चीनबाट सामान ल्याउन सहजिकरणका लागि सरकारसँग व्यवसायी कटुवालको माग

चीनबाट सामान ल्याउन सहजिकरणका लागि सरकारसँग व्यवसायी कटुवालको माग

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले नेपालीहरुको महान चाडपर्वहरु नजिकिँदै गएको तर पर्याप्त बजार सामान नभएकाले सामान ल्याउन चीन जानका लागि सरकारले टुरिजम भिसा सहजिकरण गर्नु माग गरेका छन्।

कोरोना महामारीका कारण व्यापार व्यवसाय लकडाउन खुकुलो भएसँगै सुचारु भइरहँदा बजारमा पर्याप्त सामान नभएको उनले बताए । सामान ल्याउनको लागि चीन जान अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले व्यवसायीहरुको लागि परराष्ट्र मन्त्रालयले चीनसँग पहल गरि सहजिकरण गर्न माग गरेका हुन् ।

उनका अनुसार अहिले चीनमा सामान अडर गर्दा त्यहाँका व्यापारीहरुले फोटो पठाउने र नेपालका व्यापारीहरुले फोटो हेरेर सामान अर्डर गर्नु परेको छ । उनले भने, ‘यसरी सामान अर्डर गर्दा नेपाली ग्राहकले चाहेको जस्ता सामान नआउने तथा व्यवसायीले छानेर सामान ल्याउन पाएका छैनन् । यसले गर्दा चीनमा व्यवसायी नै गएर सामान ल्याउने वातावरण सरकारले बनाउन जरुरी छ।’

सरकारले चीन जान आउनको लागि सहज किसिमले पासको व्यवस्था गरिदिए व्यवसायीहरुलाई सहज हुने र शिथिल बनेको अर्थतन्त्रमा समेत ठूलो सहयोग पुग्ने उनको भनाइ छ । 

त्यस्तै उनले नाफाहरुमा विदेशबाट आयात गरिएका सामानको भन्सार शुल्कमा एकरुपता ल्याउनु पर्ने पनि मागगरेका छन् । एउटै वस्तुमा भन्सारदर फरक फरक हुँदा व्यापार गर्न समस्या भएको छ । बजारमा भन्सार शुल्ककै कारण एउटै सामानको फरक फरक मूल्य हुने भएकाले ग्राहकलाई समेत चर्को मूल्यको भार पर्ने गरेको उनले बताए।

अहिले चीनबाट केरुङ नाकाबाट स्थलमार्ग हुँदै सामान आइरहेको छ। गत वर्ष चीनले केरुङ नाका लामो समय बन्द गर्दा सामान अभाव भएको थियो । तर अहिले त्यस्तो खालको समस्या छैन तर व्यवसायीले भनेको जस्तो सामान ल्याउन भने नपाएकाले सरकारले चीनको लागि सहजिकरण गरिदिनु पर्ने उनको माग छ । महासंघले चाडै परराष्ट्र मन्त्रालयसँँग सहजिकरण गर्न माग गर्ने तयारी गरेको समेत अध्यक्ष कटुवालले जानकारी दिएका छन्। 

Logo