नेपाललाई ऊर्जा निर्यातक राष्ट्र बनाउने लक्ष्यसहित महासंघको केन्द्रीय सदस्यमा बटु लामिछानेको उम्मेदवारी

नेपाललाई ऊर्जा निर्यातक राष्ट्र बनाउने लक्ष्यसहित महासंघको केन्द्रीय सदस्यमा बटु लामिछानेको उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्थापित हाइड्रो उद्यमी बटु लामिछानेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। जलविद्युत् क्षेत्रमा साढे दुई दशक लामो अनुभव सम्हालेका लामिछानेले एसोसिएट तर्फ ज्याेत्सना श्रेष्ठकाे प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।

लगानीमैत्री वातावरण निर्माण र नीतिगत अड्चन हटाउनु नै आफ्नाे पहिलो प्राथमिकता रहने लामिछानेकाे भनाइ छ ।

बैंक तथा महालेखाको सेवाबाट व्यावसायिक यात्रा सुरु गरेका लामिछाने हाल जलविद्युत् क्षेत्रका प्रभावशाली व्यक्तित्व हुन्। उनको नेतृत्व र साझेदारीमा हालसम्म ५०० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरू सम्पन्न तथा निर्माणाधीन अवस्थामा रहेका छन्। ऊर्जा क्षेत्रको विकासका लागि प्रसारण लाइन विस्तार र नीतिगत सुधारमा उनले लामो समयदेखि वकालत गर्दै आएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका पूर्व कार्यसमिति सदस्य समेत रहेका लामिछानेले ऊर्जा क्षेत्रमा विद्यमान पीपीए, वन क्षेत्रको अनुमति र जग्गा प्राप्ति जस्ता प्रक्रियागत झन्झट हटाउन महासंघमार्फत सरकारसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले महासंघलाई केवल उद्योगीहरूको संस्था मात्र नभई व्यवसायमैत्री नीति निर्माणको बलियो संयन्त्र बनाउने लक्ष्य राखेका छन्। वस्तुगत संघहरूको सुदृढीकरण र निजी क्षेत्रका समस्याहरूको सामूहिक समाधानलाई उनले आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।

लामिछानेले वर्तमान अध्यक्ष चन्द्र ढकाल नेतृत्वको प्यानलसँग निकट रहेर चुनावी मैदानमा उत्रिएका हुन्। वर्तमान कार्यसमितिको सकारात्मक कामको निरन्तरता र निजी क्षेत्रको सशक्तिकरणका लागि आफ्नो उम्मेदवारी रहेको उनले स्पष्ट पारेका छन्।नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउँदै अतिरिक्त बिजुली निर्यातमार्फत देशलाई आर्थिक लाभ दिलाउने हिम्मतका साथ आफू महासंघको केन्द्रीय नेतृत्वमा पुग्न चाहेको लामिछानेको दाबी छ।

Logo