राजस्व सचिव रामशरण पुडासैनीले कर कार्यालयमा दर्ता भएका तर विवरण पेश नगर्ने करदाताका कारण कर प्रणालीमा चुनौती बढेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले बुधबार आयोजना गरेको कर प्रणालीमा भएका समसामयिक सुधार एवं आर्थिक ऐन, २०७७ ले व्यवस्था गरेका छुट तथा सुविधा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै राजस्व सचिव पुडासैनीले अहिले पनि करको दायरा भन्दा बाहिर रहनेको संख्या ठूलो रहेको र दर्ता भएकाहरुले पनि विवरण पेस नगर्ने प्रवृति रहेको बताए । मूल्य अभिवृद्धि करमा ३६ प्रतिशत र आयकरमा ५५ प्रतिशतको विवरण पेश नभएको देखिएको उनको भनाई छ । यस्तै विवरण बुझाउनेले पनि ठूलो मात्रामा बक्यौता राख्ने गरेको उनले बताए । बिल बिजक जारी नगर्ने, कम मूल्याङ्कन गर्ने लगायतका प्रवृतिका कारण आर्थिक गतिविधि बढ्दै गएपनि ननकम्पलायन्स बढ्दै गएको सचिव पुडासैनी बताउँछन् ।
स्वच्छ कर प्रणालीको विकास गर्न करदाताको व्यवहारमा परिवर्तन हुनुपर्ने राजस्व सचिव पुडासैनिको भनाइ छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मूल्य अभिवृद्धि कर र भन्सार दरलाई घटाउन माग गरे । यस्तै भन्सार निर्धारण गर्दा वस्तुको कारोबार मूल्यमा निर्धारण गर्ने व्यवस्था गर्न समेत उनको माग छ । सरकारले व्यवसायी मैत्रि करका दरहरुको निर्धारण गरेमा विवरण नबुझाउने समस्या आफै कम भएर जाने पनि अध्यक्ष श्रेष्ठ बताउँछन् ।
कार्यक्रममा करका दरहरु निर्धारण हुँदा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यान दिनुपर्नेमा व्यवसायीहरुले जोड दिए । यस्तै कर चुक्ता प्रमाणपत्र लिने व्यवस्थालाई थप सहज बनाउन पनि व्यवसायीहरुले माग गरेका छन् ।





























प्रतिक्रिया