चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाबाट नीजि क्षेत्रमा प्रवाह हुने कर्जा बढेको राष्ट्र बैंकले जनाएको छ । गत आव वर्षको सोही अवधिमा प्रवाह भएको कर्जाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १४.१ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा ०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट नीजि क्षेत्रतर्फ प्रवाहित कर्जा १७.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा नीजि क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १४ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १७.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ४.४ प्रतिशतले बढेको छ ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । ०७६ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.१ प्रतिशत र १३.४ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७७/७८ को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २५.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ११.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १३.१ प्रतिशतले बढेको छ ।
यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १४.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १६.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५३.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १८.२ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.९ प्रतिशतले घटेको छ ।





























प्रतिक्रिया