नेप्से परिसूचकले दैनिक रेकर्ड बनाउँदै, आज १६.३ अंकले बढ्यो

नेप्से परिसूचकले दैनिक रेकर्ड बनाउँदै, आज १६.३ अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय शेयर बजारमापक नेप्से परिसूचकले दैनिक रेकर्ड बनाउँदै गएको छ। साताको अन्तिम शेयर कारोबारको दिन बिहीबार नेप्से परिसूचक १६.३ अंकले बढेर ३ हजार १७८ अंकमा पुगेको छ। यो अंक अहिलेसम्मकै उच्च हो। तीन दिनदेखि बजारमा उच्च अंकको नयाँ रेकर्ड बन्दै आएको छ। यसअघि मंगलबार ३ हजार १६२ र बुधबार ३ हजार १६३ को रेकर्ड बनेको थियो। 

आज कारोबारमा आएका २२५ कम्पनीको ३ करोड ६६ लाख  ८ हजार ४६१ कित्ता शेयर १७ अर्ब ५१ करोड रुपैयाँ बराबर किनबेच भएको छ। बुधबार १५ अर्ब ४५ करोडको कारोबार भएको थियो।  नेप्से परिसूचकले अन्य रेकर्ड तोडे पनि कारोबार रकमले भने जेठ ३० गतेको रेकर्ड तोड्न सकेको छैन। गत जेठ ३० गते १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको थियो।

आज शेयर बजारमा विकास बैंकमा लगानीकर्ताको आकर्षण बढेको छ। आज कारोबारमा आएका मध्ये ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ। विकास बैंक समूह सबैभन्दा धेरै ३४६ अंकले बढेको छ। त्यस्तै बैंकिङ ९, फाइनान्स ३२, लगानी १, जीवन बीमा ३१, उत्पादन ११६ अंकले बढेका छन्। 

तर होटल तथा पर्यटन ३९, जलविद्युत २३, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा १२, अन्य ९ र व्यापार समूह ५९ अंकले घटेका छन्। 

आज सबैंभन्दा बढी मूल्य बढ्ने कम्पनीमा महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त, माउन्टेन इनर्जी नेपाल, रुरु जलविद्युत परियोजना, कामना सेवा विकास बैंक र युनियन लाइफ इन्स्योरेन्स रहेको छ।

आज कारोबारका आधारमा यस दिन माथिल्लो तामाकोसी कम्पनीको ६२ करोडको कारोबार भएको छ।

Logo