बैंकहरूले ग्रीन फाइनान्सिङमा प्राथमिकता दिएका छन् -उपाध्यक्ष सुरेन्द्रराज रेग्मी

बैंकहरूले ग्रीन फाइनान्सिङमा प्राथमिकता दिएका छन् -उपाध्यक्ष सुरेन्द्रराज रेग्मी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र राज रेग्मीले बैंकहरू विद्युतीय सवारी (ईभी) को फाइनान्सिङमा लगानी गर्न तयार रहेको बताएका छन्।

केन्द्रबिन्दु ईभी बज‍-पोलिसी डिस्कोर्स २०८२’अन्तर्गत “ईभी एडप्टेसन इन नेपाल –अपर्चुनिटी एन्ड च्यालेन्ज” शीर्षकमा भएकाे प्यानल डिस्कसनमा उनले ईभीको बढ्दो प्रयोग र सरकारी नीतिलाई सहयोग पुर्‍याउन बैंकहरूले ग्रीन फाइनान्सिङमा प्राथमिकता दिएको जानकारी दिएका हुन् ।

रेग्मीले नेपालमा ईभीको प्रयोग बढ्दै गएको तथ्याङ्क प्रस्तुत गरे । “१९९३ मा सफा टेम्पोबाट सुरु भएको ईभीको प्रयोग व्यक्तिगत सवारी साधनका रूपमा लेट २० मा आयो,” उनले भने। अहिले नेपालमा बिक्री हुने नयाँ गाडीमध्ये ७६ प्रतिशत ईभी रहेको र यो पेट्रोल/डिजेल (आईसीई) गाडीसँग ६०/४० को अनुपातमा रहेको उनको भनाइ छ।

उनले नर्वेको उदाहरण दिँदै त्यहाँ सन् २०२४ मा ८८.९ प्रतिशत ईभी बिक्री भएको र सन् २०२३ मा यो ८२ प्रतिशत रहेको जानकारी दिए।

बैंकको ऋण नीतिबारे बोल्दै उपाध्यक्ष रेग्मीले अहिले धेरै बैंकहरूले ईभीको लागि हायर पर्चेज फाइनान्समा लगानी गरिरहेको बताए। उनले भने, “समग्र हायर पर्चेज फाइनान्समा ईभीको हिस्सा २.५ प्रतिशत छ, जुन लगभग २०० बिलियन रुपैयाँको हाराहारीमा छ।” उनले सार्वजनिक यातायातका लागि ईभी खरिद गर्दा बैंकले ७० देखि ९० प्रतिशतसम्म ऋण दिने गरेको पनि जानकारी दिए।

उपाध्यक्ष रेग्मीले ईभी आयातले पेट्रोलियम पदार्थको आयात घटाउन मद्दत गरेको पनि बताए। “सन् २०२२-२३ मा ३०९.८७ बिलियन रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएकोमा गत वर्ष यो ७.३२ प्रतिशतले घटेको छ,” उनले भने। यो प्रवृत्तिले देशको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।

यसैगरी नेपालमा ७५० वटा चार्जिङ स्टेशनमध्ये २५० वटा मात्रै सक्रिय रहेको र ती पनि समान रूपमा वितरण नभएको उनले स्वीकार गरे। यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए।

उपाध्यक्ष रेग्मीले बैंकहरूले सन् २०२४ मा ग्रीन फाइनान्सिङ नीति लिएको र यसअन्तर्गत ईभी फाइनान्सिङमा मात्र ४ अर्ब रुपैयाँ लगानी गरेको बताए । उनले भविष्यमा राम्रो प्रस्ताव आएमा बैंकहरू सार्वजनिक ईभीमा ७० देखि ९० प्रतिशतसम्म लगानी गर्न तयार रहेको जानकारी दिए ।

Skip This
Skip This
Logo