चिनियाँ नाकाः व्यापारीको बारम्बार टाउको दुखाई

चिनियाँ नाकाः व्यापारीको बारम्बार टाउको दुखाई


नेपाल–चीन व्यापार सिमाको रसुवा भन्सार कार्यालय (केरूङ) र तातोपानी भन्सारमा सधैं समस्या हुन थालेको छ।

कोरोना महामारी पछि त तातोपानी नाका प्रायः बन्दजस्तै रहेको छ भने रसुवाको केरुङ नाका सञ्चालनमा रहेको छ। तर, पछिल्लो १५ दिनदेखि पुनः भन्सार नभएर चीनबाट आएका कन्टेनर सिमा पारी नै रोकिने गरेका छन्।

कोरोना महामारी संक्रमणको जोखिम देखाउँदै गत वर्ष पनि चिनियाँ पक्षले नाका खुल्ला गर्न दिएको थिएन । करिव ६ महिनासम्म नाका बन्द भएको थियो । 
त्यतिबेला नेपालीले आयात गरेका मालसामान सीमापारि केरुङमा करिब ३ सय कन्टेनर थन्किएर बसेका थिए। 

अहिले पनि १ हजारभन्दा धेरै कन्टेनरहरु चिनियाँ नाकामा रोकिएका छन् । तर, नाकाबाट भने दिनको बढीमा १० वटा कन्टेनर मात्रै पठाउँदै आएको छ। 
कोरोना संक्रमण फैलिनुभन्दा अगाडी चीनबाट आयात गरिएका सामान नाकामा नै ८ महिनासम्म रोकिएका थिए ।

त्यस्तै, गत वर्ष कोरोना महामारीका बीच पनि नेपाली व्यवसायीहरूले नेपालीहरूको महान पर्व दशैं–तिहार लक्षित आयात गरिएका सामान दशैं सकिन लाग्दासमेत  नेपाल भित्रिने सामान सिमामा नै अलपत्र परेका थिए । 

व्यापार हुने समय दशैं–तिहारकै लागि आयात गरिएका सामान सिमा पारि नै रोकिने समस्याले नेपाली व्यवसायीको वर्षैपिच्छे टाउको दुखाइ बन्दै गएको छ।
वर्षभरीको आम्दानी दशैं–तिहारको समयमा नै पुरा गर्ने गरी व्यवसायी लाग्ने गरेका छन्। 

तर,विगत केही वर्षदेखि चिनबाट दशैं–तिहार लक्षित आयात गरिएका सामान नाकाबाट नै भन्सार नभई नाकामा नै अलपत्र पर्ने गरेकाले व्यवसायी मर्कामा पर्ने गरेका छन्।
दशैंको लागि आयात गरिएको सामान समयमा नै आउन नपाउँदा कतिपय व्यवसायीहरू व्यवसायबाट नै पलायन हुनपर्ने स्थितिमा पुग्ने गरेका छन्। 

विगतमा व्यवसायीहरूले आयात गरिएको सामान भन्सार नहुँदा आत्महत्यासमेत गर्ने स्थितिमा समेत पुगेको व्यवसायीले बताएका छन्।

केही आशा कायमै

त्यसो त नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले केरूङ भन्सारमा रोकिएको सामान बुधबारबाट कन्टेनगर आउन थालको बताएका छन्। 

विगत १० दिनदेखि चीनबाट दशैं लक्षित गरी ल्याएका लत्ताकपडा तथा जुत्ता चप्पलहरू भन्सार नहुँदा नाकामा नै रोकिदाँ दशैंमा सामान बेच्न नपाउने देखिएको थियो। तर, केही कन्टेनर बुधबारबाट नेपाल प्रवेश गर्न लागेको जानकारी आएकाले आशा जागेको बताए ।

‘चिनियाँ नाकामा चीन सरकारभन्दा पनि नाकामा बस्ने विचैलियाहरूको कारण संधै त्यहाँबाट आयात गरिएका सामान चिनियाँ भन्सारमा आएर समस्या हुने गरेको छ। यस्तो समस्या हुन व्यवसायीहरूको लागि चिनियाँ नाका टाउको दुखाईको विषय बन्दै गएको छ,’ उनले भने ।

कोरोना महामारी रोकथामको लागि भएको लकडाउन तथा निषेधाज्ञाको कारण व्यावसायीहरू थला परेको अवस्थामा भन्सारमा आएको सामान सहज रूपमा आयातको लागि पहल गर्नुपर्ने सरकारको दायित्व भएको कटुवाल बताउँछन्।

