कोष खडा गरेर भौतिक संरचना पुर्ननिर्माण गर्ने मन्त्री घिसिङको घोषणा

कोष खडा गरेर भौतिक संरचना पुर्ननिर्माण गर्ने मन्त्री घिसिङको घोषणा

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नवनियुक्त उर्जा तथा भौतिक योजनामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् । घिसिङले कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले कोषको बारेमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्ने बताए। उनले यो कोषमार्फत सरकारी भवन, सडक र पूर्वाधारको तत्कालीन मर्मत र दीर्घकालीन पुनर्निर्माण गर्ने बताए ।

घिसिङले भने, ‘आन्दोलनको हिंसाले अर्बौंको क्षति पुगेको छ । यसलाई छिटो सम्बोधन गर्न कोष स्थापना गरी दातृ संस्था, स्वयंसेवक र क्राउडफन्डिङबाट स्रोत जुटाउने छौं ।’

उनले एक साताभित्र क्षतिको पूर्ण मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना तयार गर्ने निर्देशन पनि दिए । देशका सातै प्रदेशमा रहेका सरकारी भवनहरु , राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको सन्दर्भ उल्लेख गर्दै घिसिङले यो कोषलाई पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयसमेत सम्हालेका घिसिङले यो घोषणालाई आफ्नो पहिलो निर्णय बनाएका छन् । ऊर्जाविद्हरूले यसलाई आर्थिक स्थिरता र पूर्वाधार विकासको लागि महत्वपूर्ण कदम ठानेका छन् ।

Logo