मानसरोवर कैलाश दर्शन गर्न हुम्लामा भारतीय पर्यटक, कसरी पुग्ने लाप्चा ?

मानसरोवर कैलाश दर्शन गर्न हुम्लामा भारतीय पर्यटक, कसरी पुग्ने लाप्चा ?

केन्द्रबिन्दु
0
Shares

मानसरोवर कैलाशको दर्शनका लागि हुम्लाको सिमकोट पुगेका भारतीय तीर्थयात्री उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी, लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरी फिर्ता भएका छन् । हुम्लाको लिमी लाप्चा पर्यटकीयस्थल हुँदै भारतीय तीर्थयात्रीको टोली मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता भएका हुन् । डेढ वर्षदेखि हुम्लामा पर्यटकको आवागमन भएको थिएन । 

कोभिड–१९ का कारण लामो समयदेखि सुनसान बनेको हुम्लाको नाम्खा गाउँपालिका लिमी लाप्चामा पहिलोपटक भारतीय तीर्थयात्री पुगेका छन् । तिब्बतमा रहेको मानसरोवर कैलाश दर्शनका लागि भारतीय पर्यटक तथा तीर्थयात्री आउने समय शुरु भए पनि गर्त वर्ष चीनबाट फैलिएको कोरोना भाइरसका कारण हिल्सा सीमा नाका बन्द हुँदा हुम्लाको लिमी लाप्चाबाट भारतीय तीर्थयात्रीले दर्शन गरेका हुन् ।  

डेढ वर्षदेखि हुम्ला हुँदै मानसरोवर कैलाश जाने गरेका पर्यटक कोभिड–१९ का कारण रोकिए पनि पुनः नियमित हुन सक्ने सम्भावना रहेको छ । कोरोना भाइरस महामारी विस्तारै कम हुँदै जान थालेपछि भारतीय पर्यटक तथा तीर्थयात्री हुम्ला पुगेका हुन् । 

हुम्ला पुगेर नाम्खा गाउँपालिका–६ मा पर्ने लिमीको लाप्चाबाटै उनीहरुले दर्शन गरेका छन् । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्ला पुगेका भारतीय तीर्थयात्री सिमकोट विमानस्थलबाट हेलिकप्टरमार्फत लिमीको लाप्चामा अवतरण गरेर दर्शन गरि फिर्ता भएको विजय होटेलका सञ्चालन विजय लामाले जानकारी दिए। कैलाश मानसरोवर दर्शनका साथै उत्तरी क्षेत्रमा रहेका लिमी लाप्चा भ्यालीको मनोरम दृश्यावलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्ने सम्भावना रहेको सञ्चालक लामाले बताए। 

बिहीबार बिहान सात भारतीय तथा छ आन्तरिक पर्यटक गरि १३ जनाको टोलीद्वारा लिमी लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शनका साथै पर्यटकीय क्षेत्रको अनुगमन गरि फिर्ता भएको विमानस्थलका प्रमुख मोहन गिरीले बताए । सो टोलीद्वारा सुरक्षा निकायको अनुमतिमा शिवरात्रिको अवसर पार्दै प्रवर्धनात्मक यात्राका लागि अनुगमन गरेको बताइएको छ ।
    
टोलीले माउण्टेन हेलिकप्टर र सीता एयरको समन्वय तथा साझेदारीमा हुम्लाको पर्यटकीय क्षेत्रको विश्लेषण गरेर फिर्ता भएको सीता एयर सिमकोट स्टेसनका सहायक प्रबन्धक सूर्य लामाले जानकारी दिए। अनुगमनका लागि आएको टोलीले पर्यटन तथा दर्शनका लागि फलदायी र उत्तम भएको महसुस गरेको खण्डमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन सक्ने विश्वास गरिएको छ । 

कामाडौँ, नेपालगञ्ज हुँदै हुम्ला पुगेको पर्यटकको टोलीले मानसरोवर कैशाल दर्शनका लागि लिमी, लाप्चालाई केन्द्रित बनाएको पाइएको छ । कैलाश मानसरोवरका लागि हुम्ला पुगेको यो पहिलो भारतीय तीर्थयात्रीको टोली रहेको बताइएको छ । 

कसरी पुग्ने लिमी लाप्चा ? 

हुम्लाको सदरमुकाम सिमकोटबाट चार दिनको पैदलयात्रापछि लिमी भ्यालीको लाप्चा पुगिन्छ। सिमकोटबाट दुई दिन जति गाउँमा बास बस्दै जान सकिन्छ भने दुई दिन आफूसँग पाल र खाने कुरा लगायतका सामान बोक्नु पर्छ। दुई दिनमा रमणीय दृश्यावलोकन गर्दै गोठालासँगै रात बिताउन पाइन्छ । सहजैरूपमा लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्न सकिने स्थानमा पुग्न सकिन्छ । 

यस्तै भारतीय तीर्थयात्रीहरुले हुम्ला पुगेर साना हेलिकप्टरको प्रयोग गरेर लिमी लाप्चा क्षेत्रमा पुग्ने गर्दछन् । हुम्ला उच्च हिमाली जिल्ला भएका कारण निकै उचाइमा रहेकाले सिधै हेलिकप्टरको प्रयोग गरेर दर्शन गरी फिर्ता हुने गर्दछन् । सदरमुकाम सिमकोट पुगिसकेपछि कतिपय हिंडेरै जाने गर्दछन् भने केहीले हेलिकप्टरको प्रयोग गर्दछन् । 

नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने एक मात्रै जिल्ला हुम्लाको लिमी भए पनि यसको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । यस वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि यो समयमा अहिलेसम्म सात विदेशी पर्यटक र करीब ६०० भन्दा बढी आन्तरिक पर्यटक लिमी लाप्चा पुगेर कैलाश मानसरोवर दर्शन गरेको बताइएको छ। धार्मिक तीर्थस्थल कैलाश मानसरोवरको दर्शन गर्दा स्वर्ग गइन्छ भन्ने हुम्लीको धार्मिक विश्वास रहेको छ। हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र स्थल मानिन्छ।रासस

Logo