महासंघको महाभिडन्तः होला तिहारपछि सहमति ? (भिडियाेसहित)

महासंघको महाभिडन्तः होला तिहारपछि सहमति ? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिजिँकै गर्दा महासंघ सहमतिमा उमेद्वार छान्ने तयारीमा जुटेको छ ।

महासंघले कोरोना संक्रमणका बेला सहमति गरेर उमेद्वारहरु छान्दा संक्रमणबाट पनि बचिने र महासंघलाई पनि उपयुक्त हुने निष्कर्ष निकाल्दै सहमतिको प्रयास गरिरहेको छ । महासंघले सहमति जुटाउन पूर्वअध्यक्षहरुलाई जिम्मा दिएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिसकेका छन् । ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधी तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र सांघाईले उमेदवारी दिएका छन् ।

त्यस्तै, प्रधान समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षतर्फ सौरभ ज्योतीले उमेदवारी दिएका छन् । किशोर प्रधानको प्यानललाई वर्तमान अध्यक्ष भवानी राणा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा पूर्व अध्यक्षहरुले समेत बलियो साथ दिएका छन् ।

ढकाल र प्रधान दुबै प्यानल सहमतिका लागि सकारात्मक छन् । दुवै पक्षबाट सहमतिको पहल गरिएको छ । सहमति हुनेमा प्रधान पक्ष ढुक्क छन् । ढकाल पक्ष पनि सहमतिमा विश्वास राख्दछ । सहमतिमा प्रधानलाई वरिष्ठ उपाध्यक्ष बनाउँदा महासंघमा लामो समय आवद्ध आएको अनुभवका कारण पनि अध्यक्षका रुपमा रहने गोल्छालाई काम गर्न सहज हुनेछ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । सोही व्यवस्थाका कारण हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा मंसिर १३ गतेपछि स्वतः अध्यक्ष बन्दैछन् । आफूलाई काम गर्ने सहज वातावरण होस् भनेर गोल्छाले प्रधानको प्यानललाई सपोर्ट गरेका छन् ।

प्रधानका हरेक कार्यक्रममा गोल्छा सरिक भएका छन् । गोल्छा र प्रधानसहितको टिमले महासंघलाई राजनीतिकरणबाट बचाउने तथा आर्थिक विकासका लागि काम गर्ने बाचा गरेको छ । उनीहरुको बाचा कतिसम्म पूरा हुन्छ, त्यो त हेर्न बाँकी नै छ । प्रधान महासंघमा २०/२५ वर्ष आवद्ध रहेकाले कुनै पनि हालतमा महासंघको निर्वाचन जित्ने दाबी गरेका छन् । आफूलाई आर्थिक मामलामा कमजोर देखाएर मनोबल गिराउने प्रयास गरेपनि आफूले जितेर देखाउने दाबी प्रधानको छ ।

यता ढकाल समूहको पनि हुंकार कम छैन । महासंघको नेतृत्व गर्न अनुभवले मात्रै नहुने भन्दै हरेक तहका साना ठूला व्यवसायीका समस्या बुझ्न सक्नु पर्नेमा ढकालको जोड छ । आफूले सानो व्यवसायदेखि व्यवसायिक यात्रा सुरु गरेकाले सबै तहका व्यवसायीका समस्या बुझेको र ती समस्यालाई सरकारी स्तरसम्म सजिलै आफूले लैजाने र छलफल गर्न सक्ने क्षमता आफूमा भएको पटक पटक दोहोर्याउँदै आएका छन् । स्रोतका अनुसार अन्तिम समयमा प्रधान पछि हट्ने र ढकाल पक्षमा सहमति जुट्ने समेत बताइएको छ ।

ढकाललाई एक्ल्याएर प्रधानलाई साथ दिएका पूर्वअध्यक्षहरुले समेत अन्तिम समयमा ढकाललाई नै समर्थन गर्ने स्रोतको दाबी छ । यद्धपि, अध्यक्षहरुले टुंगो भने लगाउनै बाँकी छ । पूर्व अध्यक्ष कुशकुमार जोशीले सहमति भएर छाड्ने बताए । आफूहरु सहमतिका लागि प्रयास गरिरहेको र तिहार लगत्तै सहमति हुनेमा जोशीको जोड थियो भने महासंघ तथा उमेद्वार सबैलाई राम्रो हुने महासंघमा उमेद्वारी दिएका एक उमेद्वारले भने ।

महासंघमा सहमतिकै लागि तिब्ररुपमा छलफल भइरहेको छ । महासंघको भावी नेतृत्व, को कत्तिको सक्षम छ त ? यसका विषयमा पनि हामीले केही चर्चा गर्ने प्रयास गरेका छौँ ।

