काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिन १५,००० भन्दा बढि दर्शकको आगमनले प्रर्दशनी स्थलमा दिनभरी उत्सवको माहोल छायो ।
उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रज व्यक्तिहरुको उपस्थितीमा उद्घाटन सम्पन्न भएपछि सर्वसाधरणका लागि प्रर्दशनी खोलिएको थियो ।
उद्घाटन समारोहका प्रमूख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा भएको भौतिक विकासको चर्चा गर्दै सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । “गुणस्तरीय सडक पुर्वाधार विना यो अटो मोबाइल क्षेत्रमा जस्तो सुकै प्रर्दशनी गरेपनि त्यसको सहि सदुपयोग हुन सक्दैन, त्यसैले अहिले सरकारले गुणस्तरीय सडक पुर्वाधारलाई महत्व दिएको छ।,” उनले भने ।
कार्यक्रममा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्य र एक्स्पो समितिका प्रमुख शिरीष कुमार मुरारकाले पनि मन्तव्य दिँदै नेपालको अर्थतन्त्रमा अटो मोबाइल उद्यमीहरुको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्त्वमाथि प्रकाश पारे । उनले भने, “हामी नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोेटिभ प्रदर्शनीको उद्घाटन गर्न भेला भएका छौं र यो क्षण हामी सबैका लागि अत्यन्तै विशेष छ । हामी सहकार्य, नवप्रवर्तन र दिगो वृद्धिमा केन्द्रित एउटा नयाँ अध्यायको सुरुवात गर्दैछौं ।”
मन्तव्यको क्रममा उनले थपे, “मोबिलिटी क्षेत्र नेपालका लागि रोजगारी र आर्थिक वृद्धिको एउटा महत्वपूर्ण पक्ष हो। यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्छ र राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशतको योगदान पु-याउँछ। हाल नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता छन्, जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधारका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको छ।”
त्यस्तै मुरारकाले भने, “हामीले सुरु गरेको एक्स्पो केवल सवारी साधन र प्रविधिको प्रर्दशनी यो सफा, स्मार्ट र समावेशी यातायात प्रणाली तर्फको सामुहिक प्रतिवद्घताको सुरुवात हो । यो कार्यक्रम नेपालको मोविलिटी क्षेत्रको भविष्य निर्माण गर्ने साझा अभियान हो । आजबाट सुरु भएको ५ दिने एक्स्पो सफल बनाउन हामी तपाईहरुको निरन्तर साथ, सहयोग, र सहकार्यको अपेक्षा गर्दछौँ ।”
दर्शककाे उत्साहपूर्ण उपस्थितिसँगै अब प्रदर्शनी राति ८ बजेसम्म खुल्ने भएकाे छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि खुला हुनेछ ।





























प्रतिक्रिया