सवारी चालक अनुमति पत्र इलाम जिल्लाबाट वितरण हुने भएको छ। यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक अनुमति प्रदान गर्नको लागि अनलाइन आवेदन खुला गरेको छ।
इलामसहित पाँचथर, ताप्लेजुङ्ग र तेह्रथुमका सेवाग्राहीले इलामबाट सेवा लिन सक्ने कार्यालयका प्रमुख छवि खतिवडाले जानकारी दिए। यसअघि यस क्षेत्रका सेवाग्राहीले झापा मोरङमा रहेको कार्यालयबाट सवारी चालक अनुमति पत्र लिनुपर्ने बाध्यता थियो। ती कार्यालयहरूमा सेवाग्राहीको अत्यधिक चाप हुने भएकाले सेवा लिनको लागि लामो समय कुर्नुपर्थ्यो। इलामबाट सेवा सुरु भएपछि पूर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज हुनेछ।
कार्यालयबाट ए वर्गमा पर्ने मोटरसाइकल, स्कुटर र मोपेड, के वर्ग अन्तर्गतको स्कुटर, बि वर्ग अन्तर्गतको कार, जीप, डेलिभरी भ्यानको लागि अहिले सवारी चालक अनुमति पत्र दिइनेछ।
भौतिक पूर्वधार मन्त्रालय र विभागमा सी वर्ग अन्तर्गतको टेम्पो, अटो रिक्सा, जे१ वर्ग अन्तर्गतको एक्स्काभेटर, जे२ वर्ग अन्तर्गतको ब्याकहुक लोडर र इ वर्ग अन्तर्गतको ट्याक्टरको समेत सवारी चालक अनुमति पत्र वितरण गर्न अनुमतिको लागि समेत प्रक्रिया थालिएको छ। तर, अनुमति पाए पनि चार वर्गको सवारी चालक अनुमति पत्र वितरणको प्रक्रिया तत्काल सुरु नहुने कार्यालय प्रमुख खतिवडाले बताए।
सवारी चालक अनुमति पत्रको लागि साताको तीन दिन परीक्षा सञ्चालन हुनेछ। लिखित परीक्षा सञ्चालनको लागि कार्यालय भवनमा नै ठाउँ तयार गरिएको छ। ‘लिखित परीक्षा सञ्चालनको लागि कार्यालय भवनमा नै ठाउँ तयार गरेका छौ’, प्रमुख खतिवडाले भने,‘ट्रायल भने निजी क्षेत्रले निर्माण गरेको ट्रायल सेन्टरमा हुनेछ।’
ट्रायल परीक्षणको लागि इलामेली अटो मोवाइल्स तथा ड्राइभिङ स्कुलले दुई वटा ट्रायल सेन्टर निर्माण गरेको छ। यातायात व्यवस्था सेवा कार्यालयबाट यस अघि सवारी साधनको दर्ता, नामसारी, सवारी दर्ता प्रमाण पत्र नवीकरण रुट परमिट जारी गर्ने नवीकरण गर्ने सवारी साधनको जाँच पास गर्ने, सवारी चालक अनुमति पत्रको नवीकरण लगायतको काम हुँदै आएको थियो।





























प्रतिक्रिया