बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पछिल्लो समय लगानीमैत्री वातावरण बन्दै गएको उल्लेख गर्दै बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

युके–नेपाल विजनेश फोरमले मंगलवार काठमाडौंमा आयोजना गरेको “अनप्याकिङ नेपालः मार्केट अपरच्युनिटीज फर युके विजनेश” शेसनमा विशेष वक्ताको रुपमा बोल्दै अध्यक्ष ढकालले महासंघको पहलमा सरकारले लगानी सहज बनाउन ३० भन्दा बढी कानूनी सुधारहरू गरेको जानकारी दिँदै यी सुधारहरूले उद्योग व्यवसायमैत्री वातावरण निर्माण भईरहेको बताएका हुन् ।

यस्तै, द्विपक्षीय लगानी सम्झौता अर्को महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले यस सम्झौताले नेपाल र बेलायत बीचको विश्वासलाई बलियो बनाउने, लगानीको राम्रो सुरक्षा प्रदान गर्दै र व्यापारको सम्बन्धलाई सहज बनाउने धारणा राखे ।

नेपाल सम्भाव्यताले भरिपूर्ण देश भएको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालमा उर्जा, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि उत्पादन, पूर्वाधार र स्वास्थ्य सेवा तथा सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न बेलायती व्यवसायीहरूलाई आग्रह गरे ।

“महासंघको पहलमा धेरै नीतिगत सुधार भएका छन् । जसले नेपालमा लगानीमत्री वातावरण सिर्जना गरेको छ । यो अवस्थामा निरन्तर आर्थिक सुधार र बलियो अन्तर्राष्ट्रिय साझेदार बेलायती व्यवसायीशहरुलाई स्वागत गर्न तयार छौं । बेलायती विशेषज्ञता, प्रविधि र लगानीले नेपालको भविष्यलाई आकार दिन मद्दत गर्नेछ भने व्यवसायीलाई पनि दीर्घकालीन लाभ पनि दिनेछ ।” उनले भने ।

महासंघको पहलमा १० अर्ब रुपैयाँको पूँजी भएको कम्पनी स्थापना गरी स्थानीय लगानीकर्ताहरूसँग सहजीकरण गरेको जानकारी दिँदै अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने व्यवसायीहरुका लागि सहजीकरण गर्न महासंघ सधैं तयार रहेको समेत बताए ।

Logo