राजनीतिक स्वार्थले उल्झनमा परेको पाथीभरा केवलकार, पृष्ठभूमिदेखि विवादसम्म

राजनीतिक स्वार्थले उल्झनमा परेको पाथीभरा केवलकार, पृष्ठभूमिदेखि विवादसम्म


काठमाडौं । दशकौं पुरानो योजना पाथीभरा (मुक्कुमलुङ) केवलकार निर्माणको विषय ताप्लेजुङमा मात्रै नभई अहिले राष्ट्रिय स्तरमै चर्चामा छ । कानुनी रूपमा अनुमति पाएर चरणबद्ध रूपमा अगाडि बढिसकेको केवलकार निर्माणको विषय एकाएक चर्चामा आउनुको प्रमुख कारण थियो, माघ १२ गते ‘नो केवलकार’ समूह र प्रहरीबीच भएको झडप ।

पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर ‘नो केवलकार’ पक्षधर र प्रहरीबीच झडप हुँदा प्रहरी निरीक्षक, सशस्त्र तथा नेपाल प्रहरी दुवैतर्फका २६ जना जवानहरू घाइते भए भने सोही घटनामा प्रहरीको गोली लागि ४ प्रदर्शनकारी पनि घाइते भएका थिए । उक्त घटना लगत्तै केवलकारको विरुद्ध ‘नो केवलकार’ को नारा लगाएर पहिचानवादी समूहले ताप्लेजुङमा मात्रै नभई कोशी प्रदेश लगायत काठमाडौंमा समेत विरोध प्रदर्शन गरे ।

पहिचानवादी समूहको विरोध प्रदर्शन बढ्दै जाँदा गृहमन्त्री रमेश लेखकले आफ्नै मन्त्रालयका सहसचिव रमेश भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरेर पटक-पटक वार्ता गर्दासमेत विवाद सुल्झन सकेको छैन । कोशी प्रदेश नामकरणसँग विरोध गर्दै आएको पहिचानवादी समूहले ‘नो केवलकार’ अभियानको अगुवाइ गरिरहेको छ ।

पाथीभरामा केवलकार बनाउने योजना

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य शाह २०४४ पुस १९ मा ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेडाँडामा मोटर बाटोको ट्याकको उद्घाटन गर्न फुङलिङ पुगेका थिए । त्यस क्रममा ओलाङचुङ्गोलाका व्यापारी छवाङ तेन्जिङ शेर्पाले पाथीभरामा केवलकार बनाउनुपर्छ भन्ने प्रस्ताव गरेका थिए । छवाङ, सोनाम तेन्जिङ र फुर्बु वालुङले २०५४ मा कञ्चनजङ्घा केवलकार प्रालि दर्ता गरे ।

केवलकार निर्माणको तल्लो स्टेसन बनाउन काफ्लेपाटीमा ९२ रोपनी जमिन भएका ध्रुवनारायण श्रेष्ठ २०४३ सालका विराटनगर उपमहानगर प्रमुखले २०७२ मा पाथीभरा देवी केवलकार दर्शन प्रालि कम्पनी दर्ता गरे । त्यसअघि नै सङ्घाइ ग्रुपका सुभाष सङ्घाइले त्रिवेणी केवलकार कम्पनी दर्ता गरिसकेको थियो ।

सङ्घाइले केवलकार निर्माणका लागि सरकारबाट अनुमति लिन फुङलिङ नगरपालिका, तत्कालीन फुरूम्बु, फावाखोला गाविस र पाथीभरा क्षेत्रका छ वटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षबाट सिफारिस लिएको थियो ।

फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार २०७५ जेठ १३ पाथीभरा माता दर्शन केवलकार प्रा.लि.लाई निर्माणको अनुमति दियो । अनुमति लिएको केही वर्षमा ध्रुवनारायण श्रेष्ठको पाथीभरा देवी केवलकार दर्शन प्रालि कम्पनी यती समूहले स्वामित्व लिएपछि श्रेष्ठ बाहिरिए ।

