काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगको मुख्य कारण यसको किफायती मूल्य रहेको बताएका छन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा आज भएकाे ‘केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’मा उनले ईभीले अटोमोबाइल क्षेत्रलाई नयाँ दिशा दिएको पनि उल्लेख गरे ।
अध्यक्ष चौधरीले सरकारले सवारी आयात मापदण्डबारे सुझाव माग्नु सकारात्मक भएको बताउँदै युरो ६ मा जाने सन्दर्भमा अचानक आएको निर्णयले अटोमोबाइल क्षेत्रमा केही अनिश्चितता बढाएको धारणा राखे । यद्यपि, एलसीमा दिइएको छुटले केही राहत मिलेको उनको भनाइ थियो।
“यसपालीको नाडा अटो शोले अटोमोबाइल क्षेत्र कति फराकिलो भएको छ भन्ने स्पष्ट देखाएको छ,” चौधरीले भने, “हामी उड्ने कारसम्म पुगेका छौँ। ईभीको बजार हिस्सा राम्रो हुँदाहुँदै पनि अबको बाटो के हो भन्नेमा स्पष्टताको खाँचो छ।” उनले सरकारी नीति अस्थिर नभएको र यसका लागि अर्थमन्त्रीलाई धन्यवाद पनि दिए।
अटोमोबाइल क्षेत्रलाई बिर्सेको दिनदेखि नै नेपालमा आर्थिक संकट सुरु भएको विगतको अनुभव सुनाउँदै अध्यक्ष चौधरीले अहिले सवारीसाधनलाई लक्जरी वस्तु नभई आवश्यकता को रूपमा हेर्नुपर्नेमा जोड दिए । मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नउकासे पनि तल नझारेकोमा उनले सन्तोष व्यक्त गरे ।































प्रतिक्रिया