काठमाडौं । नेपालमा गाडी भनेपछि जमिनमा गुड्ने सवारी साधनको मात्र कल्पना गरिँदै आएको छ । तर नेपालको अटोमोबाइल इतिहासमा पहिलो पटक उड्ने कारको आगमन भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्न लागेको १७ औं संस्करणको नाडा अटो शो २०२५ को मुख्य आकर्षणका रुपमा चांगन अटोमोबाइलको सब–ब्रान्ड दीपलले बनाएको फ्लाइङ कार ‘दिपल ई–भोल्ट’ शोकेस गरिँदैछ । यो केवल एउटा प्रदर्शनी मात्र नभएर नेपालमा भविष्यको मोबिलिटीको सुरुवात भएको आयोजकले जनाएको छ ।
यो ऐतिहासिक क्षणलाई साकार बनाउन एमएडब्लू वृद्धिले अथक प्रयास गरेको छ । तातोपानी नाकातर्फको सडक गत साउनमा आएको बाढी र प्राकृतिक विपत्तिका कारण करिब दुई सातादेखि ठप्प हुँदा यो अत्याधुनिक प्रविधिको फ्लाइङ कारलाई नेपाल भित्र्याउन ठूलो चुनौती खडा भयो । यसलाई ट्रक वा कन्टेनरमा ल्याउने अवस्था नभएपछि मानिसले बोकेर उड्ने कार नेपाल भित्र्याएका हुन् ।
नाडा अटो शोमा प्रदर्शनीमा राखिने फ्लाइङ कारलाई प्राविधिक भाषामा इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ (ईभीटीओएल)फ्लाइङ कार भनिन्छ । यसको नाम ‘दिपल ई–भोल्ट’ हो । यो चांगनले ईह्याङ कम्पनीसँग मिलेर बनाएको हो । ईह्याङ, पाइलटबिना नै उडान गर्न सक्ने प्रविधिमा विश्वकै अग्रणी कम्पनी मानिन्छ । यसले चीनको सिभिल एभियसन एडमिनिस्ट्रेसनबाट उडानका लागि आवश्यक पर्ने सबै प्रमाणपत्रहरू प्राप्त गरिसकेको छ । यो कार स्वचालित रुपमा उडान भर्न सक्छ र यसका लागि कुनै चालकको आवश्यकता पर्दैन । यो विशेष गरी सहरी क्षेत्रको छोटो दूरीमा ट्राफिक जामबाट मुक्ति पाउनका लागि तयार पारिएको हो ।
प्रदर्शनीमा राखिने ईएच२१६–एस मोडलमा दुई जना मानिस बस्न मिल्ने आयोजकले जनाएको छ । यसको उचाइ १.९३ मिटर र चौडाई ५.७३ मिटर छ, र यसले अधिकतम ६२० केजीसम्मको भार बोक्न सक्छ । यसमा १६ वटा मोटर जडान गरिएको छ, जसले उडानलाई सुरक्षित र सहज बनाउँछ । एक पटकको पूर्ण चार्जमा यसले ३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले बताएको छ । यसको अधिकतम गति प्रति घण्टा १३० किलोमिटर छ । यसको उडान समय ४८ मिनेटको छ । फ्लाइङ कारमा रियल टाइम ४जी र ५जी कम्युनिकेसन सिस्टमका साथै अपग्रेड गरिएको सोलिड स्टेट ब्याट्री पनि रहेको छ । चांगनले यो प्रविधिमा आगामी ५ वर्षमा २० अर्ब युवान लगानी गर्ने योजना बनाएको छ, जसले यसलाई भविष्यको एक महत्वपूर्ण परियोजनाका रुपमा स्थापित गरेको छ ।
नेपालमा यो अवधारणा नयाँ भए पनि, विश्वका धेरै विकसित मुलुकहरूमा ईभीटीओएल फ्लाइङ कारमाथि अनुसन्धान र परीक्षण भइरहेका छन् । अमेरिका, चीन, युरोप, र मध्यपूर्वका केही देशहरूले यसलाई अर्बन एयर मोबिलिटीको रुपमा विकास गरिरहेका छन् । दुबईले सन् २०२६ सम्ममा फ्लाइङ ट्याक्सी सेवा सुरु गर्ने घोषणा गरिसकेको छ । यसको मुख्य उद्देश्य एयरपोर्टबाट शहरका मुख्य भागहरूमा यात्रुलाई छिटो र सहज तरिकाले पुर्याउनु हो ।
सामान्यतया, यसलाई स्मार्टफोन एपको माध्यमबाट बुक गरिन्छ, जसरी आजभोलि ट्याक्सी वा राइड–सेयरिङ सेवाहरू प्रयोग गरिन्छ । यसले एयरपोर्ट–टर्मिनल, शहरको एक भागबाट अर्को भागमा छोटो दूरीको यात्राका लागि क्रान्ति ल्याउने अपेक्षा गरिएको छ ।
फ्लाइङ कार मात्र नभएर नाडा अटो शोमा अर्को ठूलो आकर्षण युनिट्री कम्पनीको ह्युमनोइड रोबोट पनि हुनेछ । यो रोबोट पनि एमएडब्लू वृद्धिले नै नेपालमा बिक्रीका लागि ल्याउन लागेको हो । सन् २०२१ मा स्थापना भएको युनिट्री रोबोटिक्स कम्पनीले उच्च–प्रदर्शन भएका चार खुट्टे रोबोटरुको विकास र बिक्रीमा केन्द्रित छ । २०२४ मा कम्पनीले एच१ नामको ह्युमनोइड रोबोट बनाएको थियो । यो कम्पनीको अहिलेको बजार मूल्य १.७ अर्ब डलर पुगिसकेको छ । यसले रोबोटका लागि आवश्यक पर्ने मोटर, कन्ट्रोलर, लिडार जस्ता कोर कम्पोनेन्ट्सहरु आफैं उत्पादन गर्छ । नाडा अटो शोमा यी दुई अत्याधुनिक प्रविधिको प्रदर्शनीले नेपालीलाई भविष्यको झल्को दिनेछ ।
नेपालमा पहिलो पटक फ्लाइङ कार र ह्युमनोइड रोबोटको प्रदर्शनीले अटोमोबाइल क्षेत्रको दायरा फराकिलो बनाइदिएको छ ।





























प्रतिक्रिया