काठमाडौँ
नियमितरुपमा विद्युत् उपलब्ध भएपछि औद्योगिक क्षेत्रमा त्यसले सकारात्मक प्रभाव पारेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ मा नियमति ऊर्जाको उपलब्धताका कारण उद्योगको क्षमता उपयोगमा सुधार आएको पाइएको छ ।
बैंकका अनुसार ऊर्जाको उपभोग बढेका कारण उद्योगको औशत क्षमता वृद्धि भई ५९ दशमलव ७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७३/७४ मा त्यस्तो क्षमता ५७ दशमलव ३ प्रतिशत मात्रै रहेको थियो ।
नियमित विद्युतका कारण पेय पदार्थ, लत्ताकपडा, अन्न तथा पशुदाना, अन्य रासायनिक पदार्थ, गैर–धातु खनिजजन्य उत्पादन तथा बिजुलीको तारको उत्पादनमा वृद्धि भएको छ ।
बैंक तथा वित्तीय संस्थाले कूल प्रवाहित कर्जाको ३३ दशमलव ७ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा प्रवाह गरेका छन् । पश्मिना उद्योगले पूर्णरुपमा आफ्नो क्षमता उपभोग गरेका छन् । उक्त उद्योगले ९९ दशमलव १ प्रतिशत क्षमता उपयोग गरेको पाइएको छ ।
यस्तै सबैभन्दा बढी क्षमता उपयोग गर्ने बियर उत्पादन गर्ने उद्योगले ८६ दशमलव ३ प्रतिशत, प्रशोधित चिया उत्पादन गर्ने उद्योगले ८२ दशमलव ४ प्रतिशत, सिमेन्ट उद्योगले ७४ दशमलव ६ प्रतिशत र चाउचाउ उत्पादन गर्ने उद्योगले ७३ दशमलव ४ प्रतिशत क्षमता प्रयोग गरेका छन् ।
वर्षमा ऊर्जा आपूर्तिमा आएको सुधार, औद्योगिक क्षेत्रमा बन्द हड्ताल लगायतका आपूर्तिजन्य अवरोधमा कमी, नेपालको संविधान अनुसार गठित तीन तहका सरकारले आआफ्ना बजेटमार्फत अघि सारेका विकास निर्माणका कार्य लगायत पुनःनिर्माणमा भएको तीव्रताले निर्माणजन्य सामाग्रीको मागमा वृद्धि भएको छ ।
वनस्पती घ्यू तथा तेल समूहको उत्पादनमा १९ दशमलव १ प्रतिशतले ह्रास आएको छ भने चामल र गहुँको पिठोको उत्पादन घट्न गए तापनि पशुदाना उत्पादन १० दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।
बैंक तथा वित्तीय संस्थाको कूल औद्योगिक कर्जा लगानीमा काठमाडौँ क्षेत्रको अंश ५८ दशमलव ९ प्रतिशत रहेको छ । यस्तै विराटनगर क्षेत्रको अंश १० दशमलव ५ प्रतिशत, वीरगञ्ज क्षेत्रको अंश १० प्रतिशत रहेको छ ।
त्यसैगरी सिद्धार्थनगरमा ७ दशमलव २ प्रतिशत, पोखरा क्षेत्रको अंश ६ दशमलव २ प्रतिशत, नेपालगञ्ज क्षेत्रको अंश ३ दशमलव २ प्रतिशत, धनगढी क्षेत्रको अंश २ दशमलव १ प्रतिशत र जनकपुर क्षेत्रको अंश एक दशमलव ८ प्रतिशत रहेको छ ।
अधिकांश बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडौँ क्षेत्रमा रहेका र ठूलो कर्जा लगानी सम्बन्धी सम्पूर्ण अख्तियारी प्रायः केन्द्रीय कार्यालयमा रहने गरेकाले पनि कूल कर्जामा काठमाडौँ क्षेत्रको अंश उच्च देखिएको बैंकले जनाएको छ ।
रासस





























प्रतिक्रिया