अरुण तेस्रो परियोजनाः सुरुङ मार्ग र विद्युत गृहको शिलान्यास

अरुण तेस्रो परियोजनाः सुरुङ मार्ग र विद्युत गृहको शिलान्यास

केन्द्रबिन्दु
0
Shares

सङ्खुवासभा

पाँच वर्षमा जलविद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखिएको अरुण तेस्रो आयोजनाको पावर हाउस निर्माणको शिलान्यास गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शतिशकुमार शर्माले चिचिला गाउँपालिकामा पर्ने पुखुवामा विद्युत गृह निर्माणको शिलान्यास गर्नुभयो ।

उहाँले तोकिएको समयमा अरुणबाट बिजुली निकालिसक्ने बताउनुभयो । बाँध क्षेत्रमा पनि धमाधम काम भइरहेको उहाँले बताउनुभयो । बाँध क्षेत्रबाट सुरुङ मार्गको काम तीव्र गतिमा भएको छ ।

प्रमुख कार्यकारी अधिकृत शर्माका अनुसार १२६ मिटर सुरुङ निर्माण भइसकेको छ । “सुरुङ ११ दशमलब ७४ किलोमिटर निर्माण गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “हामीले काम अघि बढाइसकेका छौँ ।” छ्याङकुटीबाट विद्युत गृहसम्म एक महीनाअघि कच्ची सडक पुगिसकेको छ । खाँदबारीबाट बाँधस्थलसम्मको सडक स्तरोन्नति भइसकेको छ ।

सन् २०२२ मा बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको सतलजले निर्माणको काम अब नरोकिने जनाएको छ । सङ्खुवासभा, भोजपुर र खोटाङ हुँदै प्रशारण लाइन लगिने छ । प्रशारण लाइनमा निर्माण गरिने ५०१ वटा टावरको पनि काम शुरु भइसकेको छ ।

आयोजनाको सडक निर्माणको काम अन्तिम चरणमा छ । कच्ची सडक विद्युत गृह स्थल पुगिसकेको छ, त्यसलाई चौडा बनाउने काम भइरहेको छ, पूर्वाधार निर्माणका काम पनि अघि बढिसकेको छ । आयोजना स्थलमा भौतिक संरचना निर्माण थाल्नु अघिको सम्पूर्ण प्रक्रिया पनि पूरा भइसकेको छ ।

भारतीय लगानीमा निर्माण अघि बढेका ठूला आयोजना मध्येको एक अरुण तेस्रोका लागि जग्गा अधिग्रहणको काम सकिएको जिल्ला प्रशासनले जनाएको छ । सेना बराह दल गुल्मको सुरक्षामा विस्फोटक पदार्थ राखिएको छ । सुरुङका लागि विस्फोटका काम भइरहेको सतलजले जनाएको छ । अब चार स्थानबाट सुरुङको काम अघि बढेपछि अझै तीव्रता पाउनेछ ।

छ्याङकुटीबाट पुखुवा विद्युत गृहसम्म २८ दशमलब ६९ किमी सडक निर्माण भइसकेको छ । फ्याक्सिन्दाबाट सुन्तलेसम्मको साढे १४ किमीमध्ये साढे ११ किमी सडकमध्ये केही मिटर मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

“कामको गति निक्कै अघि बढेको छ”, नुमका दुर्गाबहादुर पराजुलीले भन्नुभयो, “बाँधस्थलबाट विद्युत गृह जाने सुरुङको काम अघि बढेपछि झनै आशावादी भएका स्थानीय बासिन्दामा अरुणमा उत्पादन भएको बिजुली छिट्टै बाल्न पाउने आश जागेको छ, अहिले पनि उक्त क्षेत्रका बासिन्दा सोलारको धिपधिपे उज्यालोमै छन् । अरुण प्रभावित क्षेत्रका स्थानीयवासीले अझैसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न पाएका छैनन्, अन्धकारमा बस्दै आएका छन् ।”

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार छ्याङकुटी पुखुवा सडकमा पनि स्थानीयवासीको माग अनुसार मुआब्जा वितरण गरिसकिएको छ । यो क्षेत्रका साढे चार किलोमिटर सडक आसपासका स्थानीयवासीलाई करीब सात करोड मुआब्जा वितरण गरेको उहाँले बताउनुभयो । १९ परिवारलाई मुआब्जा वितरण गरिएको हो । छिट्फुट बाँकी रहेकालाई पनि दिने तयारीमा छौं, बाँकी रहेकाका लागि मुआब्जा वितरणको प्रक्रियामा छौँ ।

यसअघि पनि जिल्ला प्रशासनले २५८ परिवारलाई मुआब्जा वितरण गरिसकेको छ । उनीहरुलाई एक अर्ब ९५ करोड २५ लाख ३७ हजार १०५ वितरण गरिसकेको छ । ११ परिवारलाई चार करोड ८५ लाख वितरण गर्न बाँकी छ । मुआब्जा लिन नआएका ११ परिवारलाई पनि वितरण गरिने प्रक्रियामा छन् । विदेशिएका, जग्गा रोक्का भएका र जग्गा दर्ता नगरेका कारण उनीहरुले मुआब्जा नपाएको प्रजिअ गणेशबहादुर अधिकारीले बताउनुभयो ।
रासस

Logo