सरकारद्वारा चालु आर्थिक वर्षको बजेट संशोधन, एक खर्ब ३० अर्ब घटाइयाे

सरकारद्वारा चालु आर्थिक वर्षको बजेट संशोधन, एक खर्ब ३० अर्ब घटाइयाे

केन्द्रबिन्दु
0
Shares

सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेर आकार घटाएको छ । चालु आर्थिक वर्षको गत ६ महिनाको खर्चको अनुमानका आधारमा सरकारले १४ खर्ब ७४ अर्बलाई घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको हो । अर्थ मन्त्रालयमा मंगलबार चालु आर्थिक बर्षको अर्धबार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पहिलो ६ महिनाको पृष्ठभूमिको आधारमा आम्दानी र खर्चको संशोधित अनुमान प्रस्तुत गरेका हुन् ।

संशोधित अनुमानमा चालु आर्थिक वर्षमा १४ खर्ब ७४ अर्ब खर्च हुने अनुमान गरिएकोमा १३ खर्ब ४४ अर्ब ६८ करोडमा झारिएको छ । यो कुल विनियोजनको करिब ९१ दशमलब १९ प्रतिशत हो ।

त्यसैगरी चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड , पूँजीगततर्फ २ खर्ब ८३ अर्ब ४ करोड र वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ४६ अर्ब ८६ करोड हुने अनुमान छ । राजश्व र आन्तरिक ऋणमा चालु बर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब खर्च हुने संशोधित अनुमान रहेको छ ।

मन्त्री पौडेलले कोभिड १९ को प्रभाव कम हुदै गएको, खोप प्रारम्भ गरिएको र आन्तरिक आर्थिक गतिविधि, क्रमशः पुरानै लयमा फर्कंदै गएकाले चालु आर्थिक बर्षको बाँकी अवधिमा बजेट कार्यान्वयनको संशोधित कार्य योजना बनाई कार्यान्वयन गरिने बताए ।सरकारले यो ६ महिनामा मुद्रास्फिति नियन्त्रणमा रहेको र आर्थिक क्रियाकलापमा सुधार हुँदै आएकाले आर्थिक वृद्धिदर औसत रहने अनुमान गरेको छ ।

राजश्वको संशोधित अनुमानमा रही राजश्व लक्ष्य पूरा गर्ने, पूँजीगत खर्च बढाउने र साधारण खर्चमा मितव्ययीता अपनाउँदै निर्वाचनका लागि आवश्यक पर्ने स्रोतको प्रबन्ध गरिने मन्त्री पौडेलले जानकारी दिए। निर्वाचनका लागि आवश्यक स्रोतको प्रबन्ध गर्ने निर्णयमा हस्ताक्षर गरिसकेको जानकारी दिंदै उनले निर्वाचन आयोगले माग गरे अनुसार झण्डै ७ अर्ब रुपैयाँ सरकारले निर्वाचनका लागि प्रबन्ध गर्ने बताए।

अर्थसचिव शिशिरकुमार ढुंगानाले अनुत्पादक क्षेत्रको खर्च कटौति तथा चालु र पूँजीगत खर्च अन्तर्गत खर्च हुन नसकेको रकमबाट कोरोना भ्याक्सिन र निर्वाचनका लागि आवश्यक रकम जुटाईने बताए। कोरोनाका कारण केही समय रोकिएकाले राष्ट्रिय गौरवका आयोजनामा हुने खर्च कम देखिए पनि विस्तारै अवस्थामा सुधार आएकाले वृद्धि हुँदै जाने बताए।

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा कुल विनियोजिन रकमको जम्मा २८ दशमलब १९ प्रतिशत खर्च भएको छ । १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख मध्ये ४ खर्ब १५ अर्ब ७४ करोड ५४ लाख खर्च भएको हो । समीक्षा अवधिको कुल खर्च मध्ये चालुतर्फ ३८ दशमलब शून्य ८, पूँजीगततर्फ १४ दशमलब ४ र वित्तीय व्यवस्थापनतर्फ १३ दशमलव ०६ प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्षमा २ खर्ब २५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा पहिलो ६ महिनामा जम्मा ५७ अर्ब ऋण परिचालन गरिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरुमा विनियोजनको १५ दशमलब १९ प्रतिशत मात्रै खर्च भएको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात ४ दशमलव ८ र कुल व्यापार घाटा ५ दशमलव ८ प्रतिशतले घटेको छ । शोधानान्तर स्थिति भने १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा छ । चालु खाता ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । बैक तथा वित्तीय संस्थाहरुले संकलन गर्ने निक्षेपमा ९ दशमलब २ प्रतिशतले वृद्धि भएको छ भने आन्तरिक कर्जा ८ दशमलब २ प्रतिशतले बढेको छ ।  

Logo