२०७५ सालमा ‘पाथीभरादेवी दर्शन केवलकार प्रालि’ लाई पाथीभरा–मुक्कुम्लुङ क्षेत्रको ४.९७ हेक्टर राष्ट्रिय वन व्यवसायी आङछिरिङ शेर्पाको ‘यती होल्डिङ्स’ लाई ३० वर्षका लागि सित्तैमा उपलब्ध गराउने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले २४ बुँदे सहमति गरेको थियो ।

अहिले यो कम्पनी यती समूहले आइएमई ग्रुपलाई बिक्री गरेको छ । पाथीभरा दर्शन केवलकार प्रा.लीले पाथीभरामा जाने केवलकार निर्माण गर्ने अनुमति पाएसँगै सरकारले केवलकार निर्माणका लागि ४.९७ हेक्टर जमिन दिने निर्णय गरिसकेको छ । सरकारले केवलकारको संरचना निर्माण गर्न उपलब्ध गराएको ४.९७ हेक्टर जग्गाको सट्टामा त्यति नै निजी जग्गा ताप्लेजुङ जिल्लाभित्रै खरिद गरी आईएमई ग्रुपले वन मन्त्रालयको नाममा पास गरी सट्टाभर्ना समेत दिइसकेको छ ।

तल्लो स्टेशनका लागि लगानीकर्ता आफैंले किन्नुपर्छ । त्यसअनुसार आईएमई ग्रुपले तल्लो स्टेशन (काफ्लेपाटी) का लागि यती समूहबाट २९ रोपनी जग्गा किनेको हो । उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका चन्द्रप्रसाद ढकालले यसको नेतृत्व गरिरहेका छन् । यसअघिका विवादका विषयमा आफू जानकार नभएको र सातै प्रदेशमा एक–एक वटा केवलकार बनाउने आफ्नो योजना रहेको बताउने उनी पाथीभरामा पनि केवलकार स्थापना गरी पाथीभरामा दर्शन गर्न आउने दर्शनार्थीहरुका सहज वातावरण बनाउनका साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य देखाउँछन् । पाथीभरा केवलकार बनाउन करिब ३ अर्ब लगानी लाग्ने भएको छ ।

उनले भनेका छन्, ‘केवलकार केबल यातायातको साधन मात्र हो । जसले पाथीभरा देवीको दर्शनमा जाने तीर्थयात्रीलाई सहजता पुर्‍याउँछ । पाथीभरा देवी आस्थाको धरोहर भएकाले त्यहाँ केवलकार निर्माणले त्यहाँका कुनै धर्म र जाति विशेष या संस्कार संस्कृति एवं हाल भइरहेका संरचनामा केही असर गर्दैन बरु थप मजबुत बनाउन सहयोग पुर्‍याउँछ ।’

केवलकार निर्माणका लागि सरकारी अनुमति प्राप्त भएकाले १३ महिनाभित्रमा केवलकार निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको पाथीभरा दर्शन केवलकार प्रा.लि.ले बताउँदै आएको छ ।

यती समूहले पाथीभरा केवलकार निर्माण गर्नका लागि प्रारम्भिक अनुगमन गर्दा त्यति बेला स्थानीयलगायतका कुनै समूह र राजनीति दलले गरेको कुनै प्रकार विरोधको स्वरसमेत सुनिएको थिएन । त्यसपछि लक्ष्मी इन्टरकन्टिनेन्टलले केवलकारको जिम्मा लिने निर्णय भएको बेला पनि विरोधको गुञ्जायस नै थिएन ।

तर, अहिले केवलकारको शिलान्यासको चरणसम्म आइपुग्दा आईएमई समूह यस परियोजनाको नेतृत्व गरिरहेको छ । यही मौका पारेर शिलान्यास भएसँगै ‘मुन्धुम’ संस्कृति माथि अतिक्रमण गर्न खोजिएको र स्थानीय प्राकृतिक स्रोतसाधनलाई केही व्यापारीको स्वार्थपूर्तिका लागि दोहन गर्न खोजिएको भन्दै पहिचानवादी समूहले आन्दोलन चर्काएको छ ।
पाथीभरा केवलकार कम्पनीमा आईएमई समूह करिब दुई वर्ष अगाडि मात्र संलग्न भएको हो ।

