खाता भएका ग्राहकलाई सजिलै डलर कार्ड, ५ सयसम्म भुक्तानी गर्न मिल्ने

खाता भएका ग्राहकलाई सजिलै डलर कार्ड, ५ सयसम्म भुक्तानी गर्न मिल्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले डलर कार्ड जारी गर्न पाउने नयाँ व्यवस्था गरेसँगै बैंकहरूले धमाधम डलर कार्ड जारी गर्न थालेका छन्।

यसअघि राष्ट्र बैंकको नियम अनुसार डलर खाता भएकालाई मात्रै विदेशमा डलरमा रकम भुक्तानीको दिइँदै आएको थियो। राष्ट्र बैंकले चैत ८ गते पुरानो एकीकृत निर्देशिका २०७६ संशोधन गर्दै भुक्तानी प्रयोजनका लागि ५ सय डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सक्ने नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले ल्याएको सहज नियमसँगै अब डलर कार्डमार्फत् विदेशी मुद्रा भुक्तानी गर्न सकिने भएको हो।

 ‘नयाँ व्यवस्था अनुसार बैंकहरूले पछिल्लो समय डलर कार्ड जारी गर्न थालेका छन्, अब विश्वभर नेपाली बैंकमार्फत् सेवा सुरु हुनेछ,’ प्रभु बैंकका सिइओ अशोक शेरचन भन्छन्।   

अहिलेसम्म नबिल, हिमालय, एनएमबी, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमइ, सिद्धार्थ र प्रभु गरी आठ बैंकहरुले डलर कार्ड जारी गरिसकेका छन्। त्यस्तै, अन्य बैंकहरू पनि डलर कार्ड जारी गर्ने प्रक्रियामा छन्।

नबिल बैंकले चैत १० गते मंगलबार ‘युएस डलर नबिल आइकार्ड’ को सुरुआत गरेको थियो । राष्ट्र बैंकको परिपत्रलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’ ल्याएको बैंकले जनाएको छ । नेपालमा बैंकिङ क्षेत्रमा विद्युतीय अर्थात् डिजिटल बैंकिङ कारोबारको सुरु गर्ने बैंक पनि नबिल नै हो। यो कार्ड पनि नबिल बैंकले नै जारी गरेको थियो।

नबिल बैंकका उपमहाप्रबन्धक मनोज ज्ञवालीे नेपाल राष्ट्र बैंकले स्वीकृति दिएअनुसार इ–कमर्सबाट भुक्तानी दिन मिल्ने गरी डलर कार्ड जारी गरिएको बताउँछन्। अब ग्राहकले कार्ड प्रयोग गरी नेपाली रुपैयाँलाई अमेरिकी डलर ५ सय  वा सो बराबरको अन्य परिवर्तित विदेशी मुद्राको सटही गरेर नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्ने भएका छन्। ग्राहकले वार्षिक अधिकतम ५ सय डलरसम्म मात्रै सटही सुविधा पाउने पनि नबिल बैंकले जनाएको छ।

त्यस्तै, बैंकको यो व्यवस्था भारतबाहेक अन्य मुलुकमा लागू हुनेछ । डलर कार्ड लिन खातासँगै प्यान कार्ड पनि अनिवार्य रूपमा आवश्यक पर्ने बैंकले जनाएको छ । 

गत शुक्रबार माछापुच्छ्रे« बैंकले स्मार्ट डलर कार्ड, नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ‘एनआइबिएल भी–प्रिपेड इन्टरनेसनल कार्ड’ ग्लोबल आइएई बैंकले ‘ग्लोबल इकम डलर कार्ड’ एनएमबी बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड, सिद्धार्थ बैंकले सिद्धार्थ इकम कार्ड र प्रभु बैंकले प्रभु ५ सय  कार्ड सञ्चालनमा ल्याएका छन् ।  

बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५ सय बराबरको कार्ड प्राप्त गर्न सकिने बैंकहरूले जनाएका छन्। उक्त कार्डमार्फत् ग्राहकले भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम ५ सय अमेरिकी डलर बराबरको इकमर्स साइट मार्फत् अनलाइन भुक्तानी गर्न सक्ने छन्। 

त्यस्तै, डलर कार्डबाट नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअपलगायत सामाजिक सञ्जालमार्फत् आफ्नो व्यवसाय प्रवद्र्घन गर्न सकिने बैंकले जनाएको छ।

कसरी लिने डलर कार्ड? 

