नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत सिमेन्ट कम्पनीहरुमध्ये शिवम सिमेन्ट नाफा कमाउनेको अग्र स्थानमा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको नाफा २५ करोड २ लाख २२ हजार रुपैयाँ रहेको छ । उक्त नाफा नेप्सेमा सूचीकृत सर्वोत्तम, सोनापुर र घोराही सिमेन्ट कम्पनीभन्दा निकै राम्रो हो ।
शिवम, सर्वोत्तम, सोनापुर, घोराही सिमेन्टले प्रिमियममा आइपीओ निष्कासन गरेका थिए । पछिल्लाेसमय विविध कारणले कम्पनीहरुको ब्यवसाय निरन्तर खुम्चिदै गएको छ । तर, सूचीकृत चार सिमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दा शिवमको वित्तीय अवस्था अन्य कम्पनी भन्दा लोभलाग्दो देखिएकाे हाे ।
शिवम प्रतिशेयर आम्दानीमा पनि अग्रस्थानमा छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ । यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १४.२५ प्रतिशतले बढी हो ।
यति मात्र होइन, बिक्री लागतमा पनि शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको ६ अर्ब ६७ करोड २५ लाख रुपैयाँ बिक्री लागत रहेको छ । जुन अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ रहेको थियो । यस्तै, शिवमको संचालन आम्दानी ७ अर्ब ७० करोड ७४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा शिवमको जगेडा कोष सञ्चिति ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको छ । यो पनि अन्यको तुलनामा धेरै हो ।
नाफामा दोस्रो नम्बरमा सर्वोत्तम सिमेन्ट रहेको छ । सर्वोत्तमको नाफा १७ करोड ४२ लाख ८६ हजार रुपैयाँ रहेको छ । तर, दुई सिमेन्ट कम्पनी सोनापुर र घोराही को नाफा भने ऋणात्मक अवस्थामा रहेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको सोनापुर गत आर्थिक वर्षमा भने ४६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ । यता, घोराही सिमेन्ट पनि १ अर्ब २१ करोड ८८ लाख रुपैयाँ ऋणत्मक अवस्थामा रहेको छ ।
यी कम्पनीको वित्तीय सूचकको हालत पनि उस्तै छ । सर्वोत्तम सिमेन्टको प्रतिशेयर आम्दानी ३.७५ रुपैयाँ हुँदा अन्य दुई कम्पनीको भने ऋणात्मक रहेको छ । सोनापुरको १५.२६ रुपैयाँ र घोराहीको २६.६८ रुपैयाँ प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ । साथै गत आवमा सर्वोत्तमको चुक्तापुँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । चार कम्पनी मध्ये धेरै चुक्तापुँजी हुने सर्वोत्तम दोस्रो हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको चुक्तापुँजी ४ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । साथै, घोराहीको चुक्तापुँजी १५ प्रतिशतले बढेर ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ र सोनापुरको ६६.६७ प्रतिशतले बढेर ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया