आकासियो तरकारीको मूल्य,सिजनमा पनि घटेन

आकासियो तरकारीको मूल्य,सिजनमा पनि घटेन

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु संवाददाता । काठमाडौं, २० मंसिर ।

गत साउनको बाढीपछि आकासिएको तरकारीको मुल्य ओरालो झर्न सकेन । यो तरकारीको सिजन भए पनि बजार मुल्य अझै चुलिदै गएको छ । स्वाद र भेराइटीका लागि खाइने प्याज र टमाटर किनिसक्नु छैन ।

कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको तथ्याङकअनुसार केही दिनअघि प्याजको मूल्य कालिमाटीमा ९९ रुपैयाँ प्रतिकेजी पुगेको थियो भने खुद्रा मुल्य एक सय दशदेखि एक सय बिस रुपैयाँसम्म थियो । कालीमाटी तरकारी बजारमा भने आज प्याजको मूल्य प्रतिकेजी ८८ रुपैयाँ छ ।

गोलभेडा केही दिनअघि ८८ रुपैयाँ प्रति केजी कालिमाटीमै विक्री भैरहेकोमा अहिले बढेर ९८ रुपैयाँ प्रतिकेजी पुगेको छ । खुद्रा पसल तथा तरकारी बजारमा गोलभेडाको मूल्य प्रतिकेजी १ सय १० देखि १ सय ४० रुपैयाँसम्म पुगेको छ ।

प्याजको मूल्य भने अहिले बजारमा प्रतिकेजी १ सय रुपैयाँदेखि १ सय १० रुपैयाँमा विक्री भैरहेको छ ।

यस्तै बजारमा गोलभेडाको मूल्य मात्र बढेको छैन । जताततै हुने सजिनको तरकारी रायोको सागसमेत एक सय रुपैयाँ किलो छ । पछिल्लो समय कालिमाटी बजारमा बोडि, मटरकोशा, परवल, लौका, भिण्डी, बकूला, खुर्सानी, भेडे खुर्सानी र हरियो लसुनजस्ता अधिकांश तरकारीको मूल्य बढेको छ ।

मटरकोशा प्रतिकेजी ८८ रुपैयाँबाट बढेर १ सय १५ रुपैयाँ पुगिसकेको छ । परवल ५८ रुपैयाँ प्रतिकेजीबाट बढेर ९३ रुपैयाँमा पुगेको छ । कालिमाटी बजारमा भिण्डी ७८ रुपैयाँ प्रतिकेजीबाट बढेर ९८ रुपैयाँमा पुगेको छ । बकुला ८५ रुपैयाँ प्रतिकेजीबाट बढेर ९५ रुपैयाँमा पुगेको छ । यस्तै हरियो खुर्सानी ७८ रुपैयाँ प्रतिकेजीमा विक्री हुने गथ्र्याे भने अहिले ९२ रुपैयाँ पुगेको छ । भेडे खुर्सानी ८८ रुपैयाँ प्रतिकेजीबाट बढेर ९८ रुपैयाँ प्रतिकेजीमा विक्री हुँदैछ ।

हरियो लसुन प्रतिकेजी १ सय १५ रुपैयाँबाट बढेर १ सय ५५ रुपैयाँ प्रतिकेजी पुगेको कालिमाटी बजारले जनाएको छ । यो सबै तरकारीको थोक मूल्य हो । खुद्रा मूल्य भने मन लाग्दी नै हुने भएकाले उपभोक्ताले महंगो मूल्यमा तरकारी खरिद गर्न बाध्यछन् ।

यो मौसम तरकारीका लागि उपयुक्त मौसम हो । अहिले जुनसुकै क्षेत्रमा तरकारी उब्जाउन सकिन्छ । उपत्यकामा तराइबाट जति मात्रामा तरकारी आउनुपर्ने हो, त्यति मात्रामा तरकारी नआएको कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको भनाइ छ ।

तराइमा साउनमा आउको वाढीका कारण पनि धान रोपाइ ढिला भएकोले तरकारी उब्जाउन पनि ढिला भएको हुन सक्ने व्यवसायीको भनाइ छ । जसका कारण पनि तरकारी मूल्य नघटेको बताइन्छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका उपनिर्देशक तथा सूचना अधिकृत विनय श्रेष्ठले चुनावले गर्दा १÷२ दिन तरकारीको मूल्यमा उतार चढाव आउने बताएका छन् ।
चुनाबका कारण पनि तरकारीको भाएमा उतार चढाव आएको व्यवसायीहरु बताउँछन् ।

चुनाबका कारण भोलि कालिमाटी बजारको कारोबार बन्द हुने भएकोले व्यापारीहरुले आजै भोलिसम्मका लागि तरकारी खरिद गर्ने हुँदा भोलि तरकारीको मूल्य झन चुलिने अनुमान गरिएको छ ।

Logo