सरकारले देशका विभिन्न ११ स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ ।
यस क्रममा हिमाल सिमेन्ट कारखाना रहेको चोभारमा निर्माण भएको सुक्खा बन्दरगाह अब सञ्चालनका लागि तयार भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिस गजुरेल भन्छन्, ‘भन्सार जाँच पास नगरीकनै सिधैँ सुक्खा बन्दरगाहमा आएर सबै काम गर्न सकिने गरी संरचना तयार भएको छ । यो अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह हो, यसमा सबै प्रकारको सेवा तथा सुविधा उपलब्ध गराइने छ।’
विदेशबाट आयात हुने तथा नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिने लक्ष्यका साथ बन्दरगाह निर्माण गरिएको हो । बन्दरगाह निर्माणका लागि सरकार र विश्व बैंकबीच सन् २०१३ मा भएको सहमतिअनुसार सन् २०१९ भित्रै काठमाडौँ सुक्खा बन्दरगाह निर्माण सम्पन्न हुनुपथ्र्यो । तर, दुइ वर्ष ढिला भएको हो ।
विद्यमान व्यवस्था अनुसार सीमा नाकामा गरिने भन्सार जाँचपास अब यही बन्दरगाहमा हुनेछ । बन्दरगाह सञ्चालनमा आएपछि काठमाडौँ तथा आसपासमा भित्रिने मालबाहक सवारीसाधन वीरगञ्जमा लामो प्रक्रिया गरेर रोकिनुपर्ने छैन, सिधैँ काठमाडौँ आउन सक्नेछन् । सीमा भन्सारले सिल लगाएर बन्दरगाहमा पठाउनेछ । उक्त सिल काठमाडौँ बन्दरगाहमा खोलिनेछ ।
बन्दरगाहमा पाँच सय ट्रक र त्यति नै संख्यामा कन्टेनर अट्ने क्षमता छ । सञ्चालनका लागि प्रविधि एवं केही सफ्टवेयर जडानको काम भने बाँकी छ । कूल २२० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा विश्व बैंकको रु एक अर्ब ६० करोड बराबरको लगानी रहेको छ । हाल साँघुरो बाटोका कारण काठमाडौँ तराई–मधेश द्रूतमार्ग निर्माण भई सञ्चालनमा आएपछि मात्रै बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन सक्ने छ ।
रक्सौल काठमाडौँ रेलमार्गलाई पनि बन्दरगाहसँग जोड्ने सरकारको योजना छ । चीनबाट आउने भनिएको रेललाईसमेत चोभार लैजाने तयारी छ ।
समितिले वीरगञ्जस्थित सुक्खा बन्दरगाह सञ्चालन गरिरहेको छ । यस्तै, ओलाङचुङगोला, मुगुको नाक्च्यालग्न र मुस्ताङको कोरलामा पनि भौतिक पूर्वाधार निर्माण गर्ने योजना अगाडि सारेको छ । नेपाल चीनबीचको व्यापार सहजीकरण गर्ने लक्ष्यका साथ कोरलाको काम छिट्टै प्रक्रियामा लैजाने समितिको तयारी रहेको कार्यकारी निर्देशक गजुरेलको भनाइ छ । रासस





























प्रतिक्रिया