करिब चार दशक अघिदेखि केवलकार निर्माणको विषय उठेको पवित्र धार्मिक स्थल पाथीभरामा २०७५ मा केवलकार कम्पनी स्थापना गरी काम अघि बढेको देखिन्छ । त्यसैले केवलकार बनाउने वा नबनाउने कुरा आज आएर जसरी राष्ट्रियकरण गर्नु राम्रो होइन, आईएमई समूहको संलग्नतापछि केवलकार निर्माणको विषयले गति लिएको हो । यसरी केही मानिसको व्यक्तिगत स्वार्थका लागि विकास परियोजनाको विरोध गरी वाधा अवरोध गर्नु उचित नभएको निर्माण पक्षको भनाई छ ।

सोही भनाइ अनुसार नै ताप्लेजुङका प्रतिनिधि तथा नेकपा एमालेका नेता योगेश भट्टराई पनि कानुनी प्रक्रिया सबै पूरा गरेर आएको लगानीकर्तालाई भगाउने काम निन्दनीय भएको बताउँछन् । उनले केन्द्रबिन्दुसँग भनेका छन्, ‘ताप्लेजुङवासीलाई विकास चाहिएको हो । यो भन्दा अगाडि पाथीभरा केवलकार निर्माणको विरोध नगर्ने मानिसले अहिले आएर निजी स्वार्थका लागि केवलकारको विषयलाई धर्म, संस्कृति र जातीयकरण गर्नु आवश्यक छैन ।’

पाथीभरा केवलकार निर्माणको संरचना

फुङलिङ नगरपालिका ११, काफ्ले पाटीदेखि पाथीभरा देवी मन्दिर परिसरभन्दा करिब ७०० मिटर पश्चिमसम्म २ दशमलव ७५ किलोमिटर लामो केवलकार बन्ने भएको छ । जसमा ३६ वटा यात्रुवाहक गोन्डोला र दुई वटा सामान ओसारपसार गर्ने गोन्डोला रहनेछन् । केवलकार निर्माण भएपछि तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म पुग्न जम्मा १० मिनेट ३१ सेकेन्ड जति समय लाग्नेछ । केवलकारको सबै उपकरण तथा पार्टस विश्व प्रसिद्ध केवलकार कम्पनीको प्रयोग गरिनेछ । ६ मिटरप्रति सेकेण्डको गतिमा चल्ने र अधिकतम १ हजार जनाप्रति घण्टा यात्रुको क्षमता रहेको छ ।

केवलकारको बटम स्टेसन (काफ्ले पाटी)देखि टप स्टेसनसम्म पुगेर पाथीभरा मन्दिर सम्म जान करिब ५ र ७ मिनेट लाग्ने छ । केवलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाको लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइने छ । त्यस बाहेक होटेल, रेष्टुरेन्ट, लगायत अन्य कुनै प्रकारका संरचना मन्दिर क्षेत्र वरिपरि बनाइने छैन ।

यस्तै, पाथीभरा मन्दिरको भेटीसँग आँखा केवलकारको कुनै सम्बन्ध नहुने पनि आईएमई ग्रुपका अध्यक्ष ढकालले पत्रकार सम्मेलन मार्फत प्रष्ट पारिसकेका छन् । केवलकारको रोजगारीमा करिब ८०५ जना भन्दा बढी स्थानीयको पहुँच, यातायात व्यवसायको क्षेत्र विस्तार, निर्माण व्यवसाय क्षेत्रको विस्तार, स्थानीय कृषि र आपूर्ति क्षेत्रको प्रवद्र्धन गर्ने सुनौलो अवसर बन्ने निर्माण पक्षको धारणा छ ।

केवलकार निर्माण पक्षमा स्थानीयदेखि जनप्रतिनिधि

पाथीभरा केवलकार निर्माण विवाद चुलिँदै जाँदा ताप्लेजुङका स्थानीय र जनप्रतिनिधिहरू केवलकार बन्नुपर्छ भन्ने पक्षमा छन् । सत्तारुढ दल एमालेका नेता तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरा जस्तो पर्यटकीय क्षेत्रलाई संवद्र्धन र प्रवर्धन गर्नका लागि केवलकार आवश्यक रहेको बताएका छन् । उनले पाथीभरा केवलकार निर्माणको विवाद सिर्जना भएदेखि नै पत्रकार सम्मेलन गरेर होस् या आमसञ्चार माध्यमबाट बोलेर होस् पाथीभरामा केवलकार बन्नुपर्छ भन्दै जोडतोडका साथ आवाज उठाइरहेका छन् ।

