स्टल बुकिङ नै नभएपछि नाडाले दियो रजिष्ट्रेशनलाई निरन्तरता, अटो शोमा सहभागी हुन कतिले देखाए इच्छा ?

स्टल बुकिङ नै नभएपछि नाडाले दियो रजिष्ट्रेशनलाई निरन्तरता, अटो शोमा सहभागी हुन कतिले देखाए इच्छा ?


काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा)ले आगामी वर्ष (२०८२) मा आयोजना गर्ने ‘नाडा अटो शो-२०२५’ का लागि अपेक्षाकृत आवेदन नपरेको बुझिएको छ । नाडाले ओटो शोका लागि अग्रिम स्टल बुकिङ खुल्ला गरेता पनि त्यसमा अटोमोबाइल कम्पनीहरूको आवेदन उल्लेखीय रुपमा नपरेको पाइएको हो ।

१७औं संस्करणको उक्त एक्स्पोको लागि नाडाले फाल्गुन २७ गतेदेखि चैत्र ४ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरेको थियो । तर, नाडाले तोकेको डेटलाइनमा अटो कम्पनीहरूले रजिष्ट्रेशन नगरेपछि तनावपूर्ण अवस्थामा आगामी अटो शोको माहोल देखिन्छ ।

यद्यपि डेटलाइन सकिए पनि स्टल बुकिङ रजिष्ट्रेशन भने अहिले पनि गर्न सकिने नाडा अटो शो समितिका सह-संयोजक अनुप कुमार बरालले जानकारी दिए । उनका अनुसार स्टल बुकिङ्ग गर्न चाहनेहरूका लागि अहिले पनि रजिष्ट्रेशन खुल्ला छ ।

नाडा अटो शो भृकुटिमण्डपमा भदौ ३ देखि ८ गतेसम्म हुँदैछ । जसको स्टल बुकिङ रजिष्ट्रेशन ५ महिना अगावै खुल्ला गरे पनि अटोमोबाइल कम्पनीहरूले रजिष्ट्रेशन नगर्दा यो बुकिङले निरन्तरता पाएको हो । पोखरामा हालै सम्पन्न वाडा अटो शोमा अटोमोबाइल कम्पनीहरू व्यस्त भएको विषयलाई औँल्याउँदै रजिष्ट्रेशन मिति लम्ब्याइको बरालले बताए । यद्यपि स्टल बुकिङको लागि समय कहिलेसम्म लम्ब्याइएको छ, त्यो भने नाडाले जानकारी दिएको छैन ।

‘विभिन्न अटोमोबाइल कम्पनीहरूले सहभागिता जनाउनको लागि रजिष्ट्रेशन गरिसक्नु भएका छ र बाँकी रहेकाहरूले पनि स्टल बुकिङ गर्ने क्रम जारी छ,’ उनले भने । अटो व्यवसायीहरूको संस्था टुक्रिएर नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) बन्दा यसले केही असर पुर्‍याएको आंकलन गरिएको छ ।

नाइमाले पनि नाडा अटो शो अगावै अटो शो गर्ने योजना बनाएसँगै पर्ख र हेरको अवस्थाले गर्दा रजिष्ट्रेशन गर्ने विषयमा व्यवसायी आफै अन्योलमा देखिन्छन् । अटो व्यवसायीहरूको प्रतिष्ठित संस्था नाडा टुक्रिँदाको चपेटामा अहिले नाडा अटो शो छ । तर, पनि यसलाई सफल बनाउनका निमित्त नाडाका पदाधिकारीहरू निरन्तर लागि रहेका छन् ।

भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरूबाट समेत जानकारी माग भइरहेकोले गत वर्षहरूको तुलनामा यस वर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरेको नाडाले बताएको छ । तर, नाइमाले पनि नाडा अटो शो गर्ने संकेत देखाएपछि अग्रिम स्टल बुकिङ खुल्ला गरिएको केही अटो व्यवसायीको तर्क छ । यसले गर्दा विगतमा जस्तो नाडा अटो शो यसपटक नहुने हो कि भन्ने चिन्ता अटो व्यवसायीलाई थपेको छ ।

कतिले गरे रजिष्ट्रेशन ?

