चैत पहिलो साता बैंकहरुको कर्जा विस्तार र निक्षेप संकलनमा उच्च वृद्धि

चैत पहिलो साता बैंकहरुको कर्जा विस्तार र निक्षेप संकलनमा उच्च वृद्धि

केन्द्रबिन्दु
0
Shares

चैत महिनाको पहिलो साता अहिले सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको कर्जा र निक्षेप संकलनमा वृद्धि भएको छ। चैत महिनाको पहिलो साता बैंकहरुले १४ अर्ब ९ करोड निक्षेप संकलन र २३ अर्ब ३७ करोड कर्जा लगानी वृद्धि गरेका हुन् ।

गत फागुन महिनाभरीमा बैंकहरुले ३९ अर्ब निक्षेप संकलन गरेका थिए भने ९४ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए । नेपाल बैंकर्स संघका अनुसार चैत ६ गतेसम्ममा २७ वाणिज्य बैंकले ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ। 

कोरोना महामारीको कारण शिथिल बनेको अर्थतन्त्र पछिल्लो समय चलायमान हुन थालेको छ । महामारीका कारण बन्द रहेका उद्योग व्यवसाय सञ्चालनमा आउन थालेका छन् भने नयाँ उद्योग व्यवसाय पनि सञ्चालनमा सुरु हुन थालेका छन् । त्यसैगरी गत महिनाको भन्दा फागुन मसान्तसम्म आयातसमेत बढेको छ। 

भन्सार विभागको तथ्याङ्क अनुसार  फागुन मसान्तसम्ममा ९ खर्ब ४३ अर्ब रुपैयाँ बजारको बस्तु आयात भएको छ।

त्यस्तै,पछिल्लो समय बैंकहरुमा कर्जामा ब्याजदर पनि कम रहेकाले शेयर तथा घरजग्गामा लगानीको लागि कर्जा बढ्दै गएको छ।  यता बैंकहरुले पनि निक्षेप संकलन बढाउनकै लागि धेरै बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर बढाउन थालेका छन्। 

निक्षेप संकलनमा नबिल बैंक पहिलो, कर्जामा नेपाल बैंक

चैत महिनाको पहिलो साता सबैभन्दा बढी निक्षेप संकलन गर्ने पहिलो बैंक नबिल बैंक बनेको छ। एक सातामा नबिल बैंकले ४ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन बढाएको हो। चालु आर्थिक वर्षको ८ महिनामा नबिल बैंकले मात्रै १३ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। 

निक्षेप संकलन बढाउनकै लागि नबिल बैंकले गत सातादेखि मुद्दती निक्षेपकर्तालाई ७.५१ प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको थियो। नबिल बैंकको अहिले निक्षेप २ खर्ब ६ अर्ब रुपैयाँ छ भने कर्जा १ खर्ब ८६ अर्ब रहेको छ। एक साता निक्षेप संकलन गर्ने दोस्रोस्थानमा कुमारी बैंक रहेको छ । कुमारी बैंकले ४ अर्ब ६५ करोड निक्षेप संकलन गरेको छ।

त्यस्तै गतसाता निक्षेप संकलन कम गर्ने एनआईसी एशिया बैंक बनेको छ। एनआईसी एशिया बैंकको ३ अर्ब ६१ करोड रुपैयाँले निक्षेप घटेको छ । तर एनआईसी एशिया बैंक यो वर्षमा सबैभन्दा बढी निक्षेप र कर्जा बढाउने पहिलो स्थानमा छ। यस्तै कर्जा असार मसान्तदेखि अहिलेसम्म ८० अर्बले बढाएर २ खर्ब ५४ अर्ब पुर्याएको छ भने निक्षेप ७२ अर्ब ८५ करोड बढाएर २ खर्ब ८३ अर्ब पुर्याएको छ।

त्यस्तै, चैत पहिलो सातामा कर्जा विस्तार गर्ने पहिलो बैंक नेपाल बैंक बनेको छ। नेपाल बैंकले २ अर्ब ३३ करोड रुपैयाँले कर्जा बढाएको छ।

Logo