सरकारले अध्यादेशमार्फत कृषिमा विदेशी लगानी भित्र्याउन लागेको भन्दै सांसद र सरोकारवालाले आपत्ति जनाएका छन् ।
शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद तथा सरोकारवालाले कृषिमा वैदेशिक लगानी भित्र्याउन सरकारले अध्यादेशको साहारा लिन खोजेको भन्दै आपत्ति जनाएका हुन् । बैठकमा बोल्दै सांसद सोमप्रसाद पाण्डेले यस अघि नै कृषिमा विदेशी लगानी भित्र्याउनु हुन्न भनेर विभागिय मन्त्रीसहित बसेको बैठकले निर्णय गरिएको भएपनि सरकारले अध्यादेशमार्फत विदेशी लगानी भित्र्याउन लागेको बताए। सानो प्वालबाट ठूलो छिद्र बनाएर छिर्ने प्रयत्न गरिएको भन्दै उनले कृषिमा विदेशी लगानी स्वीकार्न नसकिने बताए।
सांसद देवेन्द्र पौडेलले कृषिमा विदेशी लगानी ल्याउन नहुने बताए। कृषिमा विदेशी लगानी भित्रिए परम्परागत कृषि प्रणालीको अन्त्य हुने र कृषकको रोजगारी गुम्ने उनको भनाइ छ । लगानी भित्रिदा नेपालका किसानको लगानी डुब्ने तथा व्यापार घाटा पनि बढ्ने उनको भनाइ छ।
सांसद प्रकाश रसाईलीले देशलाई आत्मनिर्भर हुने बाटोमा लैजानुपर्ने बताए। कृषिमा विदेशी लगानी नभित्र्याउने भनिएको भएपनि सरकारले किन ल्याउने प्रयास गरेको हो यस सम्बन्धमा विभागिय मन्त्री र सचिवहरुसँगको छलफल आवश्यक रहेको उनको भनाइ छ ।
सांसद अमृता अग्रहरीले साना उद्योग सञ्चालनमा देश र उद्योगीहरु सक्षम रहेको बताइन्। जनताको मर्म विपरित कृषिमा वैदेशिक लगानी भित्र्याउन लागिएको भन्दै उनले आपत्ति प्रकट गरिन् ।
सांसद बृजेश गुप्ताले विदेशी लगानीलाई निषेध गरेर देश अगाडि बढ्न नसक्ने धारणा राखे । जति प्रतिस्पर्धा बढ्छ उति जनतालाई फाइदा हुने भन्दै उनले कृषिमा विदेशी लगानीलाई मापदण्डको आधारमा भित्र्याउनु पर्ने बताए।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले विदेशी लगानी सँगसँगै प्रविधी, प्राविधिक, मल, बिउबिजन पनि सँगै भित्रिने भएकाले लाखौँ कृषकहरुले कृषि पेशाबाट हात धुनु पर्ने अवस्था आउने बताए। विदेशीलाई जमिन दिंदा खेतीयोग्य भुमि कृषि बाहेकको प्रयोजनको लागि पनि प्रयोग हुन सक्ने उनको भनाइ छ।
नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले विदेशी पुँजीसँग नेपाली कृषकले प्रतिस्पर्धा गर्न नसक्ने र रोजगारी गुम्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुमित केडियाले नेपालमा लगानीको कमी नभएको बताए। देशका उद्योगी, वित्तिय संस्थासँग लगानी गर्न आवश्यक रकम रहेको उनको भनाइ छ ।
नेपाल डेरी एशोसिएसनका महासचिव प्रलाद दाहालले स्वदेशी कम्पनीहरुलाई लगानीको वातावरण बनाउनु पर्ने बताए। प्रविधिको प्रयोग गरि नेपाली लगानीमै कृषि गर्नुपर्ने उनको भनाइ छ । कृषिमा आत्मनिर्भरताको बाटोमा हिड्नु पर्ने उनको भनाइ छ ।





























प्रतिक्रिया