राजनीतिमा होहल्ला, किसानको फल बोटमै अलपत्र

राजनीतिमा होहल्ला, किसानको फल बोटमै अलपत्र

केन्द्रबिन्दु
30
Shares

मन्थली। मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्तामा छन् ।

विगतको तुलनामा यस वर्ष जुनार उत्पादनमा केही कमी आए पनि बेमौसममा बिक्री गर्दा राम्रो मूल्य आउने आशामा किसानहरू छन् । उनीहरूले अझै जुनार र सुन्तला बोटमै राखेका छन् । मुख्यतः मङ्सिरदेखि माघको पहिलो हप्ताभित्र जुनार टिपिसक्ने मौसम भए पनि केही कृषकले बिक्री गरिसकेका छन् भने ओख्रेनीका अधिकांश किसानले राम्रो मूल्य पाइने अपेक्षामा बगैँचामै राखेका हुन् ।

करिब पाँच सय बोटमा फलेको आफ्नो बगैँचाको जुनार राम्रो भाउ पाएपछि मात्र बिक्री गर्ने योजनामा अहिलेसम्म नटिपेको स्थानीय कृषक हिमाल तामाङले भने, “हामीलाई अहिले चुनावको रौनकभन्दा बोटमै पाकेको जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्ताले सताएको छ ।”

यस वर्ष गत असोज र कात्तिकमा परेको लगातारको वर्षाका कारण उत्पादनमा केही गिरावट आएको छ । गत मङ्सिर–पुसतिर बगैँचाबाट बिक्री गर्दा प्रतिकिलो ५० रुपैयाँ मात्र पाएकोमा अहिले दानाको आकार हेरेर ६० देखि ९० रुपैयाँसम्म बिक्री हुने स्थानीय कृषक दिलमाया तामाङले बताइन् । “जति पछि बेच्यो त्यति बढी पैसा आउने आशाले अहिलेसम्म जुनार बोटमै राखेका छौँ, तर अब प्रतिकिलो ६०–७० रुपैयाँमा बिक्री गर्ने तयारी छ,” उनले भनिन् ।

जुनारले बिरुवा रोपेको दुईदेखि तीन वर्षमै उत्पादन दिन सुरु गर्छ । जुनार बगैँचाभित्र भटमास, लसुन, प्याज, काउली, बन्दालगायतका कोसे तथा तरकारीबाली लगाएर कृषकहरूले दोहोरो आम्दानी लिने गरेका छन् । सिजन अफ भएपछि बिक्री गर्दा राम्रो मूल्य पाइने आशामा आफूले पनि जुनार बिक्री नगरेको अर्का कृषक गिरीराज तामाङले बताए ।

जुनारबाट जाम, जुस र अन्य पेयपदार्थसमेत बनाएर बिक्री गर्ने गरिएको छ । जुनारको बजार समस्या खासै नभएको रामेछाप नगरपालिका–७ सुकाजोरका कृषक रामकुमार कार्कीले बताए । बेमौसममा मूल्य पाइनु स्वाभाविक भए पनि माघ महिनाको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म जुनार फुल्ने भएकाले मूल्य आउने आशामा बोटमै राख्नु राम्रो नहुने जुनार जोन समन्वय समितिका प्राविधिकहरूको भनाइ छ ।

जुनारमा फूल फुल्ने बेलासम्म बोटमै फल राख्दा अर्को वर्षका लागि फुल्ने फूलमा असर पर्ने भएकाले समयमै टिपेर चिस्यान गृहमा राखी बिक्री गर्दा कृषकलाई फाइदा हुने जुनार जोन समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्कीले सुझाव दिए ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछापले मन्थली, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकालाई जुनार जोनका रूपमा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जिल्लामा गत आर्थिक वर्ष २०८१÷८२ मा ५८० हेक्टरमा जुनार खेती भएकामा चालु आर्थिक वर्षमा रामेछाप र मन्थली नगरपालिका तथा लिखु तामाकोशी गाउँपालिकासहित ६८० हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रामेछापकी नायब प्राविधिक सहायक भवानी बस्नेतले जानकारी दिइन् । उनका अनुसार प्राविधिक हिसाबले माघ–फागुनसम्म जुनार बोटमै राख्नु उपयुक्त हुँदैन ।

हरेक जुनार उत्पादन हुने टोलमा शीत भण्डारको व्यवस्था गरी सिजनमा त्यहाँ राख्ने र बेमौसममा बिक्री गर्न सके कृषकलाई फाइदा पुग्ने स्थानीय लोकेन्द्र श्रेष्ठले बताए ।

Logo