गगनपछि प्रकाशमानले खोले मुख, देउवाको राजिनामा माग

गगनपछि प्रकाशमानले खोले मुख, देउवाको राजिनामा माग


केन्द्रबिन्दु सम्वाददाता ।

काठमाडौँ, २९ मङ्सिर । काठमाडौँ क्षेत्र नम्बर १ बाट बिजयी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले व्यक्तिका कारण पार्टी हारेको भन्दै टिप्पणी गरेका छन् । नेपाली कांग्रेस, काठमाडौँ क्षेत्र नं १ ले शुक्रबार आयोजना गरेको ‘भेटघाट तथा धन्यवाद कार्यक्रम’मा नेता सिंहले पार्टीको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने बताएका हुन् । 

विश्वमा पार्टी हार्दा नेतृत्वले राजिनामा दिने चलन रहेको भन्दै नेता सिंहले नेपालमा पनि यो सस्कारको बिकास हुनुपर्ने बताएका हुन् । हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी हारेको भन्दै उनले अब कमजोरी स्वीकार्दै अघि बढ्नुपर्ने बताए ।

तीनपटक प्रतिनिधिसभामा जाने अवसर दिएको भन्दै मतदातालाई धन्यवाद दिंदै नेता सिंहले आफु मुलुक निर्माण गर्नका लागि राजनीतिमा लागेको बताए । एक प्रसंगमा नेता सिंहले आफ्नो पार्टी अब प्रतिपक्षमा बसेर खबरदारी गर्ने पनि बताए ।

यस अघि काठमाडौँ क्षेत्र न ४ बाट बिजयी नेता गगन थापाले अब पनि नेतृत्व नसुध्रिए युवा नेताहरुले हस्तक्षेप गर्ने बताएका थिए ।

Logo