पर्याप्त विजुली भएरपनि ललितपुरमा लोडसेडिङ गर्नुपर्ने बाध्यता

पर्याप्त विजुली भएरपनि ललितपुरमा लोडसेडिङ गर्नुपर्ने बाध्यता

केन्द्रबिन्दु
0
Shares

ललितपुर । पर्याप्त विजुली भएरपनि ललितपुरमा लोडसेडिङ गर्नुपर्ने बाध्यता आउने नेपाल विद्युत प्राधिकरणले चेतावनी दिएको छ । काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन बन्न नदिएको भन्दै प्राधिकरणले ललितपुरमा लोडसेडिङ गर्नुपर्ने बाध्यता रहेको जनाएको हो ।

विद्युतको माग बढिरहेको तर हाल विद्युत आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नुपर्ने बाध्यात्मक अवस्था आउन लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले जानकारी दिए ।

२०५५/०५६ बाट सुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजनाको ललितपुर खण्ड स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन। ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेका छन्। काठमाडौं र भक्तपुरतर्फको निर्माण भने सकिएको छ। समस्या समाधानका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल भएको छैन।

स्थानीयद्वारा निर्माणमा अवरोध भई ललितपुरमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बुधबार आयोजनास्थलको निरीक्षण गरेका छन्। घिसिङले स्थानीयले मुख्यरुपमा अवरोध गरेको खोकना, बुंमती, चापागाउँ र हरिसिद्धी क्षेत्रमा प्रसारण लाइन निर्माण अवस्थाको जानकारी लिएका थिए।

उनले ललितपुर महानगरपालिका-२१, खोकनामा ढालिएको २७ नम्बर टावरको पनि निरीक्षण गरेका थिए। स्थानीयले नटबोल्ट खोलिदिएकाले खडा गरिएको टावर केही दिन अघि ढलेको थियो। ‘मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहेको छ। तर, थानकोट–चापागाउँ–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत भएर पनि ललितपुरमा दिन सकिँदैन’, घिसिङले भने, ‘स्थानीयले प्रसारण लाइन बनाउन दिंदैनन्, खडा गरिएका टावर ढालिदिन्छन्, अनि कसरी काठमाडौं उपत्यकामा विद्युत आपूर्ति गर्ने ? प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउँदैछ।’

Logo