काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चाइनिज काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड अटोमोबाइल (सीसीपीआईटी–अटो) बीच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा विभिन्न विषयमा छलफल र सम्झौता हुँदा नाडा र सीसीपीआईटी–अटो) बीच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर भएको हो ।
यो सम्झौताले नेपाल र चीनबिच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले जनाएको छ । व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ ।
सम्झौता अन्तर्गत नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ ।
त्यसैगरी सीसीपीआईटी–अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ । यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ, जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिनेछ ।
साे क्रममा नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेतीसमेतको उपस्थिति रहेको छ ।





























प्रतिक्रिया