महान पर्व दशैं –तिहार चाडपर्वको समयमा केही व्यापार हुने आशाले अरबौं रकम लगानी गरेर चीनबाट सामान आयात गरिएका छन्। 
तर, आयात गरिएका सामान भन्सारमा नै रोकिदाँ व्यवसायीलाई थप आर्थिक भार परी व्यवसायीमा व्यवसायप्रति निराशा छाउने गरेको अध्यक्ष कटुवालले बताए।

चिनियाँ कठोर नीति

चिनियाँ कठोर नीतिका कारणले पनि विगतदेखि नेपाली व्यवसायीहरूले यस्तो समस्यामा पर्ने गरेका छन्। 

चीनबाट नेपाली व्यवसायीले अर्डर गरेको सामान बोकेर दैनिक १ हजार कन्टेनर सिमा नाकामा आइपुग्ने गरेको छ। 

तर तातोपानी नाकाबाट दैनिक अत्यन्त न्यून १० कन्टेनर सामान आयात हुँदै आएको छ । रसुवाबाट पनि दैनिक १० कन्टेनर बढी आयात हुदै आएको छ। पछिल्लो १५ दिन अगाडि त अत्यावश्यक बाहेक अन्य सामान भन्सार नै हुन सकेको थिएन।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठका अनुसार कोेरोना महामारीको कारण चिनियाँ पक्षले एकदमै न्यून कन्टेनर मात्रै नाकाबाट पठाएकाले समस्या भएको बताउँछन्।

चिनियाँ पक्षको अझै कोरोना महामारी नियन्त्रणसम्बन्धि कठोर नीतिको कारण पनि व्यवसायी समस्यामा परेको उनको भनाई छ।

वर्षैपिच्छे समस्यामा व्यापारी

कोरोना महामारीको समस्याको कारणले नै चिनियाँ पक्षले नेपाल आयात हुने कन्टेनरको संख्या दैनिक १० भन्दा बढी पठाएको छैन।

चीनको कोरोनासम्बन्धी नीति पुनरावलोकनका लागि नेपाल सरकारले चीन सरकारसँग वार्ता गर्नुपर्ने अध्यक्ष कटुवालले बताए।

उनले हामी व्यवसायीले चीन सरकारलाई दोष लगाउन मिल्दैन। हामीले नेपाल सरकारसँग माग गरेका छौं । यो समस्याको समाधान सरकारले नै गर्ने बताए। 

त्यस्तै,वाणिज्य संघका अध्यक्ष श्रेष्ठले सरकारसँग नाकामा आवागमन सहज बनाउन पहलको लागि सबै निकाय पुगेको तर पहल नभएको बताए।

यसरी १ हजार कन्टेनर सामान बोकेर भन्सारमा आउने तर सीमित मात्रै कन्टेनरबाट आयात हुँदा दशैँका लागि व्यवसायीले आयात गरिएका सामान काठमाडौं पुग्न दुई महिना लाग्छ। 
उनले भने,‘यस्तो समस्याले गर्दा नेपाली व्यवसायीको चीन प्रतिको विश्वास गुम्ने तथा चिनियाँ नाकाप्रतिको समेत विश्वास गुम्दै जान्छ।’

चीनतर्फ निर्यात गर्ने नेपाली व्यवसायीहरु अहिले धेरै पलायन भएका छन् । आयात गर्ने व्यवसायीहरु पनि चिनियाँ नाका छोडेर अन्य देशको नाका रोज्नुपर्ने स्थिति आउने उनको भनाइ छ।

नाका व्यवसायीहरू यस्तो समस्या भोग्दा व्यवसायीहरूले बैंकको ब्याज, गोदाम भाडा र कर्मचारी तलब तिर्दा तिर्दै कंगाल भएर व्यवसायबाट नै पलायन हुने परिस्थित आउन सक्ने अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै, नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष बच्चु पौडेल व्यापारिक नाकामा यस्तो समस्या आउन नहुने बताएका छन्।

अहिले कोरोना महामारीको कारणले सीमितमात्रै कन्टेनर नेपाल प्रवेश गरेका छन्। विगतमा पनि यस्तो समस्या हुँदै आएकाले सरकारले यसको चाँडै समाधान खोज्नु पर्छ ।

उनले भने,‘आयात गरिएको सामान सधैं नाकामा रोकिने समस्याले व्यवसायीहरूमा निराशा छाउँछ।’

Logo