बैंकहरूले जारी गरेको डलर कार्ड कसरी लिने भन्ने जिज्ञासा भएको हुनसक्छ। तर, कार्ड लिनका लागि सजिलो रहेको छ। सबैभन्दा पहिले त डलर कार्ड लिन चाहेको बैंकमा अनिर्वाय रुपमा खाता खोलिएको हुनुपर्छ। 

त्यस्तै, खातावालाले  केवाइसी भरेर समयमै अद्यावधिक गरेको तथा बैंकमा ग्राहक पहिचानपत्र समेत भरेको हुनुपर्नेछ। यसका साथै डलर कार्ड लिन प्यान नम्बरसमेत अनिवार्य आवश्यक पर्छ। 

नयाँ ग्राहकले के गर्ने ? 

डलर कार्ड लिन चाहेको बैंकमा सबैभन्दा पहिले आफ्नो नाममा बैंक खाता खोल्नुपर्नेछ। बैंक खाता खोल्दा केवाइसी पनि भर्नुपर्ने छ। त्यस्तै, खातावालाको परिचय खुल्ने पहिचान–पत्र भरेर सम्बन्धित बैंकबाट डलर कार्ड लिन सक्ने छन्।

 सेवा शुल्क कति? 

बैंकहरुले डलर कार्ड लिँदा निश्चित शुल्क लिने गर्छन्। बैंक अनुसार कार्डको शुल्क फरक पर्न सक्छ। अहिले कार्ड जारी गर्ने बैंकहरुले ५०० सय शुल्क तोकेका छन्।

डलर कार्ड लिँदा के फाइदा?

डलर कार्ड निकै उपयोगी हुने बैंकहरूले जनाएका छन्। कुनै पनि ग्राहकले डलर कार्ड लिएर विदेशबाट सामान खरिद गर्दा आफ्नै  कार्ड मार्फत भुक्तानी गर्न सक्नेछन् । 

त्यस्तै, कुनै पनि बैंकको डलर कार्ड भएका ग्राहकहरुले सामाजिक सञ्जाल मार्फत आफ्नो व्यापारका लागि आफैंले भुक्तानी गर्न सहज हुने भएको छ। बैंकका ग्राहकले नेटफ्लिक्स, अमेजनलगायत प्लेटफर्मको भुक्तानी पनि आफ्नै कार्डबाट गर्न सक्नेछन्। 

यसरी डलर कार्डबाट नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क, भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअपलगायत सामाजिक सञ्जालमार्फत् आफ्नो व्यवसाय प्रवद्र्घन गर्न सकिने छ। 

कस्तो कारोबारमा भुक्तानी गर्न पाइँदैन?

नेपाल राष्ट्र बैंकले पहिले डलर खाता हुनेहरुले मात्रै डलर भुक्तानी गर्न पाउने व्यवस्था परिमार्जन गरी बैंकहरूलाई डलर कार्ड जारी गर्न सहज बनाएको छ।

तर, बैंकहरुले जारी गरेको डलर कार्ड लिएर कस्तो कारोबारमा भुक्तानी गर्न पाइन्छ भन्ने जानकारी नभएको हुनसक्छ । यसरी बैंकले उपलब्ध गराएको डलर कार्डमार्फत् विदेशी वस्तु तथा सेवाको खरिदको भुक्तानी गर्न पाइन्छ।  तर, यसबाहेक अन्य कारोबारका लागि भुक्तानी गर्न पाइने छैन।

Logo