काठमाडौँ। काठमाडौँमा नक्कली नोटको कारोबार उजागर गर्दै प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानले नोट सीमापार सञ्जालमार्फत राजधानीसम्म ल्याइएको देखाएको छ ।
पुस १२ गते, बौद्ध चुच्चेपाटीस्थित लिनिङ स्टोरमा दावा नोर्बु शेर्पाले हजारका १५ थान नोट प्रयोग गरी जुत्ता र मोजा किने। पसलेले नोट शंकास्पद देखेपछि सामाजिक सञ्जालमा भिडियो पोस्ट गरे, जसपछि प्रहरीको ध्यान सो घटनातर्फ गएको थियो।
त्यसै क्रममा, एक ट्याक्सी चालकले प्रहरी वृत्त गौशालामा उजुरी दिए कि भाडा तिर्दा उनलाई नक्कली नोट प्राप्त भएको थियो। प्रारम्भिक अनुसन्धानले जुत्ता पसल र ट्याक्सीमा प्रयोग भएको नोट एउटै समूहसँग सम्बन्धित रहेको पुष्टि ग¥यो।
जिल्ला प्रहरी परिसर काठमाडौँ र बौद्ध प्रहरी वृत्तको समन्वयमा पुस १६ मा गोकर्णेश्वर–८, अत्तरखेलबाट ६ जनालाई नियन्त्रणमा लिइयो। पक्राउ पर्नेमा दावा नोर्बु शेर्पा (३२), पासाङ शेर्पा (४४), प्रकाश गुरुङ (३२), रेणुका भारती (४२), गोकर्ण थापा (६५), र सुक बहादुर स्याङ्बो (४३) रहेका छन्।
अनुसन्धानका क्रममा अहिलेसम्म ९३ थान हजार दरका नक्कली नोट बरामद गरिएको छ । प्रारम्भिक जानकारी अनुसार उनीहरूले फर्जी नोट प्रयोग गरेर रिचार्ज कार्ड समेत खरिद गरेका थिए ।
सातौँ आरोपी गौरीशंकर यादव, सुमो चालक, बाराबाट पक्राउ परेका छन्। यादवले बयान दिएका छन् कि उनले रक्सौलबाट ९ लाख रुपैयाँ बराबरको नक्कली नोट काठमाडौँ ल्याएका थिए। नोट बापत थापा दाइले यादवलाई आईएमईमार्फत २ लाख ७० हजार रुपैयाँ पठाएका थिए। यादवले रक्सौलमा नोट दिने व्यक्तिलाई व्यक्तिगत रूपमा नचिनेको बताए ।
प्रहरीका अनुसार यो प्रकरण व्यक्तिगत नभई संगठित र सीमापार नेटवर्कमार्फत सञ्चालन भएको देखिन्छ। अनुसन्धान अझै जारी छ र नेटवर्कको सम्पूर्ण रेखाङ्कन भइरहेको छ ।





























प्रतिक्रिया