नेपाल उद्योग वाणिज्य महासंघले दरवारमार्गमा आयोजना गरेको १५ औं दरवारमार्ग महोत्सव सम्पन्न भएको छ । गत शनिवार नयाँ वर्ष २०७९ को अवसरमा आयोजना गरेको उक्त महोत्सव सम्पन्न भएको हो ।
लामो समयदेखि यस्ता कार्यक्रमहरू आयोजना नभएको अवस्थामा दरवारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने सन्देश दिन सफल भएको विश्वास आयोजकले गरेका छन् ।
महोत्सवको सुरुवात नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एक विशेष कार्यक्रमका बीच औपचारिक उद्घाटन गरेका हुन् । उनले उक्त कार्यक्रममा बोल्दै भने, ‘देशका ९० प्रतिशत बढि जनसंख्याले कोभिडविरुद्धको खोप लगाईसकेको र जनजीवन सामान्य हुंँदै गएको अवस्थामा महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउन सहयोग गर्नेछ ।”
सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ मुल नाराका साथ आयोजना गरिएको यस महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्नु रहेको थियो । महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँगको विशेष सहकार्यमा यो महोत्सव आयोजना गरेको हो ।
महामारीले अर्थतन्त्रलाई शिथिल पारेको बेलामा यस सहकार्यले पर्यटन क्षेत्र, लघु उद्यमी, घरेलु, साना तथा मझौला व्यायसायीलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रोत्साहन दिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले बताए ।
महासंघका पूर्वअध्यक्ष भवानी राणाले साना ठूला सबै उद्यम व्यवसायलाई यस्ता कार्यक्रमले उर्जा प्रदान गर्ने समेत बताइन् । त्यसैगरी, रेवानका अध्यक्ष अरनिको राजभण्डारीले आन्तरिक र वाह्य पर्यटन पुनरुत्थानमा सहयोग गर्न सकियोस् भनेर महोत्सव आयोजना गरिएको बताए ।
उक्त महोत्सवमा दिपक बज्राचार्य एण्ड रिदम व्याण्ड, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य कलाकार तथा समुहहरू जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिँदै आगन्तुकहरूलाई गीतसंगितले मनोरञ्जन दिएका थिए । साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल र सुमन कोइरालाको प्रस्तुति थियो ।
त्यस्तै, महोत्सवमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, व्यापार मेला समितिका सभापति नरेन्द्र खड्का, रेवानका पदाधिकारीहरू, दरवारमार्ग विकास बोर्डका अध्यक्ष संजिव तुलाधरसहित पदाधिकारीहरू र एनसेल, रोयल स्टयाग, गोरर्खा ब्रुअरी लगायत कम्पनीका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सोही अवसरमा महोत्सवलाई सफल पार्न सहयोग गर्ने मुख्य प्रायोजक एनसेल, सहप्रायोजक गोरखा ब्रुअरी, रोयल स्ट्यागसहित अन्य सहयोगी संस्थाहरूलाई प्रशंशापत्रसमेत प्रदान गरिएको थियो ।
त्यसैगरी, महोत्सवको बैकिङ पाटर्नर एनआइसी एसिया बैंक, इन्सुरेन्स पाटर्नर नेशनललाईफ इन्सुरेन्स, विभरेज पाटर्नर डावर नेपाल, अन्य सहयोगी पाटर्नरहरू नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, मनकामना केवलकार, केएफसी, पिजा हट, फोन पे, एनडीज आइसक्रिम, नेपाल डेरीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
महोत्सवमा शारीरिकरुपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरूसमेत प्रदर्शनीमा राखिएका थिए ।
कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरूत्थान, नव उत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरुले गरेका छन् ।





























प्रतिक्रिया