नाडा अटो शो देशकै सबैभन्दा ठूलो अटो शो हो । अटोमोबाइलमा आएका नवीनतम प्रविधिहरू हेर्न बुझ्न र किन यहाँ मान्छेहरू अटो शो सुरु हुने बेलादेखि नै पुग्ने गर्छन् । दशैं अगावै हुने यो अटो शोलाई व्यवसायीले आर्थिक गतिविधिलाई चलायमान हुने दृष्टिकोणबाट हेर्छन् । त्यसैले पनि अटो शोको रौनकलाई जो कोही नजिकबाट नियाल्न रुचाउँछन् ।

अवलोकनकर्ताको आवागमन उच्च र बुकिङ पनि यहाँबाट धेरै हुने भएकाले अटोमोबाइल कम्पनीहरू यहाँ सहभागी हुनको लागि निकै रुचाउँछन् । तर, आगामी वर्षको अटो शोमा अटो कम्पनीहरूको उत्साहजनक उपस्थिति नहुने हो कि भन्ने अन्योलता थपेको छ । जसका बाबजुत पनि अटो शोलाई व्यवस्थित तरिकाले गर्ने योजनाका साथ नाडा लागि रहेको छ ।

संयोजक बरालका अनुसार प्रदर्शनीमा सहभागी हुनको लागि प्यासेन्जर सेग्मेन्टबाट करिब २० वटा, दुई पाङ्ग्रे १० वटा र अन्य लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरू लगायत वित्तीय संस्था रजिष्ट्रेशन गरेका छन् । अहिले पनि स्टल बुकको काम भइरहेको बरालको भनाई छ ।

नाडा अटो शोको रजिष्ट्रेशन सुस्त देखिएता पनि अन्तिम अवस्थासम्म अटोमोबाइल कम्पनीहरूको सक्रिय सहभागिता हुने बताइएको छ ।

उत्साह घट्ला ?

व्यवसायीबीचको खटपटलाई ल्याएर नाडासँग जोड्दा अहिले नाडा अटो शो संकटमा देखिएको हो । यद्यपि नाडाका अध्यक्ष करण चौधरी जसरी भए पनि अटो शो गर्ने दौडधुपमा छन् । अटो शो पहिलाकै जस्तो हुने र यसमा नाइमाले गर्दा ठूलो असर नपुग्ने व्यवसायीहरूको धारणा छ ।

तर पनि विघटनको विवादले अहिले नाडाभित्रै खलबली मच्चिँदा अटो शोलाई सफल बनाउन निकै चुनौतीपूर्ण रहेको बताइन्छ । अटोमोबाइल क्षेत्रेको विकास र परिवर्तनको लागि अहम् भूमिका खेल्दै आएको नाडालाई टुक्र्याएर अटो शोमा आक्रोश पोख्दाको परिणाम उचित नदेखिने एक अटो व्यवसायीले बताए ।

‘अटो शो हुँदैन भनेर कतिपय व्यवसायीको मुखबाट सुनिरहेको हुन्छु, अटो शोलाई रोकेर समस्याको समाधान हुने होइन, त्यसैले सबै मिलेर यसलाई कसरी भव्य बनाउने, त्यसतर्फ सोच्नु पर्छ,’ उनले भने । नाडा अटो शोलाई लिएर विभिन्न विवाद आएता पनि अटो शो पहिलाको भन्दा उत्साहपूर्ण तरिकाले हुने उनको तर्क छ ।

सम्बन्धित समाचार

व्यवसायीबीचको टकरावले टुक्रियो नाडा, कसरी भयो उथलपुथलको सिर्जना ?

Skip This
Skip This
Logo