यस्तै, नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम लिम्बु पनि पाथीभरामा केवलकार निर्माणले ताप्लेजुङवासीको आर्थिक, पर्यटकीय, रोजगारीको विकास हुने भएकाले आवेशमा आएर विरोध गर्नु आवश्यक नरहेको बताउँछिन् ।

पाथीभरामा केवलकार बन्नु हुँदैन भनेर सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्नुभन्दा सम्बन्धित निकायसँग वार्ता गरेर टुङ्ग्याउन उनले आह्वान गरेकी छन् । उनले भनेकी छन्, ‘पाथीभरामा केवलकार निर्माण भयो भने विकासका लागि ताप्लेजुङवासीले कुनै मन्त्रीको ढोका ढकढक्याउनु पर्ने अवस्था आउँदैन, यो कोशेढुंगा सावित हुन्छ ।’

पाथीभरा केवलकार निर्माणकै पक्षमा फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन पनि छन् । उनले समग्र ताप्लेजुङको विकास र स्थानीय सरोकारको हित हुने भएकाले केवलकार निर्माण गर्न आवश्यक रहेको बताए । यस्तै, केवलकार निर्माणकै पक्षमा ताप्लेजुङ जिल्ला सरोकार समिति पूर्व अध्यक्ष एवं राजनीतिज्ञ तथा समाजसेवी चित्रगुप्त साँवा, एमाले ताप्लेजुङ जिल्ला कमिटी कार्यवाहक अध्यक्ष दिपेन पोमु, राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी लगायतका व्यक्तिहरू छन् ।

स्थानीय तहका जनप्रतिनिधिदेखि केन्द्रका जनप्रतिनिधिहरूले केवलकार निर्माण हुनुपर्छ भन्ने अभिव्यक्ति दिँदै आइरहेका छन् । पाथीभरा केवलकार निर्माणमा ९५ प्रतिशत स्थानीयको साथ रहेको निर्माण पक्षलगायत जनप्रतिनिधिको भनाइ छ ।

पाथीभरा केवलकार निर्माणमा निजी व्यक्तिको स्वार्थ पूर्तिका लागि केहीले विरोध गरिरहेका छन्, जसले गर्दा पाथीभरा केवलकार निर्माणमा स्थानीयको विरोधका बीच किन केवलकार निर्माण गर्नुपर्यो भन्ने अभिव्यक्ति दिइरहेका निर्माण पक्षको गुनासो छ । समग्र घटनाक्रमलाई औँल्याउने हो भने केवलकार निर्माण पक्षमा स्थानीयको पनि साथ रहेका देखिन्छ ।

केवलकार निर्माण विवादमा लिङ्देनदेखि महतोसम्मको इन्ट्री

पाथीभरा केवलकार निर्माण परियोजना विवादले राष्ट्रिय रूप लिएसँगै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री राजेन्द्र महतोदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले इन्ट्री गरेका छन् ।

लिङ्देनले पत्रकार सम्मेलन नै गरेर सरकारले एक जना व्यापारीको फाइदा, केही राजनीतिक नेताहरूको कमिसन र शेयर सुरक्षाको लागि जनतामाथि गोली चलाएर केवलकार बनाउन उचित नभएको बताएका छन् ।

यसैगरी मधेसको राजनीतिमा असफल महतोले विज्ञप्ति नै निकालेर पाथीभराका केवलकार निर्माण गर्न उपयुक्त नभएको बताएका छन् । ‘पाथीभरा ‘मुक्कुमलुङ’ कुनै साधारण स्थल होइन । यो सम्पूर्ण नेपालीहरूको आस्था, परम्परा र विश्वासको धरोहर हो । यो मात्र एक भूमि होइन, आस्थावान्हरूको पुर्खाहरूको आत्मा बस्ने स्थल हो । यसलाई कुनै एक व्यक्तिको नाफा र घाटाको रूपमा प्रयोग गर्नु दिनुहुँदैन ।’ उनले विज्ञप्तिमा भने ।