ढकालले ‘समृद्धिको आधार राज्य निजी क्षेत्र साझेदार’ भन्ने नारालाई आफ्नो उमेदवारीको प्रमुख एजेण्डा बनाएका छन् । उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोकारवाला र साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, एक र एक जोडेर एघार बनाउने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । उनले मुलुकको आर्थिक विकासको लागि निजी क्षेत्रमा अनवरत काम गरिसकेका छन् । ५० वर्षभन्दा लामो इतिहास बोकेको महासंघको गरिमा बढाउनको लागि मन, बचन र कर्मले लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले महासंघलाई सबै प्रकार र स्तरका उद्यमी व्यवसायीको साझा चौतारी बनाउने संकल्प यसअघि नै गरिसकेका छन् । आर्थिक हिसावले प्रधान भन्दा ढकाल बलिया व्यक्ति हुन् । त्यसैले पनि ढकालको जीत निश्चित भएको बताइन्छ । ढकाल नेपालको सबैभन्दा ठूलो व्यवसायीक संजाल जोड्न सफल भएका व्यक्ति हुन् ।

करिब दुई दशक अघि आइएमइ स्थापना गरेर व्यवसाय सुरु गरेका ढकाल मुलुककै सफल र स्थापित उद्यमी मानिन्छन् । ढकालको व्यवसायिक यात्रा आइएमइबाट सुरु भएर बैंक, वित्तीय संस्था, बीमा, केवलकार, जलविद्युत तथा सेवा क्षेत्र सम्म विस्तार भएको छ । ढकालले महामारीले संकटमा परेका साना तथा मझौला व्यवसाय बचाउन महासंघको नेतृत्व सक्षम हुनु पर्ने र यस्ता व्यवसाय बचाउन आफ्नो समुह सक्षम रहेकाले व्यवसायीक क्षेत्रलाई चलायमान बनाएर देशको अर्थतन्त्रलाई माथि उकास्न सहयोगी भूमिका खेल्ले समेत बताएका छन् ।

यस आधारमा हेर्ने हो भने ढकालले महासंघको वरिष्ठ उपाध्यक्षको पदमा बाजी मार्ने सम्भावना बढी देखिन्छ । उनी छोटो समयमा मेहनतले व्यवसायिक संजाल विस्तार गर्न सक्षम उद्योगी तथा व्यवसायी हुन् । उनले सानो व्यवसायदेखि मुलुकैभरी व्यवसायिक संजाल विस्तार गर्न सफल भएकाले हरेक तहका व्यवसायीका समस्यालाई सजिलैसँग बुझेका छन् । उनी आर्थिक रुपमा पनि बलिया भएकाले महासंघको नेतृत्व गर्दा महासंघलाई सहयोग हुने देखिन्छ । तर उनलाई आर्थिक र राजनीतिक दम्ब देखाएको आरोप पनि लाग्ने गरेको छ । उपाध्यक्ष ढकाल महासंघमा आवद्ध भएको लामो समय भएको छैन । त्यसैले उनीसँग महासंघको नेतृत्व गर्न अनुभवको भने कमी नै छ । ढकाललाई पूर्वअध्यक्ष चण्डीराज ढकाल बाहेक अरु कसैको साथ छैन । तैपनि चुनाव जितेरै छाड्ने उनको अडान भने दम्दार नै छ । ढकालको मुलुकैभरी व्यवसायको संजाल भएकाले महासंघमा धेरै समय दिन र काम गर्न नसक्ने देखिन्छ ।

त्यसैगरी, प्रधान २०/२५ वर्ष महासंघमा आवद्ध रहेका छन् । उनलाई वस्तुगत तथा जिल्ला/नगरका तर्फबाट पनि सहयोग र समर्थन छ भने वर्तमान अध्यक्ष सहित पूर्वअध्यक्षहरुको टिमले पनि प्रधानलाई सहयोग गर्दैछ । वर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा पूर्वअध्यक्षहरुको पूर्ण साथ रहेकाले प्रधान पनि उस्तै बलिया छन् महासंघको निर्वाचनका लागि । सहयोग र समर्थनका आधारमा हेर्ने हो भने प्रधानले वरिष्ठ उपाध्यक्षमा बाजी मार्ने देखिन्छ । महासंघमा हुने गरेको चरम राजनीतिकरणको अन्त्य र महासंघको शाख जोगाउन आफूले उमेद्वारी दिएको उपाध्यक्ष प्रधानले बताउँदै आएका छन् ।

प्रधान लामो समय महासंघसँग आवद्ध भएकाले उनीसँग उद्योग व्यवसाय क्षेत्रको लामो अनुभव छ । अनुभवकै आधारमा उनी महासंघको नेतृत्व गर्न योग्य उमेद्वार हुन् । प्रधानको बस्तुगत तथा जिल्ला/नगरमा राम्रो पकड पनि छ । प्रधान आर्थिक रुपमा भने ढकाल भन्दा केही कमजोर छन् । प्रधानलाई महासंघ अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा अधिकांश पूर्वअध्यक्षहरुले साथ दिएका छन् । यस अर्थमा उनलाई महासंघको निर्वाचनका लागि सबल उमेद्वार मानिन्छ । प्रधान महासंघको कामका लागि धेरै समय दिन सक्ने व्यक्तित्व हुन् ।

Logo