काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति एएफआई र जि २४ का सदस्य राष्ट्रका सरकार र केन्द्रीय बैंकहरु केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
जी २४ एएफआई पोलिसीमेकरर्स राउण्डटेबल बैठकमा भाग लिँदै उनले साना तथा मझौला उद्यम/व्यवसायको पुनरुत्थानको निम्ति स्रोतको व्यवस्थापन, नीतिगत तथा नियामकीय सहुलियत, विद्युतीय बैंकिङ प्रणालीको प्रवर्धनका निम्ति केन्द्रित हुनुपर्ने बताए ।
गभर्नर अधिकारीले कोभिड संक्रमणको विषम परिस्थितिलाई विद्युतीय भुक्तानी प्रणाली र ई–कमर्श प्रवर्धनको अवसरका रूपमा लिइनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “डिजिटल बैंकिङको प्रवर्धनबाट युवा पुस्ताको रोजगारी प्रवर्धन र उद्यमशीलताको विकासमा टेवा पुग्न सक्छ ।”
एलाइन्स फर फाइनान्सियल इन्क्लुजनका सञ्चालक समितिका सदस्यसमेत रहेका गभर्नर अधिकारीले कोभिडबाट देखिएको समस्यालाई अवसरको रुपमा लिएर अगाडि बढ्नु पर्ने उल्लेख गरे।
सो बैठकमा सहभागीबीच कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असरको न्यूनीकरणका निम्ति अवलम्वन गरिएका नीतिगत प्रयास र युवा पुस्ताको वित्तीय समावेशीकरणका विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैठकमा आर्थिक वृद्धि र विकासमा युवा पुस्ताको भूमिका र डिजिटल वित्तीय साक्षरतामार्फत वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको थियो ।





























प्रतिक्रिया