पाथीभरा केवलकार निर्माण विवादमा महतो र लिङदेनको मात्रै विमति रहेन अन्य अमेरिकास्थित वेस्टर्न मिसिगन विश्वविद्यालयमा राजनीति शास्त्र र अन्तर्राष्ट्रिय विकास विषयका प्राध्यापक प्रा.डा. महेन्द्र लावती, लिम्बूवान राष्ट्रिय समितिको तर्फबाट मुख्य सचिव सञ्जय राई, जसपा सम्बद्ध किरात राष्ट्रिय समितिको तर्फबाट अध्यक्ष रमेश राई, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रदेश नं. १ अध्यक्ष धन बहादुर पन्धाक, नेपाल जनमुक्ति पार्टीको तर्फबाट उपाध्यक्ष भक्त खेवाङ, मंगोल नेसनल अर्गनाइजेसन पार्टीको तर्फबाट प्रदेश नं.१ अध्यक्ष नयन्द्र चाम्लिङ र किरात लिम्बूवान प्रदेश समितिको तर्फबाट अध्यक्ष गजेन्द्र पालुङवाले पनि पाथीभरामा ‘नो केवलकार’ को स्वरमा स्वर मिलाए ।

दशकौं पुरानो योजना विस्तार हुन लाग्दा विगतमा कोशी प्रदेशको नामकरणसँग जोडिएको पहिचानवादी समूहले केवलकार निर्माणको विषयमा विरोध गर्दै आइरहेको छ । विरोधमा पहिचानवादी समूहसँग किरात याक्थुङ चुम्लुङ समिति, किरात धर्म साहित्य उत्थान समूह, थरगत (याक्थुङ सयङ) सहजीकरण समूह, मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति र पाथीभरा केवलकार खारेजी संयुक्त सङ्घर्ष समितिहरू सहभागी छन् ।

प्रदेश न.१ को नामकरणपछि सेलाएको पहिचानवादी पक्षधरको आन्दोलनलाई पाथीभरा केवलकार निर्माणको विरोध गरेर पुनः व्युँताउन सकिन्छ भन्ने मनसायले विवाद सिर्जना गरेको घटनाक्रमले देखिन्छ । प्रदेश न.१ को नामाकरण सत्ता पक्षका नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र प्रतिपक्षी नेपाली कांग्रेसका सहित ८२ जना प्रदेशसभा सदस्यको सहमतिमा दुई तिहाई बहुमतका साथ १७ फागुन २०७९ मा गरिएको थियो ।

प्रदेशको नाम किराँत–खम्बुवान–सगरमाथा नाम प्रस्ताव गरेका पहिचान पक्षधरहरूले प्रदेश नं.१ को नाम एक पक्षले राखेको सम्बोधन गरियो भन्दै विभिन्न जातीय सङ्गठन र क्षेत्रीय दलहरू (पहिचानवादी पक्षधर) ले शान्तिपूर्ण सडक आन्दोलन सुरु गरे । त्यस क्रममा उक्त प्रदेशको राजधानी विराटनगरमा सुरक्षाकर्मीसँगको झडपमा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपश्चात् पनि आन्दोलन निरन्तर गरे तर लामो समयसम्म टिकाउन असफल रहे ।

