कोलम्बोमा एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपको सुरुवात

कोलम्बोमा एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपको सुरुवात

केन्द्रबिन्दु
45
Shares

काठमाडाैं । नेपाल लगायतका विश्वका हिन्दुहरु महान चाड बडादशैंमा व्यस्त हुने क्रममा रहेको समयमा एसिया प्यासिफिक क्षेत्रका मोटर स्पोर्ट्स पारखीहरु भने श्रीलंकाको कोलम्बोमा भइरहेको एक उत्सवमा सरिक भइरहेका छन् ।

नेपाली खेलकुदमा साहसिक खेलकुदले आफूलाई अब्बल सावित गरिरहेको यस घडीमा त्यसभित्रको खेल मोटर स्पोर्ट्सले एसियन लेभलमा आफूलाई प्रतिस्पर्धा गर्न लायक बनाइसकेको छ । राष्ट्रिय खेलकुद परिषदको स्वीकृति र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को व्यवस्थापनमा ६ जना नेपाली खेलाडी र १ जना अफिसियल हिजो सेप्टेम्बर २५ विहान कोलम्बो पुगिसकेका छन् ।

गत सेप्टेम्बर २४ मा काठमाडौंबाट नासा नेपालका अध्यक्ष दशरथ रिसाल, कार्यकारी निर्देशक गोविन्द भट्टराई तथा सचिवहरु सन्तोष न्यौपाने, दिप्रश शाक्य लगायतका पदाधिकारीहरुले उनीहरुलाई विदाई गरेका थिए ।

नासा अध्यक्ष रिसालले खेलाडीहरुलाई विदाई गर्दै अब नेपाली मोटर स्पोर्ट्सले एसियाली स्तरमा साँच्चिकै प्रतिस्पर्धा गर्न लायक बन्दै गरेकोमा खुसी व्यक्त गरे भने पछिल्लो समयमा नेपाली खेलाडीहरुको स्तर वृद्धिमा नासा नेपालको भूमिकाका लागि खेलाडीहरुले सन्तोष व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको धारणा अनुसार पनि ‘पछिल्लो दशकमा राखेपमा रहेका दर्जनौ खेल संघ मध्ये मोटर स्पोर्ट्सले सम्पूर्ण क्षेत्रमा आफूलाई स्थापित र सक्रिय बनाउन सफल भएको छ ।’

मोटर र मोटरसाइक्लिङ स्पोर्ट्स हुँदै मरिन स्पोर्ट्स देखि ड्रोन रेसिङ सम्म संलग्न नासा नेपालको साहसिक पर्यटन र सडक सुरक्षामा समेत संलग्न साँच्चिकै लोभलाग्दो रहेको सदस्य सचिव घिसिङको धारणा छ ।

श्रीलंकाको कोलम्बो पुगेका २५ देशका २१० ड्राइभरहरुले हिजो र आज रेसिङ अभ्यास गरिरहेका छन् भने आज र भोलि प्रारम्भिक चरणका रेसिङ हुनेछन् भने पर्सी फाइनल चरणका रेस सहित च्याम्पियनसिपको समापन हुनेछ ।

अन्तर्राष्ट्रिय अटोमोबाइल्स फेडेरेसन (एफआईए)को वार्षिक क्यालेण्डरमा इन्टरकन्टिनेन्टल गेम्सको मान्यताप्राप्त यस प्रतियोगितामा अटो–जिमखाना, क्रस–कार, अटोक्रस तथा ई–स्पोट्र्स विधामा नेपालबाट आशिष भारती, राजकुमार कार्की, बिपास्ना तामाङ, जय प्रताप मास्के, रबिन सुनुवार र रोशन अधिकारी गरी छ खेलाडी सहभागी भइरहेका छन् भने टिम म्यानेजरको रुपमा आशीष रौनियार रहेका छन् ।

ललितपुरका ३१ वर्षिय आशिष (रोनी) भारती फोर ह्विलर्स रेसिङमा नेपालका उत्कृष्ट खेलाडी हुन् । यस अघि मलेसियामा भएको एसिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिपमा पनि आशिष सहभागी भएका थिए । भारत र थाइल्यान्डमा २०१८, इन्डोेसियामा २०१९ र मलेसियामा २०२३ मा भएका अन्तर्राष्ट्रिय स्तरको अटो जिमखाना प्रतियोगितामा उनले भाग लिएका छन् । राष्ट्रिय प्रतियोगिताहरूमा भने अटो जिमखाना चितवन २०२३, टाइम अट्याक च्यालेन्ज २०२२, नेसनल अटोक्रस २०२४ र माउन्ट एभरेष्ट मोटरस्पोट्र्स फेस्टिभल २०२५ मा उपाधि जितेका छन् । उनको रमाइलो भनाइ छ, ‘म कार नै खान, पिउन र सुत्न सक्छु — यो मेरा लागि जीवनशैली हो ।’

नुवाकोटका २८ वर्षिय राजकुमार कार्की नेपालका चर्चित बाइक रेसर हुन् । उनी एक दशक भन्दा बढी समयदेखि यस खेलमा आबद्ध छन् । टु ह्विलर्स रेसिङका चर्चित खेलाडी उनी १० पटकभन्दा बढीका पोडियम होल्डर हुन्, जुन नेपालको लागि कीर्तिमान समेत हो । उनी विभिन्न अन्तर्राष्ट्रिय इभेन्टमा समेत सहभागी भइसकेका छन् । फोर ह्विलरमा भने उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।

