हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जरको सम्झौता हुँदै

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जरको सम्झौता हुँदै

केन्द्रबिन्दु
0
Shares

लामो समयदेखि प्रतिक्षा गरिएको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरको सम्झौतामा आज हस्ताक्षर हुने भएको छ।

दुई बैंकको संचालक समितिको बैठकले मर्जर सम्झौतालाई पास गरेको हुँदा बिहीबार मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो। दुवै बैंकले १/१ को स्वापमा मर्जमा जाने तयारी गरेका हुन् ।

आज ठमेलस्थित छायाँ कम्प्लेक्समा रहेको अलफ्ट होटेलमा दिउँसो ३ बजे मर्जर सम्झौता गर्ने तयारी रहेको स्रोतले जनाएको छ। 

मर्जरपछि बन्ने संस्थाको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुने सहमति यसअघि नै भइसकेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे डेपुटी सीइओ भएर काम गर्ने भएका छन्।

चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जर भएपछि निक्षेप ३ खर्ब हुनेछ भने कर्जा २ खर्ब ८७ अर्ब हुनेछ। बैंक, निक्षेप, कर्जा तथा चुक्ता पूँजीमा सबैभन्दा ठूलो हुनेछ। 

दुई दशकदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका अशोक राणा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका साला हुन्। पाण्डेका ससुरा हिमालय शम्शेर राणा हिमालयन बैंकमा अहिले पनि संचालक समितिको प्रमुख सल्लाहकारका रूपमा रहेका छन्।

हिमालयन बैंकमा सबैभन्दा बढी पाकिस्तानको हबिब बैंकको २० प्रतिशत शेयर स्वामित्व रहेको छ भने त्यसपछि कर्मचारी संचय कोषको १४ प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत शेयर स्वामित्व रहेको छ भने बाँकी ५१ प्रतिशत शेयरमा पाण्डे र राणा परिवारको हिस्सा धेरै छ।  

५१ प्रतिशत शेयर मध्ये हिमालय शमशेर राणाको लगानी रहेको आभा इन्टरनेशनल कम्पनीको ११.३८ प्रतिशत शेयर रहेको छ। त्यसो त आभा इन्टरनेशनलको धेरै हिस्सा शेयर शशीकान्त अग्रवालको हातमा पुगेको छ भने केहि शेयर एनसेलका स्थानीय साझेदार शतिशलाल आचार्यको रहेको छ।  

हिमालयन बैंकको ५१ प्रतिशत शेयर मध्ये संस्थापक भीमबहादुर पाँडे र पृथ्वीबहादुर पाँडेको परिवारको लगानी रहेको छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत शेयर छ। छायाँ इन्टरनेशनलमा पनि शशिकान्त अग्रवाल, मनोजबहादुर श्रेष्ठ र उनका आफन्तको  शेयर रहेको छ।  

त्यस्तै हिमालयन बैंकको ५१ प्रतिशत  शेयर मध्ये १२.७१ प्रतिशत शेयर रहेको एन ट्रेडिङमा मनोजबहादुर श्रेष्ठ र उनका भाइ प्रचण्डबहादुर श्रेष्ठको लगानी छ भने शशीकान्त अग्रवालको आफ्नै नाममा समेत २.६५ प्रतिशत शेयर रहेको छ।

Logo