी भेटेका हुन् ।
फेला पारेको सुनचाँदी इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको छ। फेला परेको सुन र चाँदीको भागबण्डाका विषयमा मजदुरहरुबीच विवाद भएपछि कुरा बाहिरिएको थियो । सो ठाउँबाट पुराना भगवानका मूर्ति समेत फेला परेका छन् ।
पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदीहरु भेटिएको प्रहरीले जनाएको छ । फेला परेको सुन चाँदी व्यवसायीसँग जाँच गरेपछि इलाका प्रहरी कार्यालयमा राखिएको हो । प्रहरीका अनुसार मजदुरले फेला पारेको केही सुन बेचेर खाएको आशंकामा ६ जनालाई हिरासतमा राखेर सोधपुछ भईरहेको छ ।
विस १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ । बिस १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयको भनाई छ । पछि गएर उक्त स्थानलाई स्थानीयले श्रीकोट भन्न थालेका हुन् ।





























प्रतिक्रिया