अवकाशपछि मौरीपालनमा अब्बल, वार्षिक ५ लाखसम्म आम्दानी

अवकाशपछि मौरीपालनमा अब्बल, वार्षिक ५ लाखसम्म आम्दानी

केन्द्रबिन्दु
0
Shares

सामान्यतया जागिरे जीवनबाट बिदा भएर घर आएपछि मानिस आराम गरेर बस्ने गर्छन्। सेवाबाट अवकास लिएर घर बसेका मानिसका छोराछोरी विदेशमा छन् भने बुढेसकालमा उनीहरु केही काम गरेको देखिँदैन। नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटका ५३ वर्षीय नारायण घिमिरे भने नेपाली सेनाबाट अवकाश भएपछि नमूना किसान भएका छन्। 

सेवा निवृत्त भए पनि समयको सदुपयोग गर्दै धादिङबेसीको व्यस्त बजारमा मौरीपालन गरेर आफू सक्रिय भएको उनी बताउँछन् । १ सय ५० घार मौरीपालन गर्दै आएका घिमिरे श्रीमती र कान्छा छोरा, बुहारीसँगै बस्दै आएका छन्। शहरी जनजीवन रहेको व्यस्त बजारमा मौरीपालन गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण घिमिरेले दिएका छन्। 

घिमिरेको मौरी साथी जस्तै लुटुपुटु हुने गर्नाले बिहान उठ्ने र घार हेर्ने गर्नु नियमित दिन चर्या बनेको छ। घारमा भएका मौरीको कुनै समस्या छ वा मौरीलाई अन्य रोगले आक्रमण गर्यो कि भन्ने चिन्ता जहिले पनि हुने गरेको उनी बताउँछन्। 
 
धुवाँकोट, पुच्छारबजार र शान्तबजारमा मौरीपालन गर्दै आएका घिमिरे १८ वर्षदेखि मौरीसँग साइनो गाँसी रहेका छन्। घिमिरेले एक किलोग्राम महको एक हजार र मौरीसहितको घारको चार हजार ५०० मा बिक्री गर्ने गरेको बताए। 

वर्षभरमा खर्च कटाएर डेढ लाखदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको घिमिरे बताउँछन्। अरु व्यवसायीलाई बन्दाबन्दीले असर पारे पनि घिमिरेको मौरीपालनबाट लिने आम्दानीमा भने कुनै असर गरेन। 

सेवाबाट अवकाश लिइसकेका घिमिरेले विदेश जानुभन्दा आफ्नै देशमा बसेर केही गर्ने चाहना भएकाले र मौरीपालनसम्बन्धी चासो लागेको भएर मौरीपालन पेशा अंगालेको बताए। मौरीपालनको व्यवहारिक ज्ञान भएका घिमिरे अरुलाई समेत तालीम दिने गर्दै आएका छन्। 

मौरी व्यवसायमा संलग्न भए पनि खेतीपाती गर्न आनन्दले पुग्ने उनी बताउँछन्। वर्षभरि मौरी पाल्ने र जेठ, कात्तिक र चैतमा मौरीबाट मह निकाल्ने गर्दै आएकाले यस समय मौरीलाई बढी नै स्याहार गर्नुपर्ने उनको भनाइ छ। सेना दिवसका अवसरमा घिमिरेलाई नेपालको उत्कृष्ट कृषकका रुपमा छनोट गरिएको थियो।रासस

Logo