विवाद अझै टुङ्गिँदैन ।

पाथीभरा दर्शन केवलकार प्रा.लि.द्वारा पाथीभरामा केवलकार निर्माणको प्रयासलाई तत्काल रोक्नुपर्ने र स्थानीय जनताको धार्मिक आस्थामा अवरोध पुर्याउने कार्य बन्द गर्नुपर्ने माग सहित मुक्कुमलुङ बचाउ अभियानमा संलग्न १० वटा संस्थाहरू र ९ वटा राजनीतिक दलहरूले ग्लोबल आइएमई बैंकका सम्पूर्ण स्थानीय शाखा बन्द गर्न विज्ञप्ती मार्फत अल्टिमेटम दिए । माघ १२ गतेको घटनामा घाइते भएकाहरूको पूर्ण रूपमा जिम्मेवारी लिनुपर्ने चेतावनी समेत दिए । कानुनी तथा मान्यता प्राप्त पाथीभरा केवलकार निर्माण परियोजनाको विरोध अहिले बेमौसमी विरोध जस्तै देखिएको छ । केवलकार निर्माणका लागि महिनौँ अगाडि डिपिआर, रुख कटान लगायतका काम भइसक्दा पनि विरोधको आवाज सुनिएनन् ।

धार्मिक आस्था र विकास

पाथीभरा धार्मिक आस्थाको धरोहर भएकाले पर्यटकहरूको मात्र घुइँचो लाग्दैन, मनोरम प्रकृतिमा मग्न हुने अभिलाषा बोकेर पनि अनगिन्ती पाहुना त्यहाँ पुग्छन् । पाथीभरामा केवलकारले केवल धार्मिक आस्था र विश्वासलाई आँच पुर्याउँदैन ।

पाथीभराको प्रचार–प्रसार गरी थप महिमा बढाउनका साथै पूर्वको पर्यटनलाई पनि टेवा पुर्याउने विश्वास केवलकार पक्षधरहरूको छ । अर्को पक्ष ‘नो केवलकार’ समूहले धार्मिक आस्थामा आँच आउने भन्दै विरोध प्रदर्शन गर्दै आइरहेका छन् । दुई पक्षको मतभेदले पाथीभरा केवलकार निर्माण परियोजना अन्योलमा देखिएको छ ।

ताप्लेजुङको आर्थिक, पर्यटन लगायतका विकासका लागि पाथीभरा केवलकार निर्माण आवश्यक रहेको स्थानीयदेखि जनप्रतिनिधिहरूले पनि अभिव्यक्ति दिँदै आइरहेका छन्। वृद्ध व्यक्तिहरू, अपाङ्गता भएका व्यक्ति र स्वास्थ्य समस्या भएका तीर्थयात्री सहजताका लागि, पाथीभरा क्षेत्रमा बदाम, पानी, सुन्तला लगायत सामान्य वस्तु बचेर गुजारा चलाउने स्थानीयवासीको रोजगारी, शिक्षा, स्वास्थ्य, आवास, यातायात र अन्य सुविधाहरूलाई सहज बनाउन, रोजगारीका अवसरहरू सिर्जना गर्न,धर्म र संस्कृतिका आस्थावानलाई फाइदा पुर्याउन केवलकार निर्माण गर्न आवश्यक रहेको निर्माण पक्षको भनाइ छ ।

पूर्वको ताप्लेजुङमा रहेको पाथीभरा मन्दिर नेपालमा मात्र होइन, छिमेकी मुलुक भारतमा पनि चर्चित छ । यो मन्दिरमा बर्सेनि नेपाल तथा भारतबाट एक लाख बढी भक्तजनहरू दर्शन गर्न आउँछन् । ताप्लेजुङको पर्यटन विकास मात्रै नभई देशको समग्र विकासका लागि पाथीभरामा केवलकार निर्माण आवश्यक छ ।

केवलकार निर्माण विवादमा सरकारको भूमिका

पाथीभरा केवलकार निर्माण विवादलाई सुल्झाउनका आन्दोलनरत पक्षसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरियो । आन्दोलनरत पक्ष र सरकारबीच माग २१ र २२ गते भएको लगातार दुई दिने वार्तापछि मुक्कुमलुङ क्षेत्रमा केवलकार निर्माण कार्य तत्कालका लागि स्थगित गर्ने लगायत ६ बुँदे सहमति भएपछि प्रदर्शन रोकिएको थियो । त्यसपछि २७ माघमा बसेको बैठकमा नो केवलकार पक्षले शीर्ष नेताहरूसँग वार्ता गर्ने माग राखेपछि बैठक निष्कर्षविहीन भएसँगै २८ माघमा गृहमन्त्री रमेश लेखक र पहिचानवादी पक्ष वार्ता भयो ।

