कर्णाली प्रदेशमा पहिलोपटक वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी आयोजना गरिने भएको छ। फागुन २६ र २७ गते सुर्खेतकाे वीरेन्द्रनगरमा कार्यक्रम संचालन हुन लागेको हो ।
कर्णाली प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखिएको कार्यक्रमले प्रदेशको विकास, उद्यमशीलता वित्तीय अवस्था तथा डिजिटल तथा सूचना प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको छ। विगतमा देशका विभिन्न ठाउँमा संचालन हुँदै आएको उक्त कार्यक्रमलाई विशेषगरि वित्तीय साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखिएको हाे।
मिडिया इन्टरनेशनलको आयोजनामा सम्पन्न हुने कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, बीमा समिति, युवा स्वरोजगार कोष, स्थानीय सरकार, विभिन्न बैंकवित्त, बीमा कम्पनी तथा डिजिटल प्लेटफर्म, लघुवित्त, जस्ता कम्पनीका बारे सूचनामूलक स्टलहरु प्रदर्शन हुनेछन्। ती सूचना स्टलबाट वित्तीय चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
विगत ७ वर्षदेखि देशव्यापीरुपमा संचालित ‘वित्तीय जागरण : राष्ट्रिय अभियान‘ले कर्णाली प्रदेशमा पहिलोपटक कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक माधव निर्दोषले जानकारी दिए । कर्णाली प्रदेश सरकार मुख्य साझेदारीमा रहेर संचालन हुन लागेको उक्त कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवर्द्धन गर्दै आएको छ।
मूलतः एउटै छानामुनिबाट कर्णाली प्रदेशको विकास र उद्यमशीलताका लागि कर्णाली प्रदेशका उद्यमी, व्यवसायी, स्थानीय जनप्रतिनिधिहरु, बैंकर, तथा उद्यमशीलतामा लाग्न चाहने आम व्यक्तिलाई एकै ठाउँमा सहभागी गराई दुईदिनसम्म संचालन हुनेगरि विशेष कार्यक्रम आयोजना गर्नु आवश्यक ठानी यो कार्यक्रम तर्जुमा गरिएको हो । यस कार्यक्रममार्फत वित्तीय साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखिएको छ।
बैंकिङ सूचना अभावमा बैंकिङ क्षेत्रले गर्ने कामबारे समेत कतिपय नेपालीलाई जानकारी छैन । बैंकिङ क्षेत्रबाट हुने लगानीका विधि वा बैंकिङ क्षेत्रले दिने कर्जा र ब्याजबारे समेत थाहा नहुँदा बैंकबारे नागरिक अनभिज्ञ छन्। यसर्थ, बैंकिङ सूचनाप्रवाह गर्नु तथा आमनागरिकको बैंकिङमा पहुँच बढाउनु र उनीहरूलाई बैंकबाटै कर्जा लिएर उद्यमशीलताको विकास गर्न योग्य तुल्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
बीमा क्षेत्रको विस्तार हुन नसक्दा भइपरि आउने जोखिमबाट समेत नागरिक पीडित छन् । जीवन बीमा होस् या सम्पत्तिको बीमा, बीमाको समग्र आयामबारे जनचेतना बढाउनु पर्ने टड्कारो आवश्यकता देखिएको छ । यसर्थ, बीमाको विकास, विस्तार तथा यसको आवश्यकता र महत्वबारे आमनागरिकलाई जानकारी गराउनु तथा बीमा गर्नुका बहुआयामिक फाइदा बुझाएर बीमा क्षेत्रलाई फराकिलो बनाउनु यस कार्यक्रमको अर्को लक्ष्य रहेको छ ।
आमनागरिक पुँजीबजारमा प्रवेश गर्न चाहन्छन्, त्यसबारे जान्न चाहन्छन् । यसर्थ, यस कार्यक्रमले आमनागरिकसमक्ष पुँजीबजारसम्बन्धी सूचना पुर्याई पुँजीबजार शिक्षालाई गाउँ–गाउँसम्म फैलाउने र पुँजीबजारको विस्तार गर्ने लक्ष्य लिएको छ।
हुन्डीजस्ता अनधिकृत कारोबारबाट देशलाई राजस्वमा भएको नोक्सान न्यूनीकरण गर्नु, हुन्डी सञ्चालन अवैधानिक भएकाले त्यसबाट पैसा पठाउँदाका हानी–नोक्सानीबारे चेतना अभिवृद्धि गर्नु, आधिकारिक रेमिट्यान्सबाट मात्र पैसा पठाउने बानीको विकास गराउनु यस कार्यक्रमको अर्को उद्देश्य हो ।
युवा विद्यार्थीलाई कार्यक्रममा सहभागी गराई उनीहरूलाई वित्तीयरूपमा साक्षर बनाउनु, नेपालमै उद्यमी बन्न प्रेरित गर्ने तथा बैंकिङ टेक्नोलोजीसम्बन्धी जानकारी गराउनु, उद्यमशीलताको विकासमा पुँजी परिचालनजस्ता विषयमा नागरिकलाई जागरुक बनाउनु कार्यक्रमको लक्ष्य रहेको छ। पछिल्लो समय विकास भएको फाइनान्सियल डिजिटलाइजेसनको प्रयोगात्मक अभिवृद्धि गर्न पनि आमनागरिकलाई बैंकवित्तको विद्युतीय कारोबार एवं बीमा र सेयरबजारमा भित्रिएका नयाँ टेक्नोजोलीबारे जानकारी गराउनु यस कार्यक्रमको लक्ष्य रहेको छ ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, बीमा समिति, युवा स्वरोजगार कोष, बैंकर्स संघ, लघुवित्त बैंकर्स संघ लगायतका संघसंस्थाको सहभागिता रहेको छ। दुईदिनसम्म सुर्खेतमा संचालन हुने उक्त कार्यक्रममा कर्णालीको विकास, उद्यमशीलता, बैंकिङ तथा वित्तीय लगानी, कर्णाली प्रदेशको वित्तीय पहुँच, फाइनान्सीयल डिजिटलाइजेशन, कर्णाली प्रदेशको बीमा पहुँच, स्वरोजगार र उद्यमशीलता तथा लघु उद्यमशीलता जस्ता विषयहरुमा अन्तर्क्रियात्मक कार्यक्रमहरु संचालन गरिनेछ।





























प्रतिक्रिया