ऊर्जामन्त्री श्रेष्ठले सञ्चालन गराए मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन

ऊर्जामन्त्री श्रेष्ठले सञ्चालन गराए मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएको छ। ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा शनिबार दिउँसो ३ बजेदेखि विद्युत प्रवाह गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ।

मार्कीचोक भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनका लागि मन्त्री श्रेष्ठले फिल्डमै गएर पहल गरेका थिए। उनले स्थानीय पालिकाका जनप्रतिनिधि र स्थानीयसँग संवाद गरेका थिए। २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मका नागरिकका लागि बिजुली सहज हुने भएको छ।

‘यससँगै क्षेत्रीय विद्युत् प्रसारण थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्नेछ। ट्रिपिङ तथा ‘झ्याप्प झ्याप्प’ बत्ती जाने समस्या न्यूनीकरणमा यो प्रसारण लाइनले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,’ मन्त्री श्रेष्ठले भने।

विशेषगरी बर्खायाममा यस क्षेत्रका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाहरूले उत्पादन गरेको सम्पूर्ण विद्युत् सहज रूपमा भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न अब ठुलो सहयोग पुग्ने उनको भनाइ छ।

यसअघि कम क्षमतामा पावर हाउस सञ्चालन गर्नुपर्ने बाध्यता समेत हट्दै जाने दाबी मन्त्री श्रेष्ठले गरे। निजी क्षेत्र र सरकारबिच सहकार्यबाट उपयोग हुन नसकेको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित हुने ऊर्जा मन्त्रालयले जनाएको छ।

तनहुँको मार्कीचोकस्थित न्यु मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यु भरतपुर सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह सुरु भएको हो।

Logo