स्वदेशमा रोजगारी पाउन मुस्किल भयो भन्दै देशैभरका युवायुवती दिनहुँ वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ। स्वदेशमै रहेकाहरू पनि बरु सामान्य जागिर खोज्न लाग्छन् तर कृषि पशुपालन गर्नतिर ध्यान नै दिँदैनन्। तर, दैलेखका शिक्षक डम्बर खड्काले भने छँदाखाँदाको जागिर छाडेर पूर्णकालिन खेती किसानी र पशुपालन सुरु गरेका छन्।
दुल्लु नगरपालिका–६ का डम्बरले शिक्षण पेसा छोडेर ०७७ सालदेखि व्यवसायिक सुन्तला खेती सुरु गरेका हुन्। उनले मालिका कृषि तथा पशुपंछी फर्म स्थापना गरेका छन्। व्यवसायिक रुपमा सुन्तला खेतीमा लाग्दा र खेतीबाट सफलता मिल्दा निकै सन्तुष्टि मिलेको उनी बताउँछन्। अब उनको उदेश्य युवालाई गाउँमै रोजगारी दिने हो। अहिले पनि उनको फर्ममा चार जना युवाले नियमित रोजगारी पाएका छन्।
एक लाख रुपैयाँबाट सुन्तला खेती सुरु गरेका उनले अहिले व्यवसाय बढाएर वार्षिक ६ लाख बराबरको सुन्तलाका बेर्ना उत्पादन गर्छन्। उनले फर्ममा २१ मिटर लम्बाइका तीन वटा पक्की नर्सरी बनाएका छन्।
पछि चार लाख लगानी गरेर व्यवसाय गर्दा खर्च कटाएर वार्षिक दुई लाखसम्म बचत भएको उनले बताए । व्यवसाय बढाएसँगै अहिले आम्दानी पनि बढ्दै गएको छ। सुन्तला खेती सुरु गरेदेखि नै आम्दानी राम्रो भएको उनले बताए।
यसरी सुरु भयो सुन्तला खेतीको सोच
उनले गाउँमै नर्सरी स्थापना गरेपछि फलफूल तथा अन्य जडीबुटीका बिरुवा खोज्न बनेपा, काठमाडौंसम्म पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ। बिरुवाको सहज पहुँच नहुँदा यस भेगका धेरैले चाहेर पनि फलफूल खेती गर्न सकेका थिएनन्। उनकै कारण अब गाउँमा फलफूल खेती फस्टाउने स्थानीयको विश्वास छ।
उनले एज पिस होम्स एकेडेमी सुर्खेत र म्यानस अंग्रेजी विद्यालय काठमाडाैंमा शिक्षक भएर काम गरे। उनको तलब सेवासुविधा राम्रै थियो। तर, बाबुबाजेले जोडेको खेतबारी बाँझो भएको उनले थाम्न सकेनन्। उनले भने, ‘गाउँमा मलामी जाने मानिससमेत पाइन छाडे। यी सबै कुराले मन अशान्त भयो। र आफ्नै ठाउँमा केही गर्छु भनेर फर्किएँ।’ त्यसपछि उनी गाउँ पसे। हुन त उनी गाउँ पसेको एक वर्ष मात्रै भएको छ तर पनि ४–६ जनालाई रोजगारी दिन थालिसकेका छन्। अब गाउँका सबैलाई आत्मनिर्भर बनाउन चाहन्छन्। पुरानो खेती प्रणालीलाई परिवर्तन गर्ने उनको सोच छ।
सुरुमा कति गरे लगानी ?
सुरुमा एक लाखबाट सुन्तला बगैंचा निर्माण सुरु गरेका खड्काले अहिले ५० प्रतिशत अनुदानमा कृषि विकास कार्यालय र ५० प्रतिशत मालिका कृषि तथा पशु पशुपंछी फर्मको गरी १२ लाख लागतमा नर्सरी बनाएका गरेका छन्। नर्सरीमा तीनपाते सुन्तला कलमी, अगौटे, पछौटे जातका सुन्तलाका बिरुवा उत्पादन र परीक्षण गरिसकेका छन्। तरकारी खेतीबाट पनि उनले राम्रो आम्दानी गर्न थालिसकेका छन्। काउली, बन्दाका बेर्ना समेत उमारेका छन्। सुन्तला बगैंचा निर्माण गर्दै जाँदा उनलाई तरकारी खेती सुरु गर्न मन लागेको बताए। त्यसपछि उनले तरकारी खेती सुरु गरे। जसबाट मनग्य आम्दानी गर्न थालिसकेका छन्।
पशुपंछी पालन
उनले टर्की, कडकनाथ कुखुरा, लोकल कुखुरासमेत पालेका छन्। सजिलो र राम्रो आम्दानी हुने व्यवसाय भएकाले छिमेकीलाई समेत पशुपालन गर्न उनले परामर्श दिने गरेका छन्। ‘जोखिम पनि कम,’ उनले भने, ‘यो व्यवसायबाट राम्रो आम्दानी पनि गर्न सकिन्छ।' उनले यो व्यावसाय गर्न धेरै क्षेत्रफल पनि नचाहिने हुनाले सहज हुने बताए।
कृषि अर्थ संसारप्रकाशित: १३ कात्तिक २०७८ १३:३९ शनिबार