चाँगुनारायण भक्तपुरकी २७ वर्षिया बिपास्ना तामाङ इभेन्ट होस्ट हुँदै मोटरस्पोट्र्समा लागेकी हुन् । केही समयअघि भएको बागमती अटो जिमखाना च्याम्पियनसिप नै उनको पहिलो राष्ट्रिय स्तरको इभेन्ट हो, जहाँ उनी दोसो भएकी थिइन् । उनको पहिलो सहभागिताले आगामी दिनमा अझै अब्बल प्रदर्शनको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

काठमाडौं बौद्धका २९ वर्षिय जय प्रताप मास्के खासमा सिम रेसिङका खेलाडी हुन् । उनले सन् २०२३ मा सिङ्गापुरमा आयोजित ओलम्पिक ई–स्पोट्र्स सिरिजमा नेपालका एक मात्र खेलाडीको रुपमा प्रतिनिधित्व गरिसकेका छन् । कोलम्बोमा भइरहेको अटोक्रस फम्र्याटको क्रसकार रेसमा उनले भाग लिदैछन् । क्रस कार इभेन्ट विश्वमै नौलो प्रतिस्पर्धा भएकोले यसमा नेपाली खेलाडीको पनि राम्रो सम्भावना रहेको विश्वास रहेको उनको भनाइ छ । उनी आफै नेपालमा सिम रेसिङको व्यवसाय पनि गर्छन् र भविष्यमा अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङ लिने, प्रो–ड्राइभर बन्ने र ट्रेनर बन्ने लक्ष्य रहेको बताउँछन् ।

बुढानीलकण्ठका २७ वर्षिय रबिन (रेहान) सुनवारले सन् २०२२ मा मुलपानीमा भएको टाइम अट्याक च्यालेन्जबाट मोटरस्पोट्र्समा यात्रा सुरु गरेका थिए । उनले सन् २०२४ मा चन्द्रागिरीमा भएको अटोक्रसमा चौथो स्थान हात पारेका थिए । त्यस्तै अन्य इभेन्टमा समेत उनले उपाधि हासिल गरेका छन् । सानै उमेरदेखि रेसमा रुचि राख्ने रबिनले पहिलो पटक अन्तर्राष्ट्रिय इभेन्टमा सहभागिता जनाउन लागेका हुन् । यसका लागि उनी निकै उत्साहित छन् ।

कास्कीका २५ वर्षीय रोशन अधिकारीले आफ्नो मोटरस्पोट्र्स यात्रा सन् २०१८ मा भारतको कोयम्बटुरमा फर्मुला फोर्डमार्फत सुरु गरेका हुन् । ट्रर्याकमा रेसिङसँगै उनले ई–स्पोट्र्स तर्फ रुचि बढाउँदै सन् २०२२ देखि अष्ट्रेलियाका स्थानीय इभेन्टहरुमा प्रतिस्पर्धा गर्दै आएका छन् । हाल सिड्नी मोटरस्पोर्ट क्लबका अधिकृत समेत भएकाले उनलाई अन्तर्राष्ट्रिय मोटरस्पोट्र्स समुदायसँग नजिक हुन मद्दत गरेको छ ।

पहिलो पटक एसिया–प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिप जस्तो अफिसियल इभेन्टमा सहभागी हुन लागेका उनले श्रीलङ्कामा हुने प्रतियोगितालाई आफ्नो करियरमा ठूलो अवसरका रूपमा लिएका छन् । हाल अष्ट्रेलियामा बसोबास गर्ने रोशन विभिन्न ई–स्पोर्टस् प्रतियोगितामा भाग लिएर राम्रो प्रदर्शनी गर्दै आएका छन् र श्रीलङ्का आउने अन्तर्राष्ट्रिय खेलाडीहरुलाई टक्कर दिने अनुमान गरिएको छ ।

एसिया प्यासिफिक मोटर स्पोट्र्स च्याम्पियनसिप ओलम्पिक शैलीमा आयोजना हुने एसिया प्यासिफिक क्षेत्रको सबैभन्दा ठूलो मोटर स्पोट्र्सको प्रतियोगिता हो । सन् २०२३ मा मलेसियाको सेपाङ अन्तर्राष्ट्रिय सर्किटबाट सुरु भएको यस च्याम्पियनसिपको दोस्रो संस्करण आज सुरु भई २८ सेप्टेम्बरमा श्रीलङ्काको कोलम्बो स्थित श्रीलङ्का कार्टिङ सर्किटमा सम्पन्न हुनेछ ।

मोटरसाइक्लिङ रेसिङ अत्यन्तै लोकप्रिय रहेको देश नेपालमा मोटर स्पोर्ट्सका भने अटो जिमखाना, अटोक्रस र कार्टिङका इभेन्टहरु प्रचलित छन् भने टीएसडी र्याली र टुरिङ खेल पर्यटनको समेत पर्याय बन्दै गएका छन् ।

Logo