दशैंपछि उपत्यकामा तरकारीको मूल्य ६० प्रतिशतसम्म घट्यो

दशैंपछि उपत्यकामा तरकारीको मूल्य ६० प्रतिशतसम्म घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना भाइरस संक्रमण देखा परेको करिव तीन महिनासम्म सस्तिएको तरकारीको मूल्य त्यसपछि विगत ६ वर्ष यताकै महंगो हुँदै गएको थियो । कोरोना भाइरसको प्रभाव तथा त्यसबिचमा बाढी पहिरोको कारण नेपाली बजारमा तरकारीको मूल्य छोइ नसक्नु भएको थियो ।

बजारमा तरकारीको मूल्य बढ्दै जाँदा सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ६ महिनासम्म लगाएको लकडाउन र निषेधाज्ञाले रोजगारी गुमाएर बेरोजगार भएका उपभोक्ताको ढाड सेकिएको थियो । एकातिर रोजगारी गुमाएर आर्थिक अवस्था कमजोर भएको र अर्कातिर दैनिक उपभोग्य तरकारीको मूल्य आकाशिएकाले नागरिकहरु दोहोरो मारमा परेका थिए ।

एक महिना अघि १०० प्रतिशत भन्दामाथि तरकारीको मूल्यबृद्धी भएकोमा दशैंपछि धेरै जसो तरकारीको मूल्य लगातार रुपमा घट्दै गएको छ । अहिले बजारमा उपभोक्ताले सबैभन्दा बढी उपभोग गर्ने तर अत्यन्तै महंगो तरकारीको रुपमा देखापरेको आलु, गाजर, मुला, काउली, बरेला, रायो साग, भण्टा र टमाटर लगायतको मूल्य केही मात्रामा घटेको छ ।

यसरी पछिल्ला केही दिनदेखि बजारमा छुनै नसक्ने गरि मूल्यबृद्धी भएको तरकारीमा अहिले मूल्य घटेपछि कोरोना महामारीको मारमा परिरहेका तथा आर्थिक अभावमा परिरहेका उपभोक्तालाई थारै भए पनि राहत महसुश भएको देखिन्छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार पछिल्लो समय एक्कासी आकाशिएको तरकारीको मूल्य घट्दै जानुको मुख्य कारण नेपालमा तरकारीको सिजन सुरु भएकाले हो । उनले भने,‘दशैं अघिसम्म बजारमा प्रतिकेजी सयभन्दा कमको कुनै पनि तरकारी पाउन मुस्किल थियो । तर अहिले तरकारीको मूल्य घटेर बजारमा सय रुपैयाँ भन्दा कमका तरकारी सहजै पाउन थालिएको छ ।’

दशैं अघि कालीमाटी तरकारी बजारमा तरकारीको आपूर्ति कम भएकाले केही तरकारीको सिजन हुँदा पनि महंगो भएको थियो । तर अहिले धेरै तरकारीको सिजन रहेको र आपूर्ति पनि बढ्दै गएकाले तरकारीको मूल्य घट्दै गएको उनको भनाइ छ ।

सुचना अधिकारी श्रेष्ठका अनुसार दशैंपछि कालीमाटी बजारमा दैनिक पाँच सय टन तरकारी आयात भइरहेको छ । दशैंको बेलासम्म दैनिक पाँच सयदेखि ६ सय टन तरकारी आयात हुनेमा दशैंसम्म दुई सय टनभन्दा बढी तरकारी कालीमाटी बजार आउन सकेको थिएन । त्यसैले बजारमा तरकारीको माग पनि बढी भएकाले तरकारीको मूल्य बढेको थियो ।

अहिले बजारमा तरकारीको आपूर्ति बढ्ने बित्तिकै मूल्य घट्न थालेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अहिले बजारमा सस्तो भएका तरकारीको मूल्य एक साताको अवधिमा करिव ६० प्रतिशतले घटेको छ ।

रातो आलु प्रतिकिलो ३३ रुपैयाँले घटेर ७६ रुपैयाँमा बिक्री भइरेहको छ भने गोलभेँडा प्रतिकिलो १० रुपैयाँ घटेर ६८ रुपैयाँमा आएको छ । त्यस्तै सेतो आलु ३० रुपैयाँ घटेर ६८ रुपैयाँमा, भारतीय प्याज किलोमा ११ रुपैयाँ घटेर १२२ रुपैयाँमा, चिनियाँ प्याज किलोमा ५६ रुपैयाँ घटेर ७३ रुपैयाँमा र गाजर किलोमा ५८ रुपैयाँ घटेर ९७ रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मूला किलोमा १० रुपैयाँ घटेर १९ रुपैयाँ, बरेला १५ घटेर १८ रुपैयाँमा, काउली किलोमा १३ रुपैयाँले घटेर ७४ रुपैयाँ, भन्टा किलोमा २० रुपैयाँ घटेर २८ रुपैयाँ, घिउ सिमी किलोमा १० रुपैयाँ घटेर २३ मा बिक्री भइरहेको समितिले जनाएको छ ।

त्यस्तै केही तरकारीको भने मूल्यबृद्धी भएर महंगो भएको छ । यी तरकारी महंगो हुनेका कारण भने सिजन सकिएकाले यी तरकारीमा ८० प्रतिशतसम्म मूल्यबृद्धी भएको पाइन्छ । घिरौला, लौका, तने बोडी, बन्दा, ,मकै बोडी, परवरको मूल्य बढेको छ ।

Logo