दसैं बजारः च्याङ्ग्राको माग पनि उच्च, मूल्य पनि उच्च

दसैं बजारः च्याङ्ग्राको माग पनि उच्च, मूल्य पनि उच्च


आठ दिनको हिँडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए। वडा दसैंमा च्याङ्ग्राको माग उच्च भए पनि भाउ निकै महङ्गिएको छ। 

यसपटकको दसैंमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र्याएका हुन्। जिल्लाका एक दर्जन व्यापारी दसैंका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरेपनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारी च्याङ्ग्रा लिन पुगेका छन्। तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्याङ्ग्रा भेडा बजार ल्याइएको छ। 

अहिले मुस्ताङका अधिकाँश भेडा च्याङ्ग्रा पोखरा पुर्याइने गरेको छ। केही वर्ष अघिसम्म बागलुङमा मात्रै दुइदेखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भएपनि अहिले त्यसको संख्या घटेर पाँच/सात सयमा झरेको छ। 

मुस्ताङमै भेडा च्याङ्ग्राको मूल्य बढी भएका कारण थोरै मात्रा भेडा च्याङ्ग्रा लिएर बागलुङ आएको व्यापारी खत्रीले बताए। 

“मुस्ताङमै एउटा च्याङ्ग्राको मूल्य ३२ हजार पर्यो, एक दुई हजार नाफा खानै पर्यो बागलमा ३६ हजारमा च्याङ्ग्रा बिक्री गर्ने योजना रहेको छ” उनले भने, “च्याङ्ग्रीलाई समेत १७ हजार बढी मूल्य पर्ने भएको छ, आठ दिनको हिँडाई निकै कष्टकर छ, तिब्बतबाट च्याङ्ग्रा नेपाल नआए आगामी दिनमा च्याङ्ग्राको मुल्य छोइ नसक्नु हुनेछ।” मुस्ताङ पुगेका व्यापारी महेन्द्र केसी र अम्मरबहादुर क्षत्रीले बागलुङ तर्फ च्याङ्ग्रा लिएर आउँदैछन्। 

अहिले जिल्लामा च्याङ्ग्राको मासु प्रति केजी रु. एक हजार ८०० कारोबार सुरु भएको छ। हिमालीक्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट हुने गर्दछ। अन्य चाडपर्वमा खसी बोका र कुखुराको मासुको माग हुने भएपनि वडा दसैंमा च्याङ्ग्राको मासु खाने तथा कोसेली लैजाने परम्परासमेत छ।

Logo