खाद्य कम्पनीले दशैं लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने

खाद्य कम्पनीले दशैं लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना महामारीले उपत्यका लगायत देशभर मानिसहरुको जनजीवन प्रभावित भएको छ । व्यापार व्यवसाय बन्द हुँदा हजारौं मजदूरहरुले रोजगारी गुमाएका छन् । उनीहरु यसपालिको दशैं कसरी मनाउने भन्ने चिन्तामा रहेका छन् ।

कोरोनाले शिथिल बनाएको मानिसको जनजीवनलाई सहज बनाउन तथा उपभोक्ताले सहुलियतमा सामान खरिद गर्न पाउन भन्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गरि सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले विगतमा जस्तै दशैंमा उपत्यकाभित्र र उपत्यका बाहिर विभिन्न स्थानमा ग्राहकलाई सहुलियत मूल्यमा सामान उपलब्ध गराउने भएको हो ।

कम्पनीले हरेक वर्ष उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य बस्तुहरु उपल्ब्ध गराउँदै आएको छ । यो वर्ष पनि निरन्तरता दिने भन्दै कोरोना महामारीका बीच पनि सहुलियत पसल सञ्चालन गर्न लागिएको तर कोरोनाको संक्रमण बढदै गएकाले कस्तो मोडालिटीमा संचालन गर्ने भन्ने विषयमा छलफल भइरहेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । दशैंकै लागि कम्पनीले विभिन्न जिल्लाबाट करिव ६ करोडका ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने निर्णय यस अगाडि नै गरिसकेको छ । जसमा १६ सय खसीबोका र १४ सय च्याङ्ग्रा ल्याउने भएको छ ।

सहुलियत पसल तथा खसीबोका र च्याङ्ग्रा ल्याउने विषयमा कम्पनी गृहकार्यमा लागि रहेको छ । सूचना अधिकारी सुवेदीले भनिन्, ‘कोरोनाको प्रभावले यो वर्ष धेरै उपभोक्तालाई सेवा उपलब्ध गराउन चूनौति रहेको छ ।’

गत वर्ष कम्पनीले चामल र चिनी बिक्री गरेको थियो । तर, यो वर्ष चामल, चिनीसहित दाल, तेल, पीठो थप गर्ने योजना रहेको उनको भनाइ छ । सरकारले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा अन्य ठाउँको बजार मूल्य भन्दा सर्वसुलभ तथा सस्तोमा उपलब्ध गराउँदै आएको छ ।
गत वर्ष चामलको मूल्यमा प्रतिकेजी ५ रुपैयाँ र मासुजन्य परिकारमा प्रतिकेजी १० रुपैयाँ कम गरेको थियो । त्यस्तै यस वर्ष पनि त्यही वरिपरिमा छुट गर्ने भएको छ । विगतका वर्षमा उपत्यकामा ५ ठाउँबाट र उपत्यका बाहिर २३ ठाउँमा यस्ता पसल सञ्चालन भएका थिए । यस वर्ष पनि उपत्यकामा ५ ठाउँबाट सेवा प्रदान हुने भएको छ । साथै छलफलको क्रमबाट कुनै निर्देशन आएमा थपघट हुने कम्पनीले जनाएको छ । अहिलेसम्म देशभर ३५ वटा कार्यालय छन् ।

अहिले कम्पनीले विभिन्न कार्यालयमा ग्राहकहरूको कस्तो माग छ भन्ने विषय सूचना लिइरहेको र कुन–कुन स्थानमा खोल्ने भन्ने विषयमा पनि निर्णय हुन बाँकी रहेको छ । कम्पनीले यस वर्षको दशैंदेखि छठसम्मको अवधिमा २५ सय मेट्रिक टन खाद्यान्न सामग्री बिक्री गर्ने लक्ष्य लिएको छ ।

Logo