वार्तामा उच्च स्तरको वार्ता टोली गठन हुनुपर्ने नो पहिचानवादी पक्षले माग गरेपछि गृहमन्त्री लेखकले अहिले उच्च स्तरको वार्ता टोली गठन नहुने बताए थिए । गृहमन्त्रीको उक्त निर्णय पश्चात् नो केवलकार समूहले पुनः फागुन ६ गतेबाट प्रदर्शन गर्ने घोषणा गरेको छ । उक्त प्रदर्शनमा महतो नेतृत्वको दल पनि समावेश छ ।

पहिचानवादी समूहको ज्यादती

सरकारले वार्ता समिति गर्दा समेत पहिचानवादी समूह विवाद सुल्झाउनको सट्टा झन् बढाउन खोजिरहेका छन् ।

गत आइतबार केवलकार निर्माण पक्षका बोलेको भन्दै थाक्थुम चुम्लुङ केन्द्रीय कार्यसमितिको पत्रकार सम्मेलनका क्रममा मुकुम्लुङ संघर्ष समितिका नेताहरूले याक्थुम चुम्लुङ केन्द्रीय कार्य समितिको उपाध्यक्ष एवम् ताप्लेजुङका पदम लिम्बू मावोलाई कालोमोसो दलिदिए । कालोमोसो दल्नेहरुमा पहिचानवादी समूहसँग जोडिएका जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय नेता अमर इजम र नेता जेन्टल लावती लगायत संलग्न छन् । यसरी केवलकार निर्माणको पक्षमा बोलेको भन्दै कुनै व्यक्तिमाथि दुर्व्यवहार गर्ने काम अनुचित हो । पाथीभरा केवलकार निर्माण विवाद उत्पन्न भएको समयदेखि आजसम्मका घटनाले केवलकार निर्माण विवादमा सुल्झाउनको सट्टा बढाउने संकेत प्रष्ट रूपमा गर्छ ।

सुरु भयो ‘एस केवलकार’को अभियान

पाथीभरा केवलकार निर्माणको पक्षमा ‘एस केवलकार’ अभियान सुरु भएको छ । राष्ट्रिय स्तरमै चर्चामा रहेको ‘नो केवलकार’ आन्दोलनकाविरुद्ध ताप्लेजुङबाट ‘एस केवलकार’ अभियान सुरु भएको हो । मंगलवार ताप्लेजुङमा कार्यक्रम आयोजना गरी ‘नो केवलकार’को प्रतिवाद गर्दै याक्थुम चुम्लुङ केन्द्रिय समितिका उपाध्यक्ष पदम चेञ्जी मावो लिम्बुले ‘एस केवलकार’ को नारा घन्काएका छन् । उनले उक्त कार्यक्रममा बोल्दै ताप्लेजुङको विकास र समृद्धिका लागि केवलकार बनाउन आवश्यक भएकाले ज्यानै दाउमा राख्न तयार रहेकोसमेत चेतावनी दिएका छन् ।

‘नो केवलकार’ एवं पहिचानवादी पक्षधरहरुलाई उनले प्रश्न पनि गरे, ‘हिजोको दिनमा मेन्छयायेम डाँडामा, नाहाङ्मा यकमा र तागेरा निङवाफु फक्कु जस्ता मुन्धुमी स्थलहरू उधिनेर ध्वस्त पार्दा हामीले मुन्धुमी स्थल ध्वस्त पार्न पाइँदैन भनी विरोध जनाई रहँदा मुक्कुमलुङ्गे क्लबका साथीहरू कता हुनुहुन्थ्यो ? त्यतिखेर मुन्धुमी स्थल अतिक्रमण भो भनेर किन बोल्नु भएन र अर्को बिजुलीको ट्रेक लैजाँदा, सुकेटार देउराली सडकखण्ड, देउराली फावाखोला सडक खण्डमा रुख काटिँदा किन बोल्नु भएन ? तर अहिले पाथीभरा देवस्थल भन्दा १ किमी तल भीरमा केवलकार बन्दा मुन्धुमी स्थल ध्वस्त भो अतिक्रमण भो भन्ने ?’

Logo