काठमाडौँ । सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाद्वारा उपत्यकाका १५ प्रमुख स्थानहरूमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
काठमाडौँ महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाका १५ प्रमुख स्थानहरूमा यात्रु सहायता कक्षको व्यवस्था गरिएका हो ।
दशैँ मनाउन उपत्यका छोड्ने यात्रुहरूको संख्या उल्लेख्य रूपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौँमा बल्खु, नयाँबसपार्क, गौशाला, चापागाउँ, हल्चोक, चाबहिल, जावलाखेल, बाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको छ ।
विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएकाले यात्रुहरूलाई टिकट बुकिङ्गका क्रममा विभिन्न समस्याहरू र अन्योल नपरोस् भनी यो सेवा दिइएको बताइएको छ । उपभोक्ता संघ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महँगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न रुटमा लागू हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ ।
यात्रु आवतजावतका क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धी सु–सूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ । साथै यसले यात्रुहरूलाई उनीहरूकै सुरक्षाका लागि यो व्यवस्था गरिएको अनुभूति दिलाउने बताइएको छ ।
प्रतिक्रिया