साढे तीन करोडको पुस्तकालय भवन, तर सञ्चालन गर्न बजेट छैन

साढे तीन करोडको पुस्तकालय भवन, तर सञ्चालन गर्न बजेट छैन

केन्द्रबिन्दु
0
Shares

गुल्मी जिल्लाको शैक्षिक विकासमा महत्त्वपूर्ण इतिहास बोकेको किरण पुस्तकालय बर्षौसम्म अप्ठ्यारो र साँघुरो घरमा बस्यो । ५० वर्षसम्म अप्ठ्यारो व्यहोरेको यो पुस्तकालयको अहिले आफ्नै अत्याधुनिक चार तले भवन छ । विगतका दुःख हेर्दा राम्रै जस्तो देखिन्छ, तर किरण पुस्तकालयको दुःख अझै सकिएको छैन । पुस्तकालयका करिब १० हजार पुस्तक छन्।

यी सबै पुस्तक एउटा तलामा व्यवस्थापन गरिएको छ । बाँकी तीन तला भने प्रयोगविहीन छ । थप प्रविधि र पुस्तक खरिद गर्ने पुस्तकालयसँग आर्थिक अभाव भएकाले भवनको बाँकी स्थान खाली रहेको हो । आर्थिक संकट यस्तोसम्म कि कार्यालय सञ्चालनमा समेत अप्ठ्यारो परिरहेको छ । सरकारले भवन संरचनासँगै व्यवस्थापनमा पनि ध्यान दिनु पर्ने बताउँछन् रेसुंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक भुवन अर्याल । ‘अहिलेको समय र प्रविधि सुहाउँदो नभए पुस्तकालयको अर्थ छैन । भौतिक पूर्वाधारको हिसाबले राम्रो भवन बनेको छ,’ उनले भने, ‘व्यवस्थापनमा पनि राज्यको ध्यान पुग्नुपर्छ ।

किरण पुस्तकालय २०२५ सालमा स्थानीय एक व्यक्तिको घरबाट सुरुवात गरिएको थियो । त्यस बेला श्रुति, स्मृति पुराण र कर्मकाण्डका केही पुस्तक पाठ्यपुस्तकहरू संकलन गरी पुस्तकालय सञ्चालन गरिएको थियो । तत्कालीन अवस्थामा पाठकले चाहेअनुसारका पुस्तकहरू थिएनन् । पुस्तकालयका अभियन्ताहरूले नै केही पुस्तक खरिद गरेर पुस्तकालय सञ्चालन गरेका थिए । त्यो बेला विद्यालय पनि कम थिए । अझ पुस्तकालय त परको कुरा । प्रविधि र समयले पुस्तकालयलाई उछिने पनि महत्त्व भने अहिले पनि कायम रहेको किरण पुस्तकालयका संस्थापक शशी पन्थीले बताए । 

पूर्व मन्त्री गोकर्ण विष्टको विशेष पहलमा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा साढे तीन करोडको लागतमा चार तल्ले अत्याधुनिक भवन निर्माण गरिएको छ । भवन निर्माणको काम सुनिल–समीर बाँसुरी जेभीले गरेको थियो । अहिले बाहिरबाट भवन अत्याधुनिक र आकर्षक देखिन्छ । तर दिगो र स्थायी आर्थिक स्रोत नहुँदा पुस्तकालय व्यवस्थापन र उद्देश्यअनुसारको काम अगाडि बढाउन निकै चुनौती रहेको पन्थीको भनाइ छ । समयअनुसार पुस्तकालय पुगेर पुस्तक पढ्ने अवस्था छैन । पुस्तकालयलाई अहिले उपलब्ध पुस्तक व्यवस्थापन गर्न पनि भवनभित्र आवश्यक संरचनाको समस्या छैन । कार्यालय व्यवस्थापन गर्न जनशक्तिको समेत अभाव उस्तै छ । अहिलेको पुस्ता सुहाउँदो प्रविधिको विकास गरेर पुस्तकालयलाई विकास गर्नुपर्ने आवश्यकता रहेको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष जर्नादन घिमिरेले बताए ।

किरण पुस्तकालयले जिल्लाको शिक्षा र साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिइरहेको छ । पुस्तकालयले स्थापना कालदेखि ‘हाम्रो पुरुषार्थ’ नामक साहित्यिक पत्रिका प्रकाशन गरिरहेको छ भने पुस्तक प्रकाशन, कवि गोष्ठी, जयन्तीहरू मनाउने तथा पुस्तक र पत्रपत्रिका पढ्न पाउने सुविधा दिइरहेको छ । भौतिक संरचनाले मात्रै पुस्तकालयको उद्देश्य पुरा हुँदैन । त्यसैले किरण पुस्तकालय जस्ता जिल्लाका महत्त्वपूर्ण शैक्षिक धरोहरहरूको संरक्षण र व्यवस्थापनमा राज्यकै तर्फबाट चासो र पहल हुनुपर्ने घिमिरेको जोड छ । न्युज कारखाना

Logo