काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवा लिमिटेडको गुगल प्ले स्टोरमा १ करोड (१० मिलियन) भन्दा बढी डाउनलोड पूरा भएको छ । यो परिमाणमा डाउनलोड हुने ई-सेवा नेपालको पहिलो डिजिटल वालेट एप हो ।
ई-सेवाले १ करोड डाउनलोडलाई ‘खुसीका १ करोड पलहरू’ भनेर मनाएको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ई-सेवाले यो अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
ई-सेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ । यो यात्रामा आम मानिसलाई जुनसुकै सेवाका लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले ई-सेवालाई सम्झने अवस्थामा ल्याइपुर्याएको छ । सन् २००९ मा स्थापना भई सेवा दिँदै आइरहेको यस कम्पनीले लगभग १६ वर्षको अन्तरालमा नै यो उपलब्धी हासिल गरेको हो ।
हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस कम्पनीसँग १ करोडभन्दा बढी दर्ता भएका ग्राहकहरू, २ लाख ५० हजारभन्दा बढी एजेन्टहरू, ४९ बैङ्कहरू, ४५ लघुवित्त र ३ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू आवद्ध रहेका छन् ।
यस उपलब्धीमा उत्साह व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले १ करोड डाउनलोड गर्ने प्रयोगकर्ता, ग्राहक, एजेन्ट तथा मर्चेन्टहरूलाई धन्यवाद व्यक्त गरेका छन् । ‘ई-सेवाको यो यात्रा यतिमा मात्र सीमित नभई भविष्यमा नयाँनयाँ प्रविधिहरू र नवीनताको साथ नयाँ प्रयोगकर्ताहरूका लागि पनि अनुकुल बनाउँदै अझै थप डाउनलोड बढ्ने कुरामा हामी विश्वस्त छौँ ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत खड्काले भने ।
